
बुधवार , फाल्गुण २६, २०७७
बुटवल, २६ फागुन ।
नेकपा दलसम्बन्धी सर्वोच्च अदालतको फैसला आदेश र निर्वाचन आयोगको पछिल्लो निर्णयसंगै राजनैतिक तरंगले नयाँ रुप धारण गरेको छ । सर्बोच्चको आदेश र आयोगको निर्णयले नेकपा एमाले र नेकपा माओबादी केन्द्र पुनःस्थापित भइ पूर्ववतः रुपमा ब्युँतिएका छन् ।
केन्द्रमा भएको पछिल्लो घटनाक्रमको राजनैतिक प्रभाव प्रदेशमा पनि पर्ने भएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि लुम्बिनीमा प्रदेश सरकार जोगाउने, भत्काउने र नयाँ बनाउने ३ किसिमका खेलहरु सुरु भएका छन् । राजनैतिक रुपमा एकस्कृत सत्ताधारी दलहरु विभाजन भइसकेपछि अब सरकारको अवस्था के हुने भन्ने विषयमा बिभिन्न आंकलनहरु गर्न थालिएको छ ।
कुल ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशसभामा तत्कालीन नेकपाका ६१ जना सांसद थिए । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब लुम्बिनी प्रदेशसभामा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राजमोका १ जना प्रदेश सांसद रहेका छन् ।
माओवादी केन्द्रले सरकार छोड्ने अवस्था आएमा नेकपा एमालेलाई सरकार टिकाउन कम्तिमा ३ जना प्रदेश सांसदहरु आवश्यक पर्दछ । सरकार जोगाउन एमालेले नेपाली काँग्रेस वा जसपासँग तालमेल गर्नुपर्ने हुन्छ । हालसम्मको अवस्थाको आंकलन गर्दा नेपाली काँगे्रसको प्रतिपक्षमै बस्ने नीति रहेका कारण जसपासँग नै तालमेल गर्नुपर्ने धारणा एमाले नेताहरुको छ । जसपासँग सत्ता समिकरणका लागि पहल भइरहेको नेताहरुको भनाइ छ ।
उता केन्द्रमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएमा प्रदेशमा पनि त्यसको प्रभाव पर्ने र माओवादी केन्द्रसँगै जसपासँग पनि तालमेल गरेर अघि बढ्नुपर्ने अवस्था सिर्जना हुने अनुमान राजनैतिक बृत्तमा गरिएको छ । माओवादी केन्द्रले पनि हाललाई केन्द्रमा के हुन्छ भनेर पर्ख र हेरको नीति अवलम्बन गरेको बुझिन्छ । कांग्रेस र ओवादीबीच पनि कसरी अघि बढ्न सकिन्छ त भनेर अनौपचारिक छलफल भएको बुझिएको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । यस्तो स्थितिमा लुम्बिनीमा एमालेले जनता समाजवादी पार्टीसँग सत्ता समीकरण गर्ने सम्भावना बढेको राजनैतिक बिश्लेषकहरु बताउँछन् । तत्कालका लागि एमालेले सहज बाटो रोज्ने उनीरुको विश्लेषण छ ।
उता तत्कालीन माओवादी केन्द्रबाट प्रदेशसभाको निर्वाचनमा चुनाव जितेका दधिराम शर्मा न्यौपाने पछिल्लो समय एमाले समुहमा लागेका कारण उनको पद धरापमा परेको छ । सांसद न्यौपाने अब पुरानो पार्टी माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको र सांसद पद गए जान्छ तर ओली समूह नछोड्ने बताउँदै आएका छन् ।
अर्को कुरा नेकपाबाट प्रदेशसभामा उपनिर्वाचन मार्फत विजयी भएर आएकी सांसद बिमला खत्रीको पद पनि के हुन्छ भन्ने कुरामा अन्यौल छ । तत्कालिन प्रदेश सभा सदस्य तथा बिमलाका श्रीमान उत्तरकुमार ओलीको दुर्घटनामा परी मृत्यु भएपछि उनी तत्कालीन नेकपामा एमालेको तर्फबाट प्रत्यक्षतर्फ दाङ प्रदेशसभा ३ (२) बाट निर्वाचित भएकी थिईन्।
यसरी लुम्बिनी प्रदेशमा प्रदेश सरकार टिकाउने, भत्काउने र नयाँ समिकरणका साथ सरकार बनाउने ३ वटा खेल सुरु भएका छन् । केन्द्रमा भएका राजनैतिक घटनाक्रमले प्रदेशका पनि प्रभाव पार्ने भएकोले यही हुन्छ भन्ने अवस्था नरहेको तर सबै सम्भावनाहरुका बारेमा गम्भिर ढंगले छलफल भइरहेको नेताहरु बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij