२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा मानवसेवा आश्रममा भोजन दान तथा आर्थिक सहयोग

शनिवार , कार्तिक १७, २०८१

भैरहवा, १७ कार्तिक । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले भोजन दान तथा आर्थिक सहयोग गरेको छ । संघले आफ्नो चौथो स्थापना दिवसको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित मानवसेवा आश्रममा एक कार्यक्रमकाबीच भोजन दान तथा आर्थिक सहयोग गरेको हो ।

शुक्रबार आश्रममा आश्रितहरुलाई बिहानी खाना खुवाउनुका साथै आश्रमलाई नगद रु. १७ हजार हस्तान्तरण गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेयले बताए । २०७७ सालमा स्थापना भएका संघले स्थापनाकालदेखि नै व्यवसायीको हकहितका काम गर्नुका साथै सामाजिक कार्यलाई पनि अघि बढाएको उनले बताए । ‘मानव सेवा आश्रम जस्तो पवित्र स्थलमा कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको छ’ उनले भने–आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

मानवसेवा आश्रम शाखा कार्यालय लुम्बिनी प्रदेश रुपन्देही, तिलोत्तमाकी संयोजक टीका माया थापाले आश्रममा हाल १५० जना आश्रित रहेको बताइन् । उनले विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले समयसमयमा कुनै विशेष अवसर तथा स्वेच्छिक रुपमा आश्रमलाई सहयोग गर्दै आएको बताइन् । उनले भोजन दान तथा आर्थिक सहयोग गरेको भन्दै मदिरा व्यवसायी संघ भैरहवालाई धन्यवाद दिइन् ।

उनका अनुसार मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकबिहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापनको लागि औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि मानवसेवा आश्रम स्थापना भएको हो ।

मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवाली, सल्लाहकार ठाकुर कुमार श्रेष्ठ, खिमबहादुर खत्री, कार्यक्रम संयोजक एवं संघका सचिव तेज बहादुर खत्री, संघका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

IMG_3622.JPG
IMG_3650.JPG