२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रमुख कर अधिकृत पोख्रेल भन्छन्–देशमा चमत्कारिक लिडरको खाँचो छ

शनिवार , मंसिर ८, २०८१

भैरहवा, ८ मंसिर । आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले प्रतिभाशाली लिडर बन्नका निम्ति प्रशिक्षण दिएका छन् । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) का विद्यार्थीहरुलाई एक कार्यक्रममा उनले परम्परागत लिडर भन्दा फरक ढंगले सोच्ने सृजनशील लिडर बन्नका निम्ति जोड दिएका छन् । उनले भने, ‘देशमा चमत्कारिक लिडरको खाँचो छ । तर, त्यस्तो लिडर पाउन सकेका छैनौं ।’ 

रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा आयोजित एलएसडीटीको १३७ औं श्रृंखलाका प्रमुख अतिथि समेत रहेका पोख्रेलले एक प्रसंगमा निजामती सेवाका कर्मचारी पनि सेवाग्राहीका लागि फरक ढंगले सेवा दिन सक्षम हुनुपर्ने आवश्यकता रहेको बताए । 

आन्तरिक राजस्व कार्यालयमा कुनै पनि अप्ठ्यारो भएमा आफूलाई सिधै सम्पर्क गर्न समेत उनले आग्रह गरे । प्रेमराज पोख्रेल व्यवसायीमैत्री अधिकृतका रुपमा चिनिन्छन् । उनी यसअघि आन्तरिक राजस्व कार्यालय भैरहवामा कर अधिकृतका रुपमा सेवा दिइसकेका छन् । पोख्रेलले एलएसडीटी तालिम कक्षा मात्र नभइ यो अभियान समेत भएको अनुभव सुनाए ।

WhatsApp Image 2024-11-23 at 9.35.30 PM (1).jpeg

प्रत्येक शनिबार बिहान ८ बजेदेखि सञ्चालन हुने कार्यक्रममा हुने उपस्थितिले आयोजकलाई हौसला मिलेको भन्दै कार्यक्रमका अध्यक्ष एलएसडीटीका संस्थापक सदस्य सिद्धार्थ सञ्जाल, रुपन्देहीका सह–कोषाध्यक्ष हरिश सेठियाले सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम संयोजक एलएसडीटी युथका संयोजक प्रशान्त ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एलएसडीटी सदस्य अप्टिमिस्ट क्लब अफ लुम्बिनीका अध्यक्ष बिमा सेवाका प्रशिक्षक गोबिन्द गिरीले गरेका थिए । गिरीले एलएसडीटी विगत ४  वर्षदेखि सञ्चालन हुँदै आएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पदाधिकारीका निम्ति सञ्चालित तालिम अहिले सबैका निम्ति लोकप्रिय हुँदै गएको उनले बताए । तालिमको प्रारम्भ ध्यानबाट हुने गर्दछ । बालबालिकाबाट सामूहिक राष्ट्रिय गान गरेर कार्यक्रमको औपचारिक सत्र सुरु हुँदै आएको एलएसडीटी व्यवस्थापन समितिका सदस्य मदन प्रसाद पौडेलले जानकारी दिए ।

एलएसडीटीको स्थापना विजय पाण्डेले गरेका हुन् । यो निःशुल्क सञ्चालन हुन्छ । यसको व्यवस्थापन स्वेच्छिक योगदानबाट हुँदै आएको पौडेलले बताए । विजय पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व महासचिव हुन् ।