
आइतवार , फाल्गुण २३, २०७७
काठमाडौं, २३ फागुन।
पुनःस्थापित प्रतिनिधि सभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराह््न ४ बजेका लागि आह्वान गरिएको हो।
लामो समयपछि संचालन हुन गैरहेको संसद् बैठककालागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ। सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद समाधान नभएको अवस्थामा संसदको बैठक कसरी अघि बढ्ने भन्ने बिषय भने अझै टुंगो लागिसकेको छैन।
सत्तारुढ दल नेकपाभित्र विवाद बढ्दै गएपछि संसदीय दलको अलग अलग बैठक बसेका छन्। नेकपा दाहाल–नेपाल समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसंदीय दलको नेतामा चयन गरेको छ भने यसअघि संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मात्र संसदीय दलको बैठकमा संसदभित्र सशक्त रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन्।
नेकपा विभाजन नभै सकेको र विवाद चर्कँदै गएको अवस्थामा वस्न लागेको संसद बैठक कसरी अघि बढ्ला भन्ने आम चासो कायमै छ। संसद बैठकमा प्रधानमन्त्री ओली बिरुद्ध अविश्वासको प्रस्ताव लैजाने एकथरिको तयारी रहेको र त्यसको काउन्टरमा अर्को पक्षले सभामुख माथि महाअभियोगको प्रस्ताव दर्ता गरेर सदन स्थगित गराउने भन्ने कुराहरु अहिले चर्चामा छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij