
बिहिवार , फाल्गुण २७, २०७७
भैरहवा, २७ फागुन ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६ गुलरियाका २६ वर्षिय दिनेश लोधको हत्या गरी फालिएको अवस्थामा गत मंसिर १७ गते बिहान साढे ७ बजे शव फेला पर्यो । गुलरियास्थित पर्सा कलौनी सडकखण्डको पुर्व किनारमा हत्या गरेको अवस्थामा शव फेला परेको भन्ने सूचना प्रहरीलाई प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय सुर्यपुराको टोली घटनास्थलमा पुग्यो । घटनाको प्रारम्भिक अनुसन्धान अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट तालिम प्राप्त कुकुर समेत ल्याएर प्रहरीले अनुसन्धान गर्यो ।
दिनेशको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले घटनाको ३ महिनापछि पक्राउ गर्न सफल भएको छ । घटनामा संलग्न रहेको आरोपमा रामवरण यादवलाई मंगलबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका–७ शिवगढियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । डीएसपी थापाका अनुसार मृतक दिनेशको रामवरणको श्रीमतीसंग अनैतिक सम्बन्ध रहेको कारण उनले दिनेशको हत्या गरेको स्वीकारेका छन् । आफ्नी श्रीमतीसंग दिनेशको अनैतिक सम्बन्ध रहेको कारण उनको हत्या गरेको रामवरणले बताएको प्रहरीले जनाएको छ ।
‘घटनास्थलबाट उठाइएका सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषण र स्थानीयको समेतको भनाइको आधारमा दिनेशको हत्या रामवरण यादवबाट भएको खुल्न आएको छ, ’थापाले भने । यादवलाई रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी ५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा पछिल्लो समय भएका हत्याका घटनामा संलग्नलाई प्रहरीले कानूनी दायरामा ल्याउन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेल पछिल्लो समय सम्पत्तिको लोभ र यौन विचलनका कारण अपराधिक घटना घट्ने गरेको बताउँछन् । घटनापछि प्रहरीले गरेको अनुसन्धानका क्रममा छोटो समयमा सम्पत्ति हात पार्ने दाउमा लाग्दा तथा यौन विचलन (सेक्स) मा कुरा नमिलेपछि अन्त्यमा हत्यासम्मको योजनामा पुगेर हत्या गर्ने गरेको उनको भनाइ छ । एसपी पोखरेलका अनुसार मोबाइल तथा इन्टरनेटको गलत प्रयोगका कारण पनि घटना