२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कर सप्ताहमा ब्याडमिन्टन : सिद्धार्थ उवासंघका घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि

शुक्रवार , मंसिर ७, २०८१

भैरहवा, ७ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका कृष्ण प्रसाद घिमिरे र अशोक क्षेत्रीको जोडीले कर सप्ताहको अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा राष्ट्रिय कर सप्ताह–२०८१ को अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा घिमिरे र क्षेत्रीको जोडीले राजस्व अनुसन्धान कार्यालय बुटवलका पोहल सिंह राना र तेज कुमार वलीको जोडीलाई २–० सेटले हराएका हुन् ।

राना र वलीको जोडीलाई पहिलो सेट २१–९ तथा दोस्रो सेट २१–१२ ले हराउँदै घिमिरे र क्षेत्रीको जोडीले उपाधिसहित ट्रफी, प्रमाणपत्र र नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
दोस्रो भएका राना र वलीको जोडीले ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यसै गरी आन्तरिक राजस्व कार्यालय भैरहवाका विकल्प भट्टराई र धनिश्वर अर्याल तथा भैरहवा भन्सार कार्यालयका मान बहादुर कुमाल र सन्तोष खड्काको जोडी तृतीय भए ।
तृतीय हुनेले ट्रफी, प्रमाणपत्र र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको खेल संयोजक विकल्प भट्टराईले बताए ।

विजेताहरूलाई कर सप्ताह समापन समारोहका दिन शुक्रबार प्रमुख अतिथि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल लगायतले ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरे ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न सरकारी एवं सरोकारवाला निकाय गरी १६ वटा टीमको सहभागीता थियो ।