
बुधवार , कार्तिक २८, २०८१
काठमाडौं, २८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई विश्वास गर्ने आधार तयार हुँदै गएको बताएका छन् । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्ष गरेको काम र नयाँ सरकार बन्नुको कारणबारे जनताले स्पष्ट रुपमा बुझिसकेको भन्दै जनताले माओवादीलाई विश्वास गर्ने आधार तयार हुँदै गएको बताएका छन् ।
उनले आत्म समीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे ।
कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा यसलाई कायम राख्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चूनावी सभा आयोजना गर्नुभन्दा जनताको घर–घरमा जान निर्देशन समेत दिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इञ्जिनियर नारायण बिष्टलाई उम्मेदवार घोषणा गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij