
बुधवार , कार्तिक २८, २०८१
भैरहवा, २८ कार्तिक । उद्योगी–व्यवसायीहरुले पर्यटकको आवागमनलाई सहज बनाउन माग गरेका छन् । उनीहरुलाई सीमा नाकालाई व्यवस्थित बनाउन र पर्यटकलाई अनावश्यक दुःख दिन नहुने समेत माग गरेका छन् ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत, छलफल तथा परिचयात्मक कार्यक्रममा उद्योगी–व्यवसायीले यस्तो माग गरेका हुन् । रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई स्वागत गर्दै व्यवसायीले पर्यटक आवागमनलाई सहज बनाउन सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताए ।
कार्यक्रममा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्ने बताए । उनले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सञ्जालले दबाबमूलक कार्यक्रम गर्दै आएको बताए ।
‘एउटा संस्थाले मात्र आवाज उठाएर समस्या समाधान हुन नसक्ने जस्तो महसुस गरेर सामूहिक रुपमा अघि बढ्न सिद्धार्थ सञ्जालको स्थापना गरेका हौं, ’ज्ञवालीले भने । उनले खुल्ला सीमाका कारण हुने सामानको अवैध कारोबारले स्वदेशी व्यवसायी मर्कामा परेकाले मुख्य सीमा नाकासँगै अन्य नाकामा पनि कडाइ गर्नुपर्ने माग गरे । उनले भैरहवा पर्यटकीय नगर पनि भएकाले बजारहरु कम्तीमा राती ११ बजेसम्म सञ्चालन गर्न दिनुपर्ने बताए । उनले सडक खन्ने तथा समयमै निर्माणसम्पन्न नहुँदा सवारी दुर्घटना बढेको बताए ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यस क्षेत्रको समस्या समाधानका लागि सामूहिक रुपमा पहल गर्न र आवाज उठान सिद्धार्थ सञ्जाल स्थापना गरिएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष दर्पण श्रेष्ठले सडक निर्माणमा ढिलाइ भएकोले यसतर्फ निगरानी हुन आवश्यक रहेको बताए । उनले भने, ‘सीमा नाकालाई व्यवस्थित गर्नुपर्छ ।’ हालसम्म पनि बेथरी पुल निर्माण हुन नसक्दा यसले यात्रु तथा पर्यटक मर्कामा परेको बताए ।
सञ्जालका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले सिद्धार्थ सञ्जाल गठनले यहाँको विकासमा सहजीकरण गरेको अनुभुति भएको बताए ।
पर्यटन व्यवसायी तथा सञ्जालका सदस्य किशोर जोशीले सीमा क्षेत्र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
सोट्टो नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका भएको बताए । उनले पर्यटकको आवागमनलाई सहज बनाउनुपर्ने बताए।
सिद्धार्थ सञ्जालका कोषाध्यक्ष सतिश कुमार कौसल (दीपक) ले भैरहवाबाट सिधै ठूला शहरमा यातायात सञ्जाललाई जोड्नुपर्ने बताए ।
उद्योगी चन्द्रमान श्रेष्ठले उद्योग व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको बताए । सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको स्वागत, उपाध्यक्ष संजय बजिमयको धन्यवाद ज्ञापन तथा
महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सिद्धार्थ सञ्जालको अवधारणा नयाँ र युनिक छ : प्रजिअ घिमिरे
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सिद्धार्थ सञ्जालको अवधारणा नयाँ र युनिक रहेको बताएका छन् । उनले सञ्जालले आयोजना गरेको कार्यक्रममार्फत धेरै विषयवस्तुबारे जानकारी पाउने मौका मिलेको बताए । रुपन्देही जिल्लाका कयौं परिचय भएको र यहाँ अवसर, समस्या र चुनौती पनि रहेको बताए । प्रजिअ घिमिरेले भने, ‘यहाँहरुको साथ, सहयोग, परामर्श र खबरदारी पाउँछु भन्नेमा विश्वस्त छु । शान्ति सुरक्षाको प्रत्याभूति दिलाइनेछ । सूचना दिएर सहयोग गर्नुहोस् । जति बस्छु, राम्रो गर्छु ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij