२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘नयाँ सालिकको जन्म’ लघुकथा सङ्ग्रहको अन्तरवस्तु

बिहिवार , कार्तिक ८, २०८१

– सुरज ‘दीपशिखा’

विषय प्रवेश
लघुकथा साहित्यको आख्यानभित्रको कान्छो विधा हो । कथाभन्दा सानो हुने र छोटो बसाइमै पढेर सकिने मार्मिक प्रकृतिको हुन्छ लघुकथा । सटिक कथानक र प्रहारात्मक व्यङ्ग्य वा सन्देशमूलक प्रस्तुतिसहित आकर्षक र कौतुहलतापूर्ण हुनु लघुकथाको विशेषता हो । आकारमा लघुतामात्र भएर लघुकथा बन्न सक्दैन । यसका लागि बहावमा तीव्रता, समापनमा चातुर्यता, कुतूहलता, व्यङ्ग्यात्मकता, र सुरुकथानकभावभन्दा विपरीत समापन भाव हुनु जरुरी हुन्छ । सामान्यतया एउटा बिजवाक्य वा विषयको वरिपरि लघुकथाको कथानक घुमेको हुन्छ । लघुकथाले दिने सन्देश र व्यङ्ग्योक्तिले गर्दा पनि पछिल्ला दिनहरूमा यसले लोकप्रियता पाएको छ । यही कारणले नेपाली साहित्यमा लघुकथाका कथाकार, समालोचक र पाठकहरूको सङ्ख्या पनि दिनहुँ बढ्दै गरेको हो । यसै मेलोमा कथाकार बनमाली निराकारको लघुकथाहरूको सङ्ग्रह ‘नयाँ सालिकको जन्म’ प्रकाशनमा आएको छ ।  

वि.स. २००६ सालमा पाल्पा, तानसेनको चिसो ठाउँमा जन्मेर भैरहवाजस्तो गर्मी ठाउँमा पनि सक्रियताका साथ साधनारत कथाकार वनमाली निराकार आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा चिनिनुहुन्छ । हालसम्म उहाँका ‘समयको पर्खाल’ कथा सङ्ग्रह (२०४६), ‘लोकतन्त्रको शङ्खनाद’ कविता सङ्ग्रह (२०६२), ‘पत्र संचयन’ (२०६३), ‘विवरूका कथाहरू’ संयुक्त कथा सङ्ग्रह (२०६५), ‘एउटा बस्तीको कथा’ कथा सङ्ग्रह – (२०७१) र ‘मान्छेका रङ्गहरू’ कविता सङ्ग्रह (२०८०) लगायतका अनेक फुटकर कथा, कविता, मुक्तक आदि प्रकाशित छन् । ‘नयाँ सालिकको जन्म’ लघुकथा सङ्ग्रह (२०८०) उहाँको पछिल्लो कृति हो ।   

कृति परिचय

कृतिकारकी छोरी आराधाना शर्मा ज्ञवालीको प्रकाशन रहेको नयाँ ‘सालिकको जन्म’ शीर्षकको लघुकथासङ्ग्रहमा जम्माजम्मी ३२ वटा लघुकथाहरू छन् । बिम्बात्मक रुपमा कृतिको आवरण रमेश श्रेष्ठले तयार पार्नु भएको छ । कलेबरको पश्च पृष्ठमा प्रा.डा. कपिल लामिछाने र साहित्यकार रूद्र ज्ञवालीका कृतिबारेको टिप्पणी समावेश गरिएको छ । कसैको भूमिका नराखिएको यस कृतिमा कथाकारले आफ्नो ‘आत्म कथ्य’ समावेश गर्नु भएको छ ।

पहिलो कथा ‘नयाँ सालिकको जन्म र अन्तिम कथा मन्त्री भएपछि’ दुवै कथाहरूले राजनीतिक विकृतिलाई दर्शाएका छन् । यस कृतिका विषयवस्तुहरू परिवार, समाज, राजनीति र देशसँग केन्द्रित छन् । समाज र राजनीतिमा विद्धमान विकृति र विसङ्गतिहरू चिर्न सफल कृतिका अधिकांश कथाहरूले खासगरी राजनैतिक वेथितिप्रति प्रहार गरेको पाइन्छ । 

