२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा महोत्सवमा दर्शकहरुको सहभागीता उत्साहजनक

शनिवार , मंसिर ८, २०८१

बुटवल, ८ मंसिर । रुपन्देहीको तिलोत्तमामा जारी दोस्रो तिलोत्तमा व्यापार महोत्सवमा दर्शकहरुको सहभागिता उत्साहजनक देखिएको छ । तिलोत्तमा व्यापार संघले आयोजना गरेको महोत्सवको तेस्रो दिन शनिबार दर्शकहरुको उल्लेख्य सहभागीता देखिएको छ । शनिबार सार्वजनिक बिदा भएकाले पनि दर्शकहरुको उल्लेख्य चाप देखिएको र शनिबार मात्रै करिब ४० हजारले महोत्सव अवलोकन गरेको सचिवालयले जानकारी दिएको छ ।

शनिबार लोकगायक चन्द्र शर्मा, धनबहादुर गुरुङ, विष्णु सिंजाली, गायिका सपना गाहोलगायतले आ–आफ्नो प्रस्तुति देखाएका छन् । त्यस्तै खुला गायन तथा नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको साँस्कृतिक कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले जानकारी दिए ।

मेलामा ३ सय स्टल सहभागी गराउने भनिए पनि सटल सहभागी संख्या बढेर करिब साढे ३ सय पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक नेत्रप्रसाद न्यौपानेले जानकारी दिए । सहभागी स्टलहरुमा सामान किनमेल गर्नेहरुको पनि शनिबार दिनभरजसो घुइँचो थियो । 

संघले ‘व्यवसायिक दक्षता अभिवृद्धि र स्वरोजगार ः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने मूल नाराका साथ मंसिर ६ गते देखि १८ गतेसम्मका लागि तिलोत्तमा व्यापार महोत्सव–२०८१ एवं कृषि तथा पर्यटन महोत्सव आयोजना गरेको हो । महोत्सवमा १० करोड बराबरको कारोबार तथा ३ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकहरुले राखेका छन् ।

महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।