२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग

मंगलवार , कार्तिक १०, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • चितवन, १० कार्तिक ।  चितवनका जग्गा तथा आवास व्यवसायीहरूले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी जग्गा कित्ताकाट तत्काल खुलाउन माग गरेका छन्। चितवनको सौराहामा सम्पन्न द्विपक्षीय भेटघाटका क्रममा व्यवसायीहरूले जग्गा कारोबारमा देखिएका नीतिगत तथा प्रक्रियागत समस्या समाधान गर्न र भू–उपयोग नीतिलाई स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

    नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला र आईपी थापालगायतका व्यवसायीहरूको सहभागिता रहेको थियो।

    भेटका क्रममा संघका अध्यक्ष अधिकारीले घरजग्गा कारोबारबाट राज्यलाई उल्लेख्य राजस्व प्राप्त हुने तथ्य औंल्याउँदै यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन राज्यले विशेष पहल गर्नुपर्ने बताए। उनले कित्ताकाटमा रहेका कानुनी तथा प्रशासनिक अड्चन हटाउन, भू–उपयोग नीतिलाई व्यवहारिक रूपमा स्पष्ट पार्न तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थामा व्यवसायीमैत्री पुनरावलोकन गर्न मन्त्रीसमक्ष माग राखे।

    कित्ताकाट बन्द हुँदा व्यवसायीहरू मात्र नभई सर्वसाधारणको नियमित जग्गा किनबेच र निजी आवास निर्माणका कार्यसमेत नराम्ररी प्रभावित भएको व्यवसायीहरूको भनाइ थियो। नीतिगत स्पष्टता र सहज प्रशासनिक प्रक्रिया भएमा घरजग्गा कारोबार बढ्नुका साथै सरकारी राजस्वमा समेत ठूलो योगदान पुग्ने उनीहरूले स्पष्ट पारे।

    व्यवसायीहरूको माग र समस्या सुनेपछि मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट बनाउँदै घरजग्गा कारोबारका समस्या समाधान गर्न सरकार पूर्ण रूपमा गम्भीर रहेको बताइन्। उनले रोकिएको जग्गा कित्ताकाट खुलाउने विषयमा सरकारले छिट्टै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायीहरूले जानकारी दिएका छन्। नीतिगत अन्योल हटेमा यस क्षेत्रले पुनः गति लिने र आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।