कृतिभित्रका कथाहरूको सारसंक्षेप

सङ्ग्रहको पहिलो कथा हो ‘नयाँ सालिकको जन्म’ । यही कथालाई केन्द्रमा राखेर कथासङ्ग्रहको नामाङ्करण पनि गरिएको छ । निरंकुशताको प्रतीक रहेको सालिक फोड्ने काममा भीडको अगुवाइ गरेको युवकमा सालिक तोडिएर टुक्राटुक्रा भइसकेपछि पुनः सालिकको छवि वा निरंकुशताको प्रतिरुप छायाँ देखा पर्दछ । देशमा व्यवस्था परिवर्तनका नाममा पूराना सालिकहरू तोडिए पनि नयाँ सालिकहरू बन्न छोडेका छैनन् । जनताको अवस्था उस्तै छ । यस्तै सन्देश कथाले बोकेको छ । कथा निकै मार्मिक छ । ‘बेमौसमी फल’ ले शिक्षामा रहेको बेथितिलाई देखाउन खोजेको छ भने ‘फोन वार्ता’ कथाले प्रधानमन्त्रीलाई फोनसम्पर्क गर्दा सम्पर्क हुन नसकेको प्रसङ्गलाई व्यङ्ग्यात्मक पाराले ‘हर्के’ नामक पात्रद्वारा प्रस्तुत गरिएको छ । सङ्ग्रहमा रहेको ‘हेप्पी फादर्स डे कथाले समाजलाई देखाउन सामाजिक सञ्जालमा ‘हेप्पी फादर्स डे’ भनी पोष्ट गरे पनि वर्तमान युवा पुस्ताले बाआमालाई उनीहरूकै सम्पत्ति बेचेर उनीहरूलाई नै वृद्धाश्रम छोड्ने गरेको चरित्रलाई उदाङ्गो गरेको छ । 

‘जीवन पग्लदै छ’ कथाले बारबार लोकसेवा तयारी गर्दा पनि फेल हुँदाको पीडामा पौडिएको युवाको कथा प्रस्तुत गरेको छ भने घरको मूली ‘बा’ले सबैको बारेमा सोच्ने तर उनका बारेमा सोचिदिने कोही नभएको जिम्मेवार ‘बा’हरूको कथालाई ‘विचारा बा’ कथाले देखाउन खोजेको छ । ‘बुधिरामले हेलिकप्टर हेरिरह्यो’ शीर्षकको कथा निकै बेजोड कथा हो । यस कथाले प्राकृतिक विपत्तिको समयमा पनि सरकारले जनताको ज्यान जोगाउन कुनै प्रयास नगरेको बरु हेलिकप्टरमा आई पीडित क्षेत्रको अवलोकन मात्र गरेको प्रसङ्गलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । त्यसैगरी ‘जिन्दावाद/मूर्दावाद’ ले गाउँबाट सहर छिरेको बेरोजगार युवक कसरी आन्दोलनमा सहभागी हुँदोरै’छ भन्ने बेलीविस्तार प्रस्तुत गरेको छ । 

कथाकार निराकारले चुनाव एक प्रजातान्त्रिक अभ्यास भए समयअन्तरालसँगै चुनावमा पैसा बाँड्नेकोहरूको बोलबाला हुँदै गएको तथ्यलाई ‘दृश्यान्तर’ कथामा प्रस्तुत गर्नु भएको छ । कथा अन्य कथाहरूभन्दा पृथक छ । यसमा नाटकीय शैलीको प्रयोग गरिएको छ । ‘आरामै छ ?’ शीर्षकको कथामा मानिसहरू आपसमा भेट्दा ‘आरामै छ ?’ भनी प्रश्न गर्ने गरेको तर, आफ्ना दुःखपीडाको बेलिविस्तार गर्नुभन्दा ‘आरामै छ’ भनी जवाफ दिनु उचित रहेको तर्क प्रस्तुत गरिएको छ । कथाको नायक पात्रका धेरै पीडा छन् । घरको जिम्मेवारी पूरा गर्दागर्दा मानसिक एवम् शारीरिक रुपमा अस्वस्थ रहे पनि नायकले जवाफमा ‘आरामै छ’ भनी प्रतिउत्तर दिएको छ । यसैलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ कथामा । 

‘अल्छीका कुरा’ कथाले परिश्रम गर्ननपर्ने अवस्था नै अल्छीका लागि आनन्दको विषय भएको कुरालाई प्रस्तुत गरिएको छ । ‘अन्तर’ कथाले युरोप अमेरिका जाने सम्पन्न परिवार र आर्थिक अवस्था सुधार्नका निम्ति खाडी मुलुक जाने विपन्न परिवारबीचको अन्तर प्रस्तुत गरेको छ । त्यसैगरी ‘अपराध’ कथाले मुलुकमा गणतन्त्र आइसक्दा पनि पूर्णरुपमा वाक स्वतन्त्रता आइनसकेको कुरालाई उजागर गरेको छ । ‘बाकस’ कथामा विप्रेषणले निम्त्याएको सामाजिक विखण्डन प्रस्तुत गरिएको छ भने ‘देश कहाँ जाला’ कवितामा देशमा बढ्दो लथालिङ्ग र अस्थिरताले देशकै अस्तित्व सङ्कटमा पर्ने चिन्ता व्यक्त गरिएको छ । 

गरिबी र अभावमा रुमल्लिएको श्रमिकको सपनालाई आन्दोलन र परिवर्तनले सपार्न नसकेको बरु महङ्गीको पीडा थोपरेको थयार्थ पस्किएको कथा हो ‘फगत एक्लो जनता’ । त्यसैगरी ‘गोली’ कथाले देशमा गृहयुद्ध चलिरहँदा स्वास्थ्य उपचार गर्न गाउँबाट सदरमुकाम आएका जेठा बुढालाई डाक्टरले खाना खाएपछि दुई गोली खानु भनी औषधि दिएकोमा उनले औषधि गोलीलाई पनि बन्दुकको गोली सम्झन्छन् । कथामा युद्धले मानिसको मन मस्तिष्कमा पारेको गहिरो प्रभावलाई देखाउन खोजेको छ । अर्काेतिर मान्छेको प्रवृत्तिलाई कडा प्रहार गरेको कथा हो ‘जङ्गलैतिरै’ । यसमा कथाकारले ब्वाँसो, छेपारो, गिद्ध र कुकुर पात्रहरूबाट मान्छेका कर्तुतहरूको निन्दा गर्नु भएको छ । त्यसैगरी बुढ्यौली लागेको कुरा आफूलाई भन्दा अरुलाई बढी थाहा हुने कुरा ‘हैसियत’ कथाले बताएको छ । 

होटलमा काम गर्ने एक युवयकले नेतासँग विदेश पठाइदिनु प¥यो भन्दा जवाफमा नेताले ‘३०/४० लाख बन्दोबस्त गर्दैगर्नू मन्त्री बनेपछि पठाइदिन्छु’ भनेबाट नेतृत्व वर्ग नै मानव तस्करमा सङ्लग्न रहेको कुराको उद्घाटन गरेको छ ‘महान वाणि’ कथाले । ‘मित्रता’ कथा कोरोनाको महामारीसँग सम्बन्धित कथा हो । कोरोनाबाट बच्न सचेत भई बस्नुपर्नेमा लखरलखर यताउता डुल्नेप्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । ‘मुआवजा’ कथा पनि वैदेशिक रोजगारीसँगै सम्बन्धित छ । दुःखसुख सँगै बाँच्नु नै पारिवारिक आनन्द हो । तर, धन कमाउने र भौतिक सुखयापन गर्ने रहरमा आफ्ना पतिलाई जर्बजस्ति वैदेशिक रोजगारीमा पठाउँछिन्, मनमाया । दुर्घटनामा पतिको देहावसान भएपछि विमाबापत् प्राप्त चेकरकम हातमा परेपछि बल्ल मनमायाको चेत खुलेको छ । उनलाई पैसाभन्दा आफ्नै पतिको बढी माया लागेर आउँछ अहिले । तर, अब पति फर्केर आउने अवस्था रहँदैन । उनलाई बढो पश्चाताप हुन्छ । 

‘नाकाबन्दी’ कथाले देश नाकाबन्दीमा हुँदा पेट्रोलको लाइनमा बसेको हरिलालको अगाडि ग्लेन लिएर एउटा मान्छे अङ्गिकृत नागरिकता देखाउँदै लाइन मिचेर अगाडि आइपुग्छ । उसैको स्वर ठूलो हुन्छ । सबै जिल्ल पर्दछन् । कथाले देशमा अङ्गीकृत नागरिकता लिनेहरूकै दबदबा रहेको कुरा उजागर गरेको छ । यसैगरी ‘नारी दिवस’ कथाले नारी दिवस केवल दिवसकै रुपमा रहेको र अझै पनि समाजमा पुरुषकै दबदबा रहेको तर, नारी भने घरधन्दामै सीमित हुनु परेको यथार्थ उजागर गरेको छ । ‘प्रकृया’ कथाले मानिस आफू राम्रो हुन अरुलाई नराम्रो बनाउने ध्याउन्नमा रहेको कुरा प्रष्ट पारेको छ भने ‘प्रमुख अतिथि’ कथाले कार्यक्रमहरू आयोजना गर्दा नेपाली समय भन्दै ढिलो गर्ने परम्पराप्रति व्यङ्ग्य गरेको छ ।

‘पुस्तान्तर’ प्रविधिले परिवारलाई टाढा बनाएको र मानिस एकअर्काका पीरमर्का बुझ्नेभन्दा पनि मोबाइलमै व्यस्त रहन मन पराउन थालेको वर्तमान मानवीय प्रवृत्तिलाई देखाइएको छ । सरकारको रवैयाप्रति व्यङ्ग्य गरिएको कथा हो ‘सरकार’ । त्यसैगरी ‘सहिद कथाले पछिल्ला दिनहरूमा जस्तोसुकै कारणले मृत्यु भए पनि सहिद घोषणा गर्ने परम्पराप्रति असहमति जनाएको छ । अर्काे कथा हो ‘उपहार’ । यसले विदेश पलायन हुने क्रम बढ्दै गर्दा बाबुआमाले सन्तानबाट टाढिनुपरेको यथार्थ प्रस्तुत गरेको छ भने ‘झगडा र धाराको सुस्केरा’ कथाले आपसी मतभेद हुँदै झगडा बढ्दै गएमा त्यसले झगड गर्ने दुबै पक्षलाई हानी गर्दछ र समय वितेपछि फेरि फर्केर आउँदैन भन्ने सन्देश दिएको छ । 

‘मन्त्री भएपछि’ सङ्ग्रहको अन्तिम लघुकथा हो । यसमा जनताको सेवा गर्नेछु भन्दै चुनाव लडेको र जितेपछि चुनावक्षेत्र नफर्कने नेताहरूप्रति कटाक्ष प्रस्तुत गरिएको छ । मन्त्री भएपछि गाउँ र साथीभाइलाई गरेको बाचा विर्सिएको पात्रद्वारा नेपाली राजनीतिको यथार्थलाई दरो व्यङ्ग्य गरिएको छ । कथाकारले “मन्त्री भएपछि पहिले नगरिएका थुप्रै कामहरू गर्नुपर्छ” भन्दै वर्तमान राजनीतिक संस्कारप्रति कडा प्रहार गर्नु भएको छ । 

