
सोमवार , मंसिर १०, २०८१
काठमाडौं, १० मंसिर । सरकारले सर्वसाधारणका लागि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरुको भीड बढेको छ । परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आइतबारदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भीड लागेको हो ।
सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरुलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो । धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन् । सरकारले धरहरा व्यवसायि रुपमा सञ्चालन गर्नु स्वागतयोग्य भए पनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन् । आइतबार धरहरा चढ्न पाउँदाको अनुभव सुनाउँदै काभ्रेकी विष्णुमाया गिरीले खुशी व्यक्त गरिन् ।
आफू सानो हुँदा काठमाडौंको बानेश्वर र कोटेश्वरमा केही घर मात्र रहेको सम्झिँदै उनले भनिन्, ‘पहिले त बानेश्वर र कोटेश्वरमा दुईचार घर थिए । आज धरहराबाट हेरेको त यत्रो मानिस बसेका रैछन् । पैतला टेक्ने ठाउँ नै छैन । पाँचतले घरसम्म चाहीँ पुगेको थिए । आज पहिलोपटक अग्लो घर चढ्न पाएँ । धरहरा चढ्न भनेर पाँचचोटी आइसके । जेठदेखि आउन थालेको आज बल्ल चढ्न मिल्यो ।’
आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उनले धरहरालाई व्यवसायका रुपमा चलाउन नहुने उनले बताइन् । त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउने बताइन् ।
उनले भनिन्, ‘पहिलोपटक धरहरा चढेको रमाइलो अनुभव भइरहेको छ । तर, सरकारले धेरै नै शुल्क तोकेकोमा नरमाइलो समेत लागिरहेको छ । सबैले त पैसा तिर्न सक्नुहुन्न नि । त्यही भएर यो रेट चाहीँ कम गरिदिनुपर्यो । छुट दियो भने अझै धेरै मानिसहरु आएर चढ्न पाउनुहुन्छ नि त’
२०७२ सालको भूकम्पमा भत्केको धरहरा भन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij