२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

नवौं लुम्बिनी राष्ट्रिय महोत्सव : मेलास्थलमा सचिवालय स्थापना

बिहिवार , मंसिर ६, २०८१

भैरहवा, ६ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को तयारी तीव्र पारिएको छ ।

यही मंसिर २० गतेदेखि रुपन्देहीको भैरहवामा महोत्सव हुँदैछ । सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित मेला स्थलमा सचिवालय उद्घाटन गरिएको छ । सचिवालयको बुधबार एक कार्यक्रमकाबीच संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु भएपछि भैरहवामा चहलपहल बढेको बताए । उनले सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । संघले महोत्सवको आयोजना गरे पनि सबैले यसको अपनत्व लिनुपर्छ’उनले भने, ‘यो महोत्सव हामी सबैको भएकाले यसलाई सफल पार्नुपर्छ ।’

उनले काम गर्ने क्रममा केही कमीकमजोरी भए सल्लाह–सुझाव दिन र त्यसले सुधार गर्न मौका मिल्ने बताए । उनले महोत्सवको तयारीमा सम्पूर्ण टीम लागिपरेको बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले महोत्सवले आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे । ‘सबै एकजुट भएर महोत्सव सफल बनाउनुपर्छ । हामी सबै लाग्नेछौं, ’उनले भने ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवले पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधिहरु चलायमान हुने विश्वास लिइएको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले बताए । महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने संघका सचिव तथा महोत्सवका प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताए । 

संघका कार्यकारी उपसचिव खगेन्द्र शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।