२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देही उद्योग संघले तीन दिन स्थापना दिवस मनाउने

बुधवार , मंसिर १२, २०८१

बुटवल, १२ मंसिर । रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवस तीनदिने विविध कार्यक्रम गरेर मनाउने भएको छ । संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणि भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष सापकोटाले संघको इतिहास तथा स्थापना दिवसमा मनाइने कार्यक्रमबारे जानकारी गराएका थिए । 

वि.सं.२०३५ साल मङ्सिर १५ गते रणबहादुर शाहको नेतृत्वमा स्थापित संघ ४७ औं वर्षमा आइपुगेको तीनदिने कार्यक्रम गरिने उनले बताए । पहिलो दिन १३ गते संघकै सदस्यहरुलाई क्रियाशील बनाएर सहभागिता गराउने गरी अन्तर सदस्य उद्योगी ब्याडमिन्टन प्रतियोगिता बुटवल ७ शिवनगरस्थित न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको कभर्ड हलमा गरिने, १४ गते बिहान संघको सचिवालयमा रक्तदान र १५ गते बिहान मूल समारोहको आयोजना गरिने र मूल समारोहमा प्रमुख अतिथि  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित विशिष्ट अतिथिहरुमा लुम्बिनी प्रदेशका उद्योग यातायात तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिएनआईका अध्यक्ष अध्यक्ष राजेश कुमार अग्रवाल, चेम्बर अफ कमर्श, उद्योग वाणिज्य संघ केन्द्र, प्रदेश र जिल्लाका नेताहरु आउने उनले बताए । 

मूल समारोहमा अग्रज उद्यमी तथा विभिन्न क्षेत्रका उत्कृष्ट उद्योगीहरुको सम्मान, नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान, छात्रवृत्ति वितरणका साथै उद्योग डाइरेक्टरी २०८१ विमोचन गरिने उनको भनाइ थियो । 

संघले २०५७ सालमा स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । यो पुरस्कारबाट हालसम्म २४ जना पत्रकारहरु पुरस्कृत भएका छन् । यस वर्ष पनि मंसीर १५ गते ४७ औं स्थापना दिवसको अवसर पारेर रु.४७ हजार १ सय ५५ राशीको उत्कृष्ट औद्योगिक पत्रकरिता पुरस्कार वितरण गरिने अध्यक्ष सापकोटाले जानकारी दिए । 
यी सबै कार्यक्रमका लागि अलग–अलग संयोजनको जिम्मेवारी तोकिएको छ । अन्तर सदस्य उद्योगी ब्याडमिन्टन प्रतियोगिताका लागि खेल संयोजक बलबहादुर गोदार (बाल्दार), उद्योगी सम्मान तथा पत्रकारिता पुरस्कार छनौट समितिमा निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, रक्तदान कार्यक्रमको संयोजकमा कार्यसमिति सदस्य राजु घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।
संघले काठमाडौं बाहिर प्रथम पटक वि.सं. २०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो । त्यसपछि १५ औं पटक औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र काठमाडौं बाहिर निर्माण भइरहेको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा यसलाई व्यवस्थित गर्ने काम संघकै अगुवाइमा भएको उनले जानकारी दिए । 

संघले उद्योगहरूका लागि अपरिहार्य रहेको सीपयुक्त जनशक्ति उत्पादन र उचित व्यवस्थापनको काम अघि बढाएको, दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) सँग दक्ष जनशक्ति उत्पादन, क्षमता अभिवृद्धि र मानव श्रोत व्यवस्थापन लगायतका विषयहरूमा सम्झौता गरी संघको सचिवालयमा सीप विकास इकाईको स्थापना गरी विगत दुई वर्षदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न खालका सीपमूलक तालिम र कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष सापकोटाले जनाए ।

त्यसै गरी संघले २०६२ सालमा परिकल्पना गरेको मुटु अस्पताल स्थापनाको अभियान स्वरूप बुटवलमा २०७० साल पुस १० गतेदेखि संघको संरक्षकत्वमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनमा रहेको र मुटु अस्पताल काठमाडौं बाहिर मुटु रोगको उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनले बताए । 

अध्यक्ष सापकोटाले अहिले बढ्दो आर्थिक संकटका कारण उद्योग धन्दा बन्द हुँदै गएका छन् भने सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन क्षमतामा पनि ह्रास आएको, सम्पन्न घरानाबाट पनि नयाँ पिँढी धमाधम विदेशमा जान थालेको, दक्ष जनशक्तिले देश छाड्दा यहाँको उत्पादनमा पनि समस्या पर्न थालेकोले बजार पनि चलायमान हुन नसकेको बताउँदै आज २४ घण्टा चल्ने उद्योगहरू ८ घण्टा पनि चल्न सक्ने अवस्थामा पुग्दा पनि सरकार गम्भीर नभएकोमा चिन्ता व्यक्त गरे ।

उनले उद्योगीहरुलाई अब कसरी अगाडि बढ्ने भन्ने संकट आइलागेको छ, यस्तो जटिल अवस्थामा पनि स्वदेशी उत्पादन र उद्योगको प्रवद्र्धनमा सञ्चार क्षेत्रमा निरन्तर सहयोग भएको बताउँदै यस्तो अवस्थामा हामीले जेनतेन धानेका उद्योग टिकाउने र जेनतेन मिडिया चलाउनुपर्ने बाध्यतामा सहकार्य गरेर कसरी समस्याको क्रमिक समाधान निकाल्न सकिन्छ भन्ने विषयमा सुझाव सल्लाहका लागि अनुरोध गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सबै क्षेत्रमा बढ्दै गएको समस्यालाई सबैको सहकार्यका कम गर्न सकिने बताएका थिए । संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले संघले पत्रकार महासंघ र यहाँका सबै सञ्चारकर्मीसँग निरन्तर हातेमालो गरेर जाने बताए ।