२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछानेलाई रुपन्देही ल्याइँदै

मंगलवार , कार्तिक २७, २०८१

भैरहवा, २७ कार्तिक । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार (आज) रुपन्देही ल्याइने भएको छ । सहकारीको बचत अपचलन आरोपमा कार्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

पछिल्लोपटक आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही ल्याउने तयारी गरेको हो । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको थियो ।

रुपन्देही प्रहरीका अनुसार कास्की प्रहरीसँगको समन्वयमा मंगलबार जहाजबाट भैरहवा ल्याउने तयारी भइरहेको हो । आइतबार दिउँसो ल्याउने तयारी भए पनि फ्लाइट सरेका कारण आज ल्याउने तयारी भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले बताए ।

प्रहरी स्रोतका अनुसार दुवै पक्षले गर्न सक्ने प्रदर्शनका विषयमा छलफल गरी सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निषेधित क्षेत्र तोक्ने र व्यापक प्रहरी परिचालन गर्ने तयारी रुपन्देही प्रशासनको छ ।

रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न कार्तिक ८ गते अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट दुई करोड रवि लामिछानेकै नाममा रु. १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।