सङ्ग्रहमा प्रयोग भएको भाषाशैली र प्रस्तुति

कथासङ्ग्रहमा सरल भाषशैलीको प्रयोग गरिएको छ । कथानक पनि सरल नै छन् । तर, कतिपय कथानकमा गहिरिएर सोच्नुपर्ने बनाउनु भएको छ कथाकारले । यो उहाँको लेखकीय विशेषता हो । यही नै सफलता पनि हो । थोरैमा धेरै भन्न सक्नु र कथा पूर्णरुपमा पढिसकेपछि पाठकको मन मस्तिष्क हल्लाउन सक्नु राम्रा लघुकथाको विशेषता हो । कथाकारले ‘आत्म कथ्य’ मा भन्नु भएको छ, “लघुकथा घनघोर अध्यारोमा बिजुली चम्केजस्तो हुनु पर्दछ । गड्याङगुडुङ आवाज, मडारिएका काला बादल, अध्यारो वातावरणमा झिलिक्क बिजुली चम्कँदा चारैतिर अन्तरकुन्तर झलमलल्ल हुने उज्यालो र त्यो उज्यालोमा सबैसबै प्रष्ट दृष्टिगोच हुने र त्यस उज्यालोको प्रभाव लामो समयसम्म रहेजस्तै लघुकथामा पनि त्यस्तै हुनुपर्छ” भन्ने मान्यता राख्नु भएको छ । यिनै मान्यतामा आधारित भई लेखिएका केही कथाहरू अत्यन्त्य उच्च कोटीका छन् । ‘नयाँ सालिकको जन्म’, ‘बुधिरामले हेलिकप्टर हेरिरह्यो’, ‘गोली’, ‘जङ्गलतिरै’, ‘मुआवजा’, ‘सहीद’ र ‘मन्त्री भएपछि’ कथाहरू सङ्ग्रहका स्तरीय कथाहरू हुन् । सङ्ग्रह पढिसकेपछि पाठकहरूले पक्कै पनि कथाकारबाट यस्तै कथाहरूको अपेक्षा गर्नेछन् । 

कथाका शीर्षकहरू हेर्ने हो भने १६ वटा शीर्षकहरू एक पदीय, ९ वटा दुई पदीय, ६ वटा तीन पदीय र १ वटा चार पदीय शीर्षकहरू रहेका छन् । कथाहरू छोटा छन् । सानोमा एक पृष्ठदेखि लामोमा चार पृष्ठसम्मका कथाहरू छन् । प्रत्येक कथाहरूमा चित्र पनि समावेश गरिएको छ । केही कथा र चित्रमा अझै तालमेलको आवश्यकता देखिन्छ । आगामि दिनहरूमा मुद्राराक्षसप्रति अझै सचेत हुनुपर्ने कुरालाई ध्यान दिनु जरुरी छ । सङ्ग्रहभित्र छोटा र मीठा कथाहरू छन् । कथाहरू पढ्दै जाँदा पूरा पढेर सकूँ भन्ने जिज्ञासा पाठकमा जागृत हुन्छ । यसलाई कथाकारको सफलता मान्नु पर्दछ । 

निष्कर्ष

पाका उमेरका सिद्धहस्त कथाकार वनमाली निराकारद्वारा लिखित ‘नयाँ सालिकको जन्म’ लघुकथा सङ्ग्रह (२०८०) मा ३२ वटा लघुकथाहरू समाविष्ट छन् । लामो समयदेखि स्तरीय कथाहरू लेख्दै आउनु भएका कथाकार निराकारको यो पहिलो लघुकथा सङ्ग्रह हो । यस कृतिमा विषयवस्तुका सन्दर्भमा परिवार, समाज, राजनीति र देशमा विद्धमान विकृति र विसङ्गतिहरूले प्राथमिकता पाएका छन् । गरिबी र बेरोजगारीका प्रभावहरूलाई पनि कथाहरूमा स्थान दिइएको छ । वैदेशिक रोजगार र यसले पारेको सामाजिक विखण्डनलाई पनि कथाहरूमा प्रस्तुत गरिएको छ । यसका साथै कथामा राजनैतिक परिवर्तनको शून्य उपलब्धी र सरकारको गैरजिम्मेवारीपनलाई पनि तीखो व्यङ्ग्य गरिएको छ । अधिकांश कथाहरूले राजनैतिक एवम् सामाजिक वेथितिप्रति प्रहार गरेका छन् । आम मान्छेले बुझ्नसक्ने गरी लेखिएका आम नेपालीका कथाहरू छन् सङ्ग्रहमा । कथाकारको रोचक प्रस्तुतिकरण र सिल्पका कारणले कथाहरू थप सुन्दर बनेका छन् । १५० रुपियाँ पर्ने यस कृतिमा ३२ वटा कथाहरू छन् । यस हिसाबले एउटा कथाको ५ रुपैयाँ पनि पर्देन । अर्थशास्त्रको ‘उपभोक्ताको बचत सिद्धान्त’बाट हेर्ने हो भने यो कृति खरिद गरेर पढ्दा पाठकलाई मनग्गै फाइदा हुने देखिन्छ । 

[email protected]