२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

बुधवार , मंसिर ५, २०८१

  • 673
    Shares
  • 673
    Shares
  • दाङ, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको विषय उठान गरिदिन अनुरोध गरेका छन् ।

    भ्रमणको क्रममा राजधानी शहर निर्माणको लागि चाहिने स्रोत सुनिश्चितदेखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको विषयलाई प्राथमिकतामा राख्न विशेष जोड दिएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले जानकारी दिए । 

    प्रदेशको राजधानी क्षेत्र ग्रामीण अवस्थामा रहेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश राजधानीलाई पर्यटकीय तथा साँस्कृतिक शहरको रुपमा निर्माण गर्ने गरी त्यसको डिजाइन गरिसकेको छ। त्यसको कार्यान्वयनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण समेत गठन गरेको छ । सरकारबाट राजधानी शहर निर्माणको लागि लगानीकर्ताको खोजी गरिरहेको जानकारी दिदै चीन भ्रणको अवसरमा राजधानी शहर निर्माणको लागि लगानीका विषयमा बिषय उठान गरिदिन अनुरोध गरिएको हो ।

    ‘शहर निर्माणका लागि प्रदेश सरकारको बजेटले मात्रै पुग्दैन् । निजी क्षेत्र तथा दातृ निकायको सहयोग चाहिन्छ । त्यसका लागि लगानी खोज्ने काम अघि बढेको छ । प्रधानमन्त्री यूको चीन भ्रमणको एजेण्डामा प्रदेश राजधानी शहर निर्माणको एजेण्डा समावेश होस भन्ने चाहेका छौं’मुख्यमन्त्री आचार्यले भने,‘राजधानी शहर निर्माणको लागि १ खर्ब बजेट लाग्ने अनुमान छ । यसका लागि २० बर्षको अवधि तोकेर गुरुयोजना बनिसकेको छ । अव लगानी खोजेर काम गर्ने चरणमा छौं ।’ 

    त्यस्तै भ्रमणको क्रममा चीनको सिचुआन प्रान्तको छेन्दुबाट सिधै रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको लागि पैरवी गर्ने एजेण्डा पनि प्रस्तावको रुपमा समेटन अनुरोध गरिएको छ ।

    ‘लुम्बिनीमा तिर्थाटनका लागि दैनिक सैयौं संख्यामा चीनिया तथा हजारौं संख्यामा अन्य देशका तीर्थयात्री आउने गर्नुभएको छ । तीर्थयात्रीको सुविधाको लागि चीनको सिचुआन प्रान्तको छेन्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सिधा हवाई उडानको पैरवही गरवीका  लागि आग्रह गरेका छौं’मुख्यमन्त्री आचार्यले भने,‘सिधा हवाई उडान भएको खण्डमा लुम्बिनीमा बेग्लै रौनक छाउने हामीले आशा गरेका छौं ।’