
बुधवार , फाल्गुण २६, २०७७
भैरहवा, २६ फागुन ।
रुपन्देहीमा आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहका २१ वर्षिय सम्झना चाईको आगो लगाइ हत्या गर्ने उनको पति मुकेश चाईलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलका अनुसार गत पुस १ गते कालिदहस्थित आफ्नै घरको कोठामा सम्झना चाईले आगो लगाएर जलेको अवस्थामा मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरीको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । घटनापश्चात मृतक सम्झना चाईका पति मुकेशका साइला काका शलिन्दरले जाहेरी दरखास्त दिएका थिए । प्रहरीका अनुसार शलिन्दर दिएको जाहेरीमा सम्झनाले कोठाको गजवार (आग्लो) लगाएर कोठा बन्द गरी आगो लगाइ मृत्यु भएको हो र कसैले मारेको वा मार्न लगाएकोप्रति शंका छैन भन्ने व्यहोरा उल्लेख थियो ।
त्यस्तै मृतक सम्झनाको दाइ रामप्रसादले दोस्रो जाहेरी दरखास्त दिएका थिए । उक्त दरखास्तमा सम्झनालाई दाइजो थोरै ल्याएको भन्दै बेलाबेलामा यातना दिनुका साथै मार्छु समेत भनेका छन् भन्दै फोनमा सम्झनाको बहिनीले उनको आमालाई भनेको हुँदा बहिनीलाई कर्तव्य गरी मारेर प्रमाण नष्ट गर्न आगो लगाएको व्यहोरा जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
पुस २ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृतक सम्झनाको शव परीक्षण भएको प्रहरीले जानकारी दिएको छ ।
‘घटनास्थल कोठाभित्र आगोले जलेर धुंवा हुनुका साथै आगो निभाउन पानी खन्याएकोले पुरै कोठा पानीले भिजेको थियो, कोठाभित्र रहेको पलङमा मृतक सम्झनाको शरीरभरी जलेर सिरानीतर्फ खुट्टा र गोड्यानतर्फ टाउको रही उत्तानो अवस्थामा रहेको थियो, कोठाभित्र आग्लो लगाइ बन्द गरी आगो लगाएकोमा ढोकाको आगो स्थानीयले फोरेको भन्ने जानकारी भएको हो, एसपी पोखरेलले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij