२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पुस्तक समीक्षा : ‘राराको डिलमा’ कपिल लामिछाने

शुक्रवार , कार्तिक २, २०८१

प्राक्कथन
नियात्रा साहित्यको एक स्वतन्त्र विधा हो । यो विधा आख्यानअन्तर्गतको कथा र गैरआख्याअन्तर्गतको निबन्ध विधाको नजिक रहेको छ । त्यसैले यसमा एकातिर यात्राका क्रममा भएका घटना, पात्र, परिवेश आदिको चित्रण गरिएको हुन्छ भने अर्काेतिर लेखकको निजात्मक दृष्टिकोण एवं विषयवस्तुप्रतिको तार्किक विश्लेषण पनि हुने गर्दछ । यात्राको विवरण मात्र नियात्रा हुन सक्दैन । जब यात्रावृत्तान्तलाई साहित्यिको रसले घोलेर पाठकको मन–मस्तिष्कमा स्थायी किसिमले प्रभाव पार्न सकिन्छ, तब मात्र असलमा त्यो नियात्रा बन्न पुग्छ । एक असल नियात्रामा सत्य–तथ्य, विषयवस्तुका अतिरिक्त नियात्राकारको संवेदनशीलता, भाव, विचार र कल्पनाशीलतासमेत अटाएको हुन्छ । लेखकसँगै पाठक पनि यात्रा गरेको अनुभूति हुनसक्यो भने मात्र नियात्रा सफल मानिन्छ । 

माथि भनिएजस्तै विशेषता भएका १९ वटा नियात्राहरूको सङ्ग्रह हो ‘राराको डिलमा’ । यसलाई प्रा.डा. कपिल लामिछानेले लेख्नु भएको हो । लघुकथा, समीक्षा, कविता, उखान, अनुसन्धान, बालसाहित्य लगायतका विविध विधामा सिद्धहस्त प्रा.डा. लामिछानेको यो पहिलो नियात्रा सङ्ग्रह हो । कास्की जिल्ला माझ्ठानमा जन्मिनुभएका प्रा.डा. लामिछानेको कर्मथलो भने भैरहवा हो । नेपाली साहित्यलाई कृतिहरूको चाङ सुम्पिएर परिमाणात्मक गुन लाउनु भएका लामिछानेका कृतिहरू गुणात्मकताका दृष्टिले पनि उत्तिकै उत्कृष्ट छन् । यस सङ्ग्रहमा नियात्राकारले नियात्राहरूमार्फत् पाठकलाई पाल्पा, स्याङ्जा, मुगु, दोलखा, सिन्धुलीगढी, रोल्पा, मुस्ताङ, पर्वत, म्याग्दी, कास्की र गुल्मीको प्राकृतिक दृश्यका साथै त्यहाँको जनजीवन, इतिहाँस, कला–संस्कृति तथा साहित्यिक परिवेषसँग परिचित गराउनु भएको छ । पाठकहरूलाई पहाडी जिल्लाको चिसोमात्र होइन कपिलवस्तु र चितवनको गर्मी र साहित्यिक सरगर्मीमासमेत सामेल गराउनु भएको छ । त्यतिमात्र होइन, लामिछानेले पाठकलाई दक्षिण भारत र चीनसम्म पु¥याउँदा पनि नेपाली माटो र नेपाली बाटोलाई स्मरण गराउन सफल हुनु भएको छ । यात्रामा पाठकलाई पनि सँगै घुमाउनसक्नु उहाँको नियात्रा लेखनको विशेषता हो । 

कृतिको परिचय

‘राराको डिलमा’ उनिएका धेरैजसो नियात्राहरू साहित्यिक गोष्ठी एवम् विविध साहित्यक कार्यक्रमसँग सम्बन्धित छन् । त्यसैले नियात्राकारले साहित्यकारहरूको परिचय, उनीहका कृति र साहित्यिक संघसंस्थाहरूको योगदानबारे पनि छरपष्ट पार्नु भएको छ । नियात्रामर्फत् लेखकले पाठकलाई पढ्न सुरु गरेपछि नियात्रामै तानिरहनसक्ने खुबी देखाउन सक्नुभएको छ । यो नियात्रा नेपाली साहित्य, भूगोल, संस्कृतिका साथै प्राकृतिक सुन्दरता चिह्याउने आँखी झ्याल बनेको छ । साथै विदेशी व्यवस्थापन र कृतिहरूबाट उत्प्रेरित भई नेपाली माटोलाई पनि सिर्जनाले सिँगार्न सक्ने हो भने पर्यटनमार्फत् मानिसको जीवन उकास्न सकिने दृष्टिकोण पनि उल्लेख गरिएको छ । 

नियात्राहरूको सारसंक्षेप

सङ्ग्रहको पहिलो नियात्रा हो, फापरथुमको आनन्द । स्याङ्जा जिल्लाको फापरथुम भन्ने ठाउँमा आयोजित दुई दिने साहित्य महोत्सवमा भैरहवादेखि तानसेनहुँदै गरिएको यात्रावर्णन यसमा छ । कुनै बेला खोरिया फाँडेर डाँडाको थुम्कोमा फापर खेती गर्ने भएकाले त्यस ठाउँलाई फापरथुम भनिएको तथ्य प्रस्तुत गर्दै फापर फलेको देख्न नपाउँदा नियात्राकार दुःखी हुनुहुन्छ । नियात्रामा सातौँकोटको ऐतिहाँसिकता पनि उल्लेख गरिएको छ । साथै साहित्यपोष्ट जस्ता अनलाईन मिडियाहरूले साहित्यको श्रीवृद्धिमा योगदान गरेको चर्चा पनि उल्लेख गरिएको छ । 

सङ्ग्रहको दोस्रो नियात्रा हो, ‘राराको डिलमा’ । यसै नामबाट पुस्तकको न्वारन गरिएको हो । यसमा लेखकले राराको बारेमा धेरै नै सुनेको र पढेको भए पनि प्रत्यक्ष अवलोकन गर्न नपाएकोमा निकै उत्सुक भएको र यही कारणले यात्रा गरेका कुरा उल्लेख गर्नु भएको छ । नियात्रा पढ्दै गर्दा लेखक राराको डिलमा उभिदनु भएकोमात्र होइन रारामा चुर्लुम्म डुबोको प्रतीत हुन्छ । तालैतालको जिल्लामा जन्मिएको भए पनि लामिछानेलाई समुद्र सतहदेखि २९७२ मिटर उचाइमा अवस्थित कञ्चन पानीको सफा रारातालको सौन्दर्यले लठ्ठ पारेको छ । लेखकले राराकै किनारमा ‘अणिमा’ नामको लघुकथासङ्ग्रह लोकार्पण गर्नु भएको छ । स्थानीयबाट न्यानो आतित्थ्यता पाएर आलादित हुनुभएको छ ।

‘दोलखा दैडाहा’ शीर्षकको नियात्रामा दु्रत मार्गलाई क्रस गर्ने क्रममा द्रुर्त मार्गको निर्माणको सुस्त गति देखेर चिन्तित हुनु भएका लामिछाने सुनकोशी र तामाकोशी आपसमा अँगालो मारेको देखेर दङ्ग पर्नु भएको छ । साथीहरूसँगको यात्रामा हुने गीत, गजल, मुक्तक र अन्ताक्षरीले यात्रालाई थप सहज र आनन्दमय बनाएको देखिन्छ  । गाडी उकालो लाग्दै गर्दा चरीकोटबाट अग्ला देखिएका दृश्य, पहाड, एवम् चुचुराहरू होचिँदै निकै साना देखेपछि लेखकले नेताहरूप्रति व्यङ्ग्य गर्दै माथि पुगेका नेताहरूले जनतालाई सानो देख्नु अन्यथा नभएको बताउनुहुन्छ । अझै थप्दै क्षणमा बादल, क्षणमा थोपाथोपी, क्षणमा घाम देखेर प्रकृतिले छिनछिनमा रुप फेर्दो रहेछ भन्दै नेताले बोली र दल बदलेको प्रसङ्गलाई पनि व्यङ्ग्य गर्न भ्याउनु भएको छ । नेपालको स्विजरल्याण्ड जिरी घुमेर त्यहाँको सौन्दर्य र स्नेह बोकेर फर्किनु भएको छ लेखक । 

‘सिन्धुली घुमेर हेर्दा’ शीर्षकको नियात्रा सङ्ग्रहको चौथो नियात्रा हो । यसमा नेपालको ऐतिहाँसिक महत्व राख्ने सिन्धुलीगढीमा रहेको नेपाल–अङ्ग्रेज युद्धको सिङ्गो दस्तावेज प्रस्तुत गरिएको छ । लेखकले सो दस्तावेजको साहसिक पाटोलाई पनि औल्याउन छुटाउनु भएको छैन । नियात्रामा दरबार, युद्ध सङ्ग्रहालय र गढीको विषयमा मिहिन ढङ्गले वर्णन गरिएको छ। 

‘पाल्पाली तरङ्ग’ नियात्रामा प्रश्रित प्रतिष्ठान नेपाल र तरङ्ग साहित्यिक सङ्गमको सङ्युक्त ओजनामा साहित्यिक सद्भाव यात्रामा निस्कनु भएको छ लेखक लामिछाने । उहाँसँगै भैरहवा, काठमाडौ, चितवन र पाल्पाका साहित्यकारहरूको जमघटसहितको औपचारिक साहित्यिक कार्यक्रमबारे नियात्रामा उल्लेख गरिएको छ । साहित्यका दृष्टिले धनी पाल्पा कृषिकर्मका दृष्टिले पनि समृद्ध भएको कुरा उल्लेख गरिएको छ । नियात्रामा तिनाउ नदीको सिर्जनशील प्रभाव, सेन वंश परम्पराको वीरगाथा, रणउजेश्वरी मन्दिरको ऐतिहाँसिकता र मण्डव्य ऋषिको इतिहाँस आदिबारे पनि संस्मरण गरिएको छ । 

सङ्ग्रहको छैठौँ नियात्रा हो, ‘रुन्टीगढीमा रमाउँदै’ । रुन्टीगढी रोल्पा जिल्लामा पर्दछ । घर्तीगाउँमा अयोजित सांस्कृतिक कार्यत्रमपश्चात् रुन्टीगढीमा आयोजित लोकसाहित्य राष्ट्रिय सङ्गोष्ठीमा साहित्यकारहरूको टोलीका साथ लेखक पनि पुग्नु भएको छ । यात्रीहरूको लोकगीतले गाडीको यात्रा रमाइलो बनाएको हुन्छ । रोल्पाको होलेरी बजार पुग्दा त्यस स्थानलाई लेखकले माओवादी जनयुद्ध घोषण भएको स्थान भनी सम्झनु भएको छ । यस युद्धले धेरैलाई पीडा दिए पनि परिवर्तनका निम्ति योगदान गरेको कुरामा लेखकले सहमति जनाउनु भएको देखिन्छ । प्रकृतिक र ऐतिहाँसिक स्थलमा  निर्मित  भ्यूटावरबाटमाछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णलगायतका सुन्दर हिमश्रृङ्खलाहरू देखेर मोहित हुनु भएको छ, लेखक । अनेक गुफाहरू रहेको कास्की जिल्लामा जन्मिनुभएका लामिछानेले पार्वती गुफाको पनि भ्रमण गर्न भ्याउनु भएको छ । खासगरी गुफा वरिपरिको भौतिक पूर्वाधार र विकासले लेखकलाई तानेको देखिन्छ । 

मुक्तिनाथसम्मको यात्राको उद्देश्य बोकेर निस्कनु भएका लेखक लामिछाने भैरहवाको गर्मी छल्दै धौलागिरीलाई बायाँ र नीलगिरीलाई दायाँ पारेर उकालो लागिरहँदा चिसो मौसममा रमाउनु भएको छ । बाटो अफ्ठ्यारो भए पनि सुन्दर दृश्यहरूले लेखकको मन भावविहोर भएको छ । त्यसैले प्रकृतिले स्वागत गरेझँै लाग्छ लेखकलाई । कलिगण्डकीको सुसेलीमा रमाउँदै यात्रा अगाडि बढ्छ । लामिछानेले नियात्रामा भुगोल र प्रकृतिमात्र होइन संस्कृति र संस्कारका कुराहरू पनि उल्लेख गर्नु भएको छ । जोमसोमको तेज हावा, मुक्तिनाथधाराको चिसो पानी, मन्दिर आदिको अनुभुति गर्दै फर्किने बेला भूपि स्मृति थाक पुस्तकालयसम्म पुगेका कुराहरू उल्लेख गरिएको छ ‘मुस्ताङ यात्रा’मा । 

‘भिक्षुका पाइला पछ्याउँदै’ शीर्षको नियात्रा भैरहवादेखि तौलिहवास्थित भवानी भिक्षुको घरसम्मको यात्रा हो । स्नाताकोत्तर तहमा नेपाली वषय पढ्ने आफ्ना विद्यार्थीसहित केही साहित्यकारहरूलाई लिएर लेखक भवानी भिक्षुको थलो तौलिहवाको यात्रामा निस्कनु हुन्छ । नजिकको तीर्थ हेला भनेजस्तै भैरहवाबाट तौलिहवा नजिकै भए पनि भिक्षुलाई बुझ्ने र उहाँबारे अध्ययन अनुसन्धान गर्न प्रत्यक्षरुपमा उहाँकै क्षेत्रमा हामी पुगेका छैनौ । यही विडम्बनालाई चिर्दै विद्यार्थीलाई प्रत्यक्ष अनुसन्धानमा आकर्षित गर्न यो यात्रा गरिएको देखिन्छ । 

भैरहवादेखि आबु रोडसम्म’ को नियात्रामा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय रहेको दक्षिणी भारतको यात्राबारे उल्लेख गरिएको छ । उक्त विश्वविद्यालयको विशाल भावनहरू, सभाहल, प्रशिक्षण केन्द्र, पुस्तकालय, सारोवर, प्रवचनस्थल आदिको विशालताको वर्णन यसमा गरिएको छ । साथै उक्त विश्वविद्यालयको उत्कृष्ठ व्यवस्थापनको प्रशंसा पनि गरिएको छ । साथै आध्यात्म र विज्ञान प्रविधिको सुन्दर संयोजनको खुलेर तारिफ गरिएको छ । ‘माउन्ट आबु र अक्षरको आनन्द’ पनि उस्तै प्रकृतिको  नियात्रा हो । यसमा राजस्थानमा रहेको ब्रम्हकुमारीको मुख्यालय भ्रमणका सन्दर्भहरू छन् ।

साहित्यकारको टोलीसँगै भैरहवा हुँदै पर्वत र म्याग्दीको साहित्यिक निम्तो मान्न पुग्नु भएका लामिछानेले ‘पर्वत र म्याग्दीको एक फन्को’ शीर्षकको नियात्रामा भैरहवा, पाल्पा, पोखरा, बागलुङ हुँदै पर्वत र म्याग्दीसम्मको भुगोल, मौसम र दृश्यलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नु भएको छ । पाठकलाई पर्वत र म्याग्दीको साहित्यिक एवम् सांस्कृतिक परिवेशमा भिजाउन सक्ने क्षमता उहाँका नियात्राले प्रदर्शन गरेको छ । 

‘छानामाथि रेल’मा लेखकले तिब्बत–बेइजिङ रेल यत्राबारे रोचक ढङ्गले प्रस्तुत गर्नु भएको छ । छानामाथि घिरम्ला भनेजस्तै उच्च स्थानमा रेल गुड्दा लेखकलाई छानामाथि रेल घुमेजस्तो लागेको छ । तिब्बत चीन घुम्दासमेत लेखकको मनले नेपाललाई सम्झेको छ । मनले बुद्ध र भृकुटीले तिब्बत चीनसँग गाँसेको साइनो पनि सम्झेको छ । छिमेकी मुलुकले रेलयातायातमा प्रगति गरिरहँदा आफ्नो देशको यातायातको दूरावस्था देखेका लेखकको मन अमिलो भएको छ । राष्ट्रिय स्वार्थमा एकता र सहमति जुट्न नसकेकोमा समृद्धिबाट चुकेको मन्थन पनि मनमनै गर्न भ्याउनु भएको छ, लेखकले । त्यसै गरी ‘चीन यात्रामा देवकोटाको सम्झना’मा मुनामदनको सन्दर्भलाई सुन्दर ढङ्गले उठान गरिएको छ । ‘यार्चाः भिल्लको देशमा मणि’मा नेपालको हिमाली क्षेत्रमा यार्चा गुम्बा पाइने भए पनि त्यसको मूल्य र महत्व बुझ्न नसक्दा देशले त्यसको उपयोगिता लिन नसकेकोमा दुःख व्यक्त गरिएको छ ।

‘ग्रेटवालमा उभिएर’ शीर्षकको नियात्रामा लेखकले संसारको आश्चर्य ग्रेटवालमा पुगेर चन्द्र सूर्य अङ्कित झण्डा भएको झोला बोकेर सगरमाथाको प्रतीक ढाकाटोपी लगाएर, आफूले लेखेको पुस्तकसँगै फोटो खिचाउनु हुन्छ । त्यहाँ पुग्दा ग्रेटवाल निर्माणमा खटिएका श्रमिकहरूको रगतपसिना सम्झनुले लेखकले आम श्रमिकको मन छाम्न खोजेको प्रतित हुन्छ । 
बाल साहित्य समाजको बिसौँ सम्मेलनका निम्ति घान्द्रुक पुग्नु भएका नियात्राकार लामिछाने तनहुँको दुलेगौँडामा आयोजित शुक्ला साहित्य संगमको आयोजनामा शुक्ला प्रवाह र विशेषङ्क कार्यक्रममा पनि सहभागी हुनु भएको छ । नियात्रामा बालसाहित्य समाजले पहिलोपल्ट घोषणपत्र तयार पारी सम्मेलनबाट पारित गर्नुलाई सम्मेलनको मुख्य उपलब्धी मानिएको छ । प्रकृतिको काखमा अवस्थित घान्द्रुकमा हिमालका सुन्दर दृश्यहरू छरपष्ट देखिन्छन् । पर्यटकलाई सजिलै लोभ्याउनसक्ने ल्याकत राख्ने घान्द्रुकको रमणीय वातावरणको मुक्तकण्ठले प्रशंसा गरिएको छ, ‘घान्द्रुकको घाम’मा । 

अन्य नियात्राहरूभन्दा पृथक नियात्रा हो ‘जुहीको जात्रा’, जसमा लेखकको व्यङ्ग्यकारितासमेत देख्न पाइन्छ । त्यसैगरी एकाविहानै भैरहवाको चर्को गर्मी छल्दै गुल्मीको रेसुङ्गा पुगेर त्यहाँको पौराणिकता, धार्मिक क्षेत्रसहित प्रकृतिको सुन्दर ढङ्गले चर्चा गरिएको नियात्रा ‘रेसुङ्गा त रेसुङ्गा पो रै’छ’ एक उत्कृष्ट नियात्रा हो ।  

चितवनको जङ्गल लजमा आयोजित बालसाहित्य गाष्ठीमा बुँद रानासँगै बाइकमा हिडेका लेखक खोलाबाटै बाइक कुदाउनुपर्दा बाइक विग्रेर दुःख पाउनु भएको छ । यस कुरालाई निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ ‘जंगलभित्र बालसाहित्यको चिन्तन’ नियात्रामा । यात्रामा दुःख पाए पनि त्यसले सिकाएको पाठ र स्मृतिमा रहेको मीठो सम्झनाले साहित्यमा समेत उर्जा भरेको लेखकको तर्क छ । त्यसैले उहाँ भन्नुहुन्छ ‘साहित्यले यात्रा गाराउँछ, यात्राले साहित्य जन्माउँछ’ । 

पुस्तकमा प्रयोग भएको भाषाशैली र प्रस्तुति

जीवनको नौ वर्षे उमेरमै पोखराबाट असम पुग्नुभएका लेखक लामिछानेले साहित्यका धेरै विधामा कलम चलाएपछि मात्र नियात्रा लेख्न थाल्नु भएको हो । उहाँको अनुभव, शिल्प र लेखनउर्जाले नियात्रालाई उत्कृष्ठ बनाएको छ । लेखकको शब्दमा ‘यात्रा मान्छेको प्रकृति हो र प्रवृत्ति पनि’ । हुन पनि हो मानिस तरलझैँ बगिरहन्छ । एकै ठाउँमा बसिरहँदैन । हाम्रा पूर्खाहरू कहाँका थिए, हामी कहाँ छौँ । अहिलेको पुस्ता रोजगारी र अध्ययनका नाममा कहाँ–कहाँ पुगिरहेका छन् । नयाँ ठाउँको अनुभव लिनु, सिक्नु र आफैलाई परिष्कृत बनाउँदै जानु मानिसको प्रवृत्ति हो ।  

पुस्तकमा प्रयोग गरिएको भाषा–शैली सरल भैकन पनि सरस छ । यात्रावृत्तान्त र भौगोलिक अवस्थाको जानकारी मात्र छैन पुस्तकमा । कतै देशप्रेम झल्किएको छ त कतै देश बन्न नसकेकोमा चिन्ता पनि व्यक्त भएको छ । बेलाबेला जीवन दर्शनसमेत प्रसतुत भएका छन् नियात्राहरूमा । राजनैतिक व्यङ्ग्यलाई समेत छुनसक्नु लेखकको खुबी हो । यति हुँदाहुँदै पनि मुद्राराक्षसबाट दोषमुक्त भने देखिँदैन तर, ती दोशहरू नगन्य छन् । पुस्तकको सूचीमा ‘फापरथुम आनन्द’ उल्लेख गरिएकोमा भित्र शीर्षकमा ‘फापरथुमको आनन्द’ भएको छ । ‘रुन्टीगढीमा रमाउँदै’ शीर्षकको निवन्धमा भ्यूटावरको उचाई एक ठाउँमा ५३ फिट र अर्काे ठाउँमा ५३ मिटर भएकाले तथ्यको जानकारी नभएका पाठकलाई यसले अलमल गराउँछ । पृष्ठ ८४ मा ‘बैषाख पूर्णिमाको दिन सिद्धार्थ गौतमले दरबार छोडेको’ कुरा उल्लेख गरिएको छ । वास्तवमा राजकुमार सिद्धार्थले दरबार छोडेको दिन बैषाख पूर्णिमा नभई आषाढ पूर्णिमा हो । यस विषयमा लेखक झुक्किनु भएको देखिन्छ । 

निश्कर्ष

प्रा.डा. कपिल लामिछानेको ‘राराको डिलमा’ नियात्रासङ्ग्रह उहाँको पहिलो नियात्रा कृति हो । कूल १६६ पृष्ठ रहेको प्रस्तुत पुस्तकलाई भूँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । नियात्रामा प्रस्तुत भाषा शैली रोचक छ । यात्रामा देखिने र भेटिने विषयवस्तुहरूलाई विम्बात्मक तरिकाले प्रस्तुत गरिएको हुँदा नियात्रा रुचिपूर्ण लाग्दछ । धेरैजस्तो नियात्रामा यात्राको उद्देश्य साहित्यिक कार्यक्रमहरूमा सहभागी हुनु रहे पनि स्थान विशेषको चर्चा र लेखकको आफ्नो दृष्टिकोणका साथै अन्य विषयसँग तुलनात्मक विश्लेषणसमेत गरिएको हुँदा पढ्दैजाँदा पाठकले यस्ता विविध आयाममा घुल्ने मौका प्राप्त गर्दछन् । उचाइमा रहेको राराजस्तै नियात्राले उचाइ पाउनेछ र राराको सुन्दरताजस्तै नियात्राको सुन्दरताको स्वाद पाठकले लिनसक्नुहुनेछ भन्ने कुरामा कुनै द्विविधा देखिँदैन । संक्षेपमा मूल्य रु. ३५० रहेको प्रस्तुत पुस्तक पढिसेकपछि पाठकलाई पक्कै पैसावसुल भएको अनुभूति हुनेछ ।

[email protected]