
बुधवार , मंसिर १२, २०८१
भैरहवा, १२ मंसिर । रुपन्देहीको रोहिणी नदी किनारस्थित जग्गामा नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय र आधुनिक डिपो निर्माणका लागि डीपीआर बनाउन सम्झौता भएको छ । आयल निगम लि. भण्डारण क्षमता वृद्धि परियोजना र काठमाडौं विश्वविद्यालय, (कन्सल्टेन्सी सेवा) बीच ओमसतिया र रोहिणी गाउँपालिकास्थित निगमको जग्गामा कार्यालय र डिपो निर्माणका लागि डीपीआर तयार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बुधबार आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजना, रुपन्देहीका प्रमुख तथा निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौं विश्वविद्यालय (केयू) कन्सल्टेन्सी विभागका प्रमुख विवेक बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
डीपीआरका लागि निगम, भण्डारण क्षमता वृद्धि परियोजना र केयू, कन्सल्टेन्सी सेवाबीच रु. १ करोड ९५ लाख ७६ हजार ५ सय ७८ रुपैयाँमा सम्झौता भएको उपनिर्देशक यादवले जानकारी दिए । उनका अनुसार आगामी ६ महिनाभित्र डीपीआर हस्तान्तरण हुनेछ । उनले केयूको विज्ञता यो परियोजनामा प्रयोग गर्न पाउँदा खुसी भएको बताए । केयूको डीपीआरअनुसार तयार हुने परियोजन दिगो र आधुनिक सुविधासम्पन्न हुनेमा विश्वस्त रहेको यादवले बताए ।
रोहिणी नदी किनारमा रहेको २१ विगाह जग्गामा आधुनिक डिपो निर्माणका लागि नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८१–०८२ को नीति कार्यक्रममा नै बजेट समावेश गरेको छ । परियोजनाका अनुसार यहाँ आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज टंयाक समेत बनाइनेछ ।
निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी करिब ३ अर्ब २० करोड रुपैयाँको लागतमा आयल निगमले रोहिणी नदी किनारमा सुविधासम्पन्न आधुनिक डिपो बनाउँदैछ । तीन हजार किलोलिटर क्षमताको तीन ठूला भर्टिकल ट्यांकीमा कूल ९ हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह बन्नेछ । त्यस्तै ७ सय ६० किलोलिटर अटाउने तीनवटा भर्टिकल ट्यांकीमा कूल २ हजार २८० किलोलिटर क्षमताको पेट्रोल भण्डारण गृह र २ सय ५० किलोलिटर क्षमताको दुई वटा भर्टिकल ट्यांकीमा ५ सय किलोलिटरको मट्टितेल भण्डारण गृह बन्नेछ ।
भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको तिलोत्तमाको भलवारीमा करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ । यहाँ पाँच सय १९ किलोलिटर पेट्रोल, ३ हजार ४० किलोलिटर डिजेल र १ सय ४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्यांकर छन् । बढ्दो खपतको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून रहेको निगमको भनाइ छ । अहिलेको भण्डारण क्षमताले पेट्रोलको दुई दिन र डिजेलको ५–६ दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको उपनिर्देशक यादवले जानकारी दिए । डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीयबासीको निरन्तरको माग र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई सम्बोधन गर्नका लागि डिपो स्थानान्तरण नै सबैभन्दा उपयुक्त विकल्प भएकाले रोहिणी नदी किनारमा आधुनिक डिपो निर्माण गर्न लागिएको उनले बताए ।
काठमाडौं विश्वविद्यालयका डीन मनिष पोखरेलले निगमले केयूलाई विश्वास गरेको भन्दै खुसी व्यक्त गरे । उनले केयूको इमान्दारिता र मिहिनेतलाई विश्वास गरिदिन आग्रह गरे ।
केयू कन्सल्टेन्सी विभागका प्रमुख विवेक बरालले निश्चित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij