
सोमवार , मंसिर ३, २०८१
भैरहवा, ३ मंसिर । राष्ट्रिय कर दिवस तथा कर सप्ताह, २०८१ को अवसरमा रुपन्देहीको भैरहवामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाले लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा आइतबार उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका सूचना अधिकारी तथा कर अधिकृत धनिश्वर अर्यालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले तिर्नुपर्ने करको दायित्वबाट कोही पनि उम्कन नपाउने बताए । उनले मेला महोत्सव सञ्चालन गर्दा अनिवार्य रुपमा भ्याटमा दर्ता भइ सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कार्यालय कानून अनुसार अघि बढेको छ । आवश्यक सूचना दिएर सहयोग गर्न म आग्रह गर्दछु ।’
लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले आगामी दिनमा पनि सहकार्य गर्दै यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले पहिलो दिन (मंसिर १ गते) विभिन्न संघ–संस्थाहरुको सहभागीतामा प्रभातफेरी निकालेको थियो । मंसिर १ देखि ७ गतेसम्म मनाइने राष्ट्रिय कर दिवस–२०८१ अन्तर्गत पहिलो दिन प्रभातफेरी कार्यक्रम गरिएको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए ।
त्यस्तै दोस्रो दिन आइतबार कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राही राजु कौसललाई सम्मान गरेको थियो । अन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र अन्तर्गत रुपन्देही र पश्चिम नवलपरासीमा गरी २ लाख १६ हजार जना करदाता छन् ।
‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय कर दिवस–२०८१ मनाइँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij