२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले सहदैन : मुख्यमन्त्री आचार्य

मंगलवार , कार्तिक १३, २०८१

दाङ, १३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उनले ढिलासुस्तीलाई नसहने स्पष्ट पारेका छन् ।  

दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारवाही गरिने समेत चेतावनी दिए ।  

बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएकोबारे स्थलगत अनुगमनका लागि मुख्यमन्त्री आचार्य पुगेका थिए । उनले निर्माण व्यवसायिलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए । ‘निर्माण व्यवसायीको आफ्नो ईज्जत र प्रतिष्ठा बचाउनको निमित्त पनि यो काम समयमा सम्पन्न गर्नुपर्छ’उनले भने‘काम नगरेका कारण सरकारले निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छ । त्यसैले समयमा काम सक्नुस् ।’

घोराही उपमहानगरपालिका–१३ मा रहेको बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना सञ्चालनमा छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तरगत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माणको अघि बढेको हो । नागाअर्जुन÷शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो । 

बहुउद्देश्यीय पार्क अन्तरगत दहको मुल गेट, ड्याम, लगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आएपछि मुख्यमन्त्री र विभागीय मन्त्रीले यसबारेमा गम्भिर चासो दिएका हुन । ब्रहाक्षेत्र संरक्षण सम्बद्र्धन तथा धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेले सम्वोधन गर्दै पर्यटकीय क्षेत्रलाई पूर्वाधारमा सम्पन्न बनाउने गरी सरकारले योजना अघि बढाएको बताए । पर्यटन क्षेत्रको विकासको लागि प्रदेश सरकारले बृहत योजना अघि सारेकाले त्यसमा नागरिक तहबाट सहयोग आवश्यक पर्ने धारणा राखे ।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एकआपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ । त्यही संकल्प अन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्याउने र धेरै दिनको भ्रमण गराउने गरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस वर्ष घुमौं बर्दियाको अभियान पनि चलाएको छ ।