२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अवैध कारोबारले वैध रुपमा व्यवसाय गर्नेहरु मर्कामा परेको व्यवसायीको गुनासो

बिहिवार , कार्तिक २२, २०८१

भैरहवा, २२ कार्तिक । उद्योगी–व्यवसायीले अवैध कारोबारले वैध रुपमा व्यवसाय गर्नेहरु मर्कामा परेको गुनासो गरेका छन् । उनीहरुले अवैध रुपमा सामान भित्रिदा वैध रुपमा व्यवसाय गर्नेले प्रतिष्पर्धा गर्न नसक्ने बताएका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसँगको परिचयात्मक तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले यस्तो बताएका हुन् ।

कार्यक्रममा संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ३ हजार ५ सय बढी व्यवसायीको नेतृत्व गर्दै आएको सिद्धार्थ उद्योग वाणिज्य संघले सदैव वैध व्यवसायलाई प्रोत्साहन गर्दै आएको बताए । उनले संघले अवैध कारोबारको विरोध गर्दै आएको बताए । अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट १ सय रुपैयाँ भन्दा बढीको सामान नेपालमा ल्याउँदा अनिवार्य भन्सार गर्नुपर्ने नियमलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ । चोरी-तस्करीलाई नियन्त्रण गर्नुपर्छ । अनि मात्र स्वदेशी उद्योग–व्यवसाय फस्टाउन सक्छ ।’ 

प्रहरी–प्रशासनले गर्ने व्यवहारबाट भारतीय पर्यटक र मालबाहक भारतीय सवारीसाधनका चालकहरु हिचकिचाउने र यहाँ पुगेपछि नाक खुम्च्याउने गरेको पाइएकाले राम्रो व्यवहार गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘जुन उत्साहका साथ हामीले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूलाई स्वागत गरेका छौं, उहाँ रुपन्देही जिल्लाबाट सरुवा हुँदा त्यही उत्साहका साथ विदाई गर्न पाउनेमा विश्वस्त छौं ।’ 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले निजी क्षेत्रले धेरै समस्याको समाधान गर्न सहजीकरण गर्दै आएको बताए । उनले आर्थिक र सामाजिक विकासका साथै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयसँग निरन्तर सहकार्य गर्ने बताए । अध्यक्ष शर्माले जिल्ला प्रशासन कार्यालय सम्मानित हुँदा रुपन्देहीबासी सम्मानित भएको अनुभुति हुने गरेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुल प्रसाद न्यौपानेले सीमामा कडाइ गर्नुपर्ने बताए । उनले स्वदेशी किसानले उत्पादन गरेका सामान बजारसम्म ल्याउँदा दुःख दिन नहुने उल्लेख गरे । उनले जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष रामशंकर कान्दु, महेन्द्र कुमार श्रेष्ठ, कार्यसमिति सदस्य धर्मवीर शर्मा, परामर्शदाता कुरबान अली लगायतले बोल्दै खुल्ला सीमाका कारण हुने अवैध कारोबारलाई रोक्नुपर्ने र थप चनाखो हुनुपर्ने बताए । उनीहरुले उद्योगी–व्यवसायीले उठाएका मागहरु सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

राज्यले निजी क्षेत्रलाई साझेदारको रुपमा लिएको छ : प्रजिअ घिमिरे

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव घिमिरेले राज्यले निजी क्षेत्रलाई साझेदारको रुपमा लिएको बताए । उनले शान्त र सुरक्षित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्न पाउने वातावरण हुने बताए । उनले भने, ‘शब्दले भन्दा कामबाट बोल्न सके राम्रो हुन्छ । थोरै प्रतिवद्धता व्यक्त गरेर नतिजामूलक काम गर्नुपर्छ । विगतमा भएका असल अभ्यासलाई निरन्तरता दिनेछु । यहाँहरुको उचित साझेदारी आवश्यक छ ।’ 

प्रजिअ घिमिरेले खुल्ला सीमा आफैमा ठूलो चुनौती भएको तर, यसलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले भने, ‘असहज परिस्थितिका बाबजुद उद्योग–व्यवसाय सञ्चालन गर्नुभएको छ, व्यवसाय टिकाइरहनुभएको छ । यो प्रशंसनीय छ ।’

उनले पेशागत उत्तरदायित्वलाई बोध गर्दै र जिम्मेवारी ढंगलाई व्यवसाय अघि बढाउँदै उपभोक्ताको हित संरक्षणमा पनि ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।