
बुधवार , कार्तिक २१, २०८१
विषय प्रवेश
बालकविता, बालगीत र बालगजलहरू लेख्दै आएको थिएँ । तर, बालकथाहरू पढ्दापढ्दै आफैले पनि यस्ता कथाहरू लेख्न सुरु गर्छु भन्ने लागेको थिएन । पछिल्लो समय बाल साहित्यप्रतिको रुची बढ्दै गएको कारण खासगरी बालकथाहरू लेख्ने अभ्यास गर्ने क्रममा बालकथाहरू भेट्नेबित्तिकै पढ्न मन लाग्छ । खास गरी प्रा. डा. कपिल लामिछाने र बिजयराज आचार्यज्यूसँगको सङ्गतले पनि चासो बढ्दै गएको हो । यही क्रममा दुर्गा पौड्यालको ‘चङ्खी र म्याउसी’ बालकथा सङ्ग्रह पढेर त्यसको समीक्षासमेत गरिसकेको छु । उक्त समीक्षालाई दैनिकपत्र राष्ट्रिय दैनिकले छापेको पनि छ । यो उहाँको दोस्रो अर्थात् पछिल्लो बालसाहित्यिक कृति हो । पहिलो बालकथासङ्ग्रह चाहिँ पछि मात्र पढ्न पाइयो । ‘भाले खै ?’ । पढ्दै गर्दा उहाँको पहिलो बालकथा सङ्ग्रह दोस्रो भन्दा पनि उत्कृष्ट लाग्यो । आज त्यही ‘भाले खै ?’ बालकथा सङ्ग्रहबारे संक्षिप्त समीक्षा प्रस्तुत गर्ने जमर्काे गर्दैछु ।
परिचय
वि.सं. २००८ सालमा गुल्मी जिल्ला, दिगाममा जन्मिई तिलोत्तमा नगरपालिका–३, शंकरनगर, रूपन्देहीमा स्थायीरुपमा बसोबास गर्दै आउनुभएकी दुर्गा पौड्यालले नेपाली साहित्यमा २०५४ सालबाटै कलम चलाउन थाल्नु भएको हो । शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि उहाँले केही समय स्वतन्त्र पत्रकारका रुपमा पनि अनुभव बटुल्नु भएको छ । पौड्याल संस्मरण, कथा, बालकथा, बालकविता तथा समसामयिक विषयमा लेखहरू लेख्न रुची राख्नुहुन्छ । हालसम्म उहाँका ‘नियात्रा’ नियात्रा संस्मरण सङ्ग्रह (२०६७, ‘काउ व्वायको देशमा’ कथा सङ्ग्रह (२०७० र ‘रसाएका आँखा’ कथा सङ्ग्रह (२०७५) प्रकाशित छन् । यी कृतिहरू प्रौढ साहित्यसँग सम्बन्धित छन् । ‘भाले खै’ बालकथा सङ्ग्रह (२०७४) र ‘चङ्खी र म्याउसी’ बालकथा सङ्ग्रह (२०८१) भने बाल साहित्यिक कृति हुन् ।
‘भाले खै’ बालकथा सङ्ग्रहलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो । प्रत्येक कथाहरूमा कथा सुहाउँदा चित्रहरू पनि प्रस्तुत गरिएको छ । यी चित्रहरू चित्रकार रामकुमार प्रजापतिले भर्नुभएको हो । चित्रहरूले गर्दा कथाहरू निकै रोचक बनेका छन् । यस सङ्ग्रहमा जम्माजम्मी दशवटा कथाहरू रहेका छन् । ती कथाहरू क्रमश ः भाले खै ?, जेनी र मिल्कीको मेल, साथीको माया, सिद्धार्थको बिहे, स्वार्थी बस्ती, आमाको मुख हेर्ने दिन, जावरहरूको सम्झौता, अनौठो मित्रता, मानिसको साथी चरा र पहिरोको कथा हुन् । सबै कथाहरूले केही न केही सन्देश बोकेका छन् । यस कथा सङ्ग्रहमा सङ्ग्रहित कथाहरूका माध्यमले स्रष्टा पौड्यालले बालबालिकालाई मनोरञ्जनका साथै समयसापेक्ष ज्ञान र शिक्षा दिने प्रयास गर्नु भएको छ ।
सङ्ग्रहभित्रका कथाहरूको सारसंक्षेप
आजका बालबालिका भनेका भोलिका देशका कर्णधार हुन् । उनीहरूमा सिर्जनशीलताको विकास गर्न सकियो भने मात्र यस्ता कर्णधारहरूको निर्माण गर्न सहज हुन्छ । राष्ट्रप्रतिको प्रेम, जिम्मेवारी र नैतिकता हराउँदै गएको सन्दर्भमा बालबालिकाको मनस्थितिमा यस्ता भावहरू जगेर्ना गर्न सकियो भने भोलिको नेपाल समृद्ध बन्न सक्दछ । यस्तो जनशक्ति निर्माणका लागि बालसाहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसै सन्दर्भमा कथाकार दुर्गा पौड्यालका कथाहरूले बलबालिकाहरूमा नैतिक शिक्षा, ज्ञान, अनुशासन, सामाजिक मेलमिलाप, एकता र मानवताजस्ता पक्षहरूको विकास गर्ने प्रयास गरेका छन् । शैक्षिक उपाधि हासिल गर्न विद्यालयका किताबी ज्ञानलाई मात्र प्रोत्साहन गरिरहने यस युगमा सामाजिक सञ्जालले बाल मानसपटललाई नराम्ररी आक्रमण गर्दै आएको छ । त्यसैले यसबाट विस्तारै उम्कन र सिर्जनशील मनस्थितिको विकासका निम्ति प्रस्तुत बालकथासङ्ग्रह ‘भाले खै ?’ ले केही हदसम्म भए पनि भूमिका खेल्न सक्ने देखिन्छ ।
‘भाले खै ?’ कथासङ्ग्रहमा रहेका दशवटा कथाहरूले भिन्दाभिन्दै विषयवस्तुलाई समेटेका छन् । यी कथाहरूको सारसंक्षेपलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
(१) भाले खै ?
‘भाले खै ?’ कथा, कथासङ्ग्रहको केन्द्रीय कथा हो किनभने यही कथाको शीर्षकलाई लिएर पुस्तकको न्वारन पनि गरिएको छ । भालेकै कारण विहान चाँडै उठ्नु परेकोमा दिक्क भएको दीपकले आमा बुबालाई छलेर भाले साथीलाई दिन्छ । घरमा भाले हराएकोमा खैलाबैला हुन्छ । अर्काे दिनमात्र भाले भेटिन्छ । यसै कथानकमा कथा घुमेको छ । गाउँलेलाई बिहान ब्यूँझाउन घडीको काम गर्ने भालेको गुनलाई दीपकले बिर्सिएको छ । आफ्नो अफ्ठ्यारोलाई भन्दा पनि सबैको लागि सहज हुने र गुनको पक्षलाई प्राथमिकता दिनुपर्ने साथै भालेले बिहान जगाउन आफ्नो कर्तव्य पालन गरेजस्तै विद्यार्थीले पनि पढ्ने कुरालाई अल्छि नमानी आफ्नो कर्तव्य ठान्नुपर्ने कुराको सन्देश कथाले दिएको छ । कथाको अन्त्यमा भाले भेटिएको छ । तर, कथा सकिदै गर्दा दीपकको मानसिकतामा के कस्तो परिवर्तन आयो वा आएन भन्ने सन्दर्भमा कथा मौन छ । यस सन्दर्भमा कथा अधुरो प्रतीत हुन्छ ।
(२) जेनी र मिल्कीको मेल
‘जेनी र मिल्कीको मेलकथा’ मा दुई कुकुरहरू मिलेर बसेको र एकले अर्कालाई सहयोग गरेको सन्दर्भ प्रस्तुत गरिएको छ । मिल्कीलाई सिक्रीले बाँधिएको हुन्छ । जेनीलाई फुकुवा छोडिएको हुन्छ । चाडपर्वका बेला घरमा मीठो पाकेको खान मन लाग्छ मिल्की र जेनीलाई । जेनीले खुसुक्क गएर मासु ल्याउँछे आफूले खान्छे र एक टुक्रा मिल्कीको अगाडि राखिदिन्छे । तर, घरकाले थाहा पाउँछन् । मिल्कीको अडाडि मासुको टुक्रा देखेर मिल्कीलाई नै पिट्छन् । जेनीले आफूले गर्दा मिल्कीले पिटाई खाएकोमा दुःख मान्छे । उनीहरूको मिल्ती देखेर पर्व मनाउन माइत आएका छोरी ज्वाईं दङ्ग पर्दछन् । आफ्नो आमा बुबाको पनि यसरी मिल्ती भएको भए छोडपत्र गरेर एक्लै बस्नु नपर्ने सन्दर्भ आउँछ । मानिसले पशुबाट पनि सिक्नुपर्ने सन्देश कथाले दिएको छ । कथाको सुरुवात र अन्त्य उत्कृष्ट ढङ्गले गरिएको छ ।
(३) साथीको माया
उपल्लो जात र धनाड्य परिवारको छोरा शिबु र तल्लो जात एवम् गरीब परिवारको छोरा राजुबीचको मित्रता प्रस्तुत भएको कथा हो ‘साथीको माया’ । बाबुलाई भनेर राजुलाई स्कूल भर्ना गर्न सहयोग गर्छ शिबुले । पछि शिबुको बाबुले थप सहयोग गर्छन् राजुको शिक्षा अगाडि बढाउन । छात्रवृत्ति पाएर अध्ययन पूरा गर्छ राजुले । अनि डाक्टर बन्छ । शिबुको आमाको उपचारको बेला उही राजुले सहयोग गर्दछ । आफू डाक्टर बन्नुमा शिबुका बुबा र उसको परिवारको योगदान रहेको पनि बताउँछ । यसरी समाजमा पढ्ने लेख्ने अधिकार सबैको हो र एकले अर्काेलाई सहयोग गर्नु पर्दछ । जात पात र धनी गरीबको विभेदलाई मान्यता दिनु हुँदैन भन्ने सन्देश कथाले दिएको देखिन्छ । साथै सहयोग गर्नेहरूप्रति कृतज्ञ हुन कन्जुस्याईं गर्नुहुँदैन भन्ने कुरालाई पनि कथामा प्रस्तुत गरिएको छ ।
(४) सिद्धार्थको बिहे
‘सिद्धार्थको बिहे’ जगदिशपुर तालमा रहेका सेतो र खैरो रङका दुई सारस संवादमार्फत् अगाडि बढेको कथा हो । कपिलवस्तुका राजकुमार सिद्धार्थको विवाह हेर्न आएका सारसहरूले सिद्धार्थको करुणाको स्वभाव र भविष्यमा बुद्ध बन्ने भविष्यवाणीको सन्दर्भलाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ कथामा । कथाले ऐतिहासिक पक्षको उजागर गर्नुका साथै पाठकमा करुणाको भाव सञ्चार गराउने प्रयास गरेको छ । कथामा प्रस्तुत गरिएको संवाद निकै आकर्षक र सुन्दर छ । अन्य कथाहरूको तुलनामा यस कथामा कथाकारको उत्कृष्ट लेखन शिल्प झल्किएको देखिन्छ ।
(५) स्वार्थी बस्ती
‘स्वार्थी बस्ती’ कथामा दुई मितमुसाहरूको कथा छ । ती मुसाहरू एउटा सहरमा र अर्काे भने गाउँमा बस्दछन् । सहरमा बस्नेहरू स्वार्थी र छुच्चा स्वभावका हुने तर गाउँका भने उदार र मित्रवत व्यवहार गर्ने खालका हुन्छन् भन्ने कुरा कथाले देखाएको छ । साथै सहरका मानिसहरूको खानपानभन्दा गाउँका मानिसहरूको खानपान शुद्ध र स्वस्वथकर रहेको कुरा कथाले बताउँछ । संक्षेपमा सहरका मानिसहरू पैसाको पछाडि भाग्दा उनीहरूमा करुणा र मित्रताको भाव हराउँदै गएको कुरालाई कथाले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत देखाएको छ ।
(६) आमाको मुख हेर्ने दिन
आमा नभएकी टुहुरी रमालाई प्रमिला मिसले कक्षामा ‘आमाको मुख हेर्ने दिन’ कसरी मनायौ भनी प्रश्न गर्नु हुन्छ । उहाँलाई रमाको आमा हुनुहुन्न भन्ने थाहा छैन । रमालाई त्यो प्रश्नले दुःखी बनाउँछ । रमाकी साथी निलमले प्रमिला मिसलाई सबैकुरा भन्नु हुन्छ । रमाको आमा नभएको र त्यो कुराले रमालाई निकै दुःखी बनाएको कुरा थाहा पाउनेबित्तिकै प्रमिला मिसले रमालाई आजबाट म तिम्रो आमा भएँ भन्दै रमालाई अङ्कमाल गर्नु हुन्छ । साथै उसको सबै जिम्मेवारी उठाउन तयार हुनुहुन्छ । यस कथामा अनाथ बालबालिकाहरूको मानोविज्ञानलाई प्रस्तुत गर्दै उनीहरूप्रतिको कर्तव्यसमेत प्रस्तुत गरिएको छ ।
(७) जनावरहरूको सम्झोता
सहकारी र माशांहारी जनावरहरू आपसमा सम्झौता गरी जंगलमा मिलेर बसेको प्रसङ्गलाई ‘जनावरहरूको सम्झौता’ कथाले प्रस्तुत गरेको छ । जनावारहरू त मिलेर बस्दछन् भने मानिसहरू पनि आपसमा मिलेर बस्नु पर्ने कुराको सन्देश कथाले दिएको छ । आपसी संवाद र सम्झौताबाट पनि समस्याहरू समाधान गर्न सकिन्छ र यसबाट मेलमिलापको वातावरण निर्माण गर्न सकिन्छ भन्ने कुरालाई जनावरहरू पात्र निर्माण गरी कथामा प्रस्तुत गरिएको छ ।
(८) अनौठोे मित्रता
कैली (कुकुर) र म्याउसी (बिरालो) दुवै एउटै घरमा बस्छन् । उनीहरूका बीच गहिरो मित्रता कायम हुन्छ । कैलीका दुई छाउरा र म्याउसीका पनि दुईवटै पाठापाठी हुन्छन् । एक दिन म्याउसी अबेरसम्म पनि घर फकिन्ने । कैलीले म्याउसीका पाठापाठी पनि आफैले स्याहार गर्न थाल्छे । आफ्नो दूध चुसाउँछे । यसरी शत्रुताको उदारहण दिइने कुकुर र बिरालो पनि मित्र बन्न सक्दछन् भने मानिसहरू पनि आपसमा मेलमिलाप गरेर किन बस्न सक्दैनन् ? भन्ने प्रसङ्गलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ प्रस्तुत कथामा । कथाले मित्रता भनेको निःस्वार्थको हुनु पर्दछ भन्ने कुरा समेत सिकाएको छ । यो कथा पढ्दा कथाकारको दोस्रो कथासङ्ग्रह ‘चङ्खी र म्याउसी’ मा रहेको सोही शिर्षकको कथाको सम्झना आउँछ । दुबै कथाहरू मिल्दा जुल्दा मात्र होइन, कथाले दिने सन्देश पनि उस्तै छ ।
(९) मानिसको साथी चरा
आमा छोराको संवाद मार्फत् काग र गिद्धजस्ता चराहरूको गुणहरूको चर्चा गरिएको छ । पर्यावरणका लागि सबै जीवजन्तुको उत्तिकै महत्व रहेको कुरा पनि कथामा प्रस्तुत गरिएको छ । मानिसले किटनाशक औषधिको प्रयोग बढाउँदै गएको र जनावारले त्यस्तो विष खाँदा अन्य जीवजन्तुलाई पनि त्यसको प्रभाव परेको कुरा कथामा प्रस्तुत गरिएको छ । वातावरण संरक्षणमा मानिसले गर्नुपर्ने थप प्रयासलाई पनि उजागर गरिएको छ कथामा । कथाभित्र कथानक कम तर, जानकारी बढी प्रस्तुत गरिएको छ ।
(१०) पहिरोको कथा
‘पहिरोको कथा’ पनि मानिसको साथी चरा शीर्षकको कथाजस्तै छ । यसमा आमा छोरीको संवादबाट कथा सुरु गरिएको छ भने कथाको अन्त्य पनि संवादबाटै भएको छ । वनजङ्गल फडानीका कारण बाढी पहिरोको समस्या परेको र यसले मानिसलाई क्षति गरिरहेको प्रसङ्ग उठाइएको छ । मानिसको गतिविधिका कारण वायुमण्डलमा तापक्रम बढ्दै गएको कुरालाई पनि आमा छोरीकै संवादमा प्रस्तुत गरिएको छ । यो कथामा पनि पढ्दै जाँदा कथानक कम तर, बालबालिकाहरूलाई संवादमार्फत् अधिक जानकारी थोपर्न खोजिएको जस्तो देखिन्छ ।
कथाको भाषाशैली र लेखन सीप
बालबालिकाहरूका निम्ति लेखिएका कथाहरूलाई बालकथा भनिन्छ । बालकथामा बालसुलभ भाषाशैली, विषयवस्तु, कथानक, पात्र, परिवेश आदिको प्रयोग गरिएको हुन्छ । यसै सन्दर्भमा ‘भाले खै ?’ पुस्तक र पुस्तकभित्रका अक्षरहरूको आकार, फण्ट तथा चित्र संयोजन सबै बालमैत्री छन् । कथामा प्रस्तुत संवाद तथा कथानकको प्रस्तुति रुचिकर छ । बाल कथालाई बालबालिकाको उमेर, रुचि, एवम् ज्ञानको स्तरलाई मध्यनजर गरी सरल भाषामा रोचक शैलीमा लेखिएका कथात्मक रचनाका रूपमा व्याख्या गर्न सकिन्छ । कथाकार पौड्यालका कथाहरू सरल र सरस छन् । हरेकजसो कथाहरूले केही न केही सन्देश दिएका छन् । यही नै पौड्यालको कथाकारिताको प्रमुख विशेषता हो । संवादले कथालाई जीवन्त पारेको छ । साथै कथामा आउने द्वन्द्वले पनि थप आकर्षक बनाएको छ ।
भाले खै ?, जेनी र मिल्कीको मेल, साथीको माया, सिद्धार्थको बिहे, स्वार्थीे बस्ती, जावरहरूको सम्झौता र अनौठो मित्रता कथाहरू सङ्ग्रहका उत्कृष्ट कथाहरू हुन् । यसैबीच मानिसको साथी चरा र पहिरोको कथा दुवैमा कथानकको अभाव देखिन्छ । संवाद र बढी जानकारीहरूले गर्दा कथामा निबन्धको स्वाद मिसिएको प्रतित हुन्छ । यति हुँदाहुँदै पनि समग्रमा कथामा सिर्जना गरिएको विषयवस्तु र प्रस्तुति उत्कृष्ट छन् । यसर्थमा कथाकारको काथाकारितामा खोट लगाउन मिल्दैन ।
निश्कर्षः
बालसाहित्य लेखनमा शब्द चयन, वाक्य निर्माण, भाषाशैली र कथानकहरूमा सचेत हुनु आवश्यक हुन्छ । बालसाहित्यले बालबालिकाहरूको रुचीलाई समेट्न सकेन भने त्यो अर्थहीन हुन जान्छ । त्यसैले कथाकारले कथागत संरचना मात्र बुझेर हुँदैन बालमनोविज्ञानलाई समेत बुझ्नु आवश्यक छ । यस सन्दर्भमा बालसाहित्य लेखन चुनौतिपूर्ण छ । यस्तो चुनौतिलाई सहजै स्विकार गर्दै निरन्तर बालसाहित्य सिर्जनामा रमाइरहनु भएकी कथाकार दुर्गा पौड्यालको लेखन निकै प्रशंसनीय छ । पौड्यालका कथाहरूले बालबालिकाहरूमा सकारात्मक प्रभाव पार्नसक्ने क्षमता राख्दछन् । उमेरले ७३ लागे पनि बालबालिकाको मनोभावना बुझ्ने सन्दर्भमा कथाकार पौड्याल सक्षम देखिनु हुन्छ । आगामी दिनमा कथाले दिने सन्देशलाई संवादबाट थोरै तर, कथानकबाट अधिक रुपमा प्रस्तुत गर्नसके कथाहरू अझै सुन्दर र रुचिकर बन्न सक्दथ्यो भन्ने कुरामा कथाकारले मनन् गर्नुपर्ने देखिन्छ । यसो गर्नसके कथाहरू थप उत्कृष्ट बन्न सक्ने देखिन्छ । समग्रमा ‘भाले खै ?’ बालकथा सङ्ग्रह बालबालिकाको सिर्जनशीलतामा सकारात्मक प्रभाव पार्न सक्ने क्षमता राख्ने कृति बनेको छ । कथाका हरेक तत्वहरूको दृष्टिगत गर्दा र कथाकारको लेखन सीपलाई पनि ध्यान ख्याल गर्दा सङ्ग्रहभित्र रहेको ‘सिद्धार्थको बिहे’ उत्कृष्ट कथा हो । आगामी दिनहरूमा कथाकार पौड्यालबाट यस्तै कथाहरू आऊन् भन्ने हार्दिक शुभकामना । [email protected]
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij