
आइतवार , मंसिर २, २०८१
भैरहवा, २ मंसिर । राष्ट्रिय कर दिवस, २०८१ को अवसरमा रुपन्देहीको भैरहवामा सेवाग्राहीलाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाले कर सप्ताह अन्तर्गत दोस्रो दिन आइतबार कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राही राजु कौसललाई सम्मान गरेको हो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ कोटिहवामा लक्ष्मी साइकल सर्भिस सञ्चालन गर्दै आएका कौसललाई प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले खादा, माला र टीका लगाइ सम्मान गर्दै कर चुक्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कर सप्ताहको पहिलो दिन शनिबार परेकोले आइतबार कार्यालय आएका पहिलो सेवाग्राहीको रुपमा कौसललाई सम्मान गरिएको कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत धनिश्वर अर्यालले बताए ।
आफू कार्यालयमा कर चुक्ता प्रमाणपत्र लिन आउँदा पहिलो सेवाग्राहीको रुपमा सम्मानित हुन पाउँदा खुसी लागेको सेवाग्राही कौसलले बताए । आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र अन्तर्गत रुपन्देही र नवलपरासीमा गरी २ लाख १६ हजार जना करदाता छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij