२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोरोना महामारीपछि होटल व्यवसाय धरासायी भएको गुनासो

आइतवार , मंसिर २, २०८१

भैरहवा, २ मंसिर । होटल व्यवसायीहरुले कोरोना महामारीपछि होटल व्यवसायी धरासायी भएको गुनासो गरेका छन् । उनीहरुले थुप्रै व्यवसायीहरु पलायन हुने अवस्थामा समेत पुगेको बताएका छन् ।

शनिबार भैरहवामा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको ११ औं वार्षिक साधारण सभामा व्यवसायीहरुले उद्घाटन भएर पनि लामो समयसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा होटल क्षेत्रमा लगानी गरेका व्यवसायीहरु मर्कामा परेको बताए । केही हप्ता अघिदेखि यो विमानस्थलबाट सुरु भएको अन्तर्राष्ट्रिय उडानले भने केही आशा जागेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले कोरोना महामारीका कारण व्यवसायीहरुलाई समस्या परेको बताए । उनले सरकारले व्यवसायमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष पोखरेलले पर्यटन क्षेत्र विकास र आर्थिक समृद्धिको आधार भनिए तापनि राज्यको अस्पष्ट नीतिका कारण व्यवसाय धरासायी भइ बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

संगठनका संस्थापक अध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कोभिडपछिको आर्थिक मन्दीका कारण व्यवसाय संकटमा परेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भएका दबाबमूलक कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले सक्रिय सहभागीता जनाएको बताए । 
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले दर्ता नभएका व्यवसायलाई दर्ता गरेर करको दायरामा ल्याउनुपर्ने बताए ।

होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले पर्यटन क्षेत्रलाई मर्का पुग्ने खालका गतिविधिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले युवाहरुलाई कसरी विदेश जानबाट रोक्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले सीमा नाकालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले नेपाल आउने पर्यटकलाई सीमा नाकामै पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिनुपर्ने बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यस क्षेत्रको विकासका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विमानस्थल सञ्चालन भइसक्दा पनि श्रम स्वीकृति, स्वास्थ्य परीक्षण लगायत कामका लागि अझै पनि काठमाडौं जानुपर्ने बाध्यता रहेको बताए ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले मर्यादित रुपमा होटल व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन प्रवद्र्धन साझा उद्देश्य भएकाले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आफूले जानेबुझेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । उनले होटलमा एकपटक आएका ग्राहकलाई पटकपटक आउने वातावरण बनाउन आग्रह गरे । उनले भने, ‘होटल व्यवसायप्रति गुनासो छ र होटल व्यवसायीका गुनासो छन् । यहाँहरुप्रति आएका गुनासो यहाँहरुबाटै सम्बोधन हुनुपर्छ र यहाँहरुबाट आएका गुनासो र समस्या सम्बोधन हाम्रो क्षेत्रअधिकारमा रहेर सम्बोधन गर्न तत्पर छौं ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले ग्राहकलाई स्वस्थकर खानेकुरा खुवाउन र सरसफाईमा ध्यान दिन होटल व्यवसायीलाई आग्रह गरे । उनले भने, ‘जहाँ राम्रो व्यवहार र आतिथ्यता हुन्छ, त्यही ग्राहक बारम्बार जानुहुन्छ । यहाँहरु आफ्नो पेशाप्रति इमान्दार हुनुपर्छ ।’

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले अध्यक्षको प्रतिवेदन, महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष दल बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संगठनका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु) को स्वागत तथा महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरिएको थियो । पर्यटन क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार गुप्तालाई नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै संगठनले आयोजना गरेको सिद्धार्थ सडक खाना महोत्सवमा सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थाहरुलाई सम्मान गरिएको थियो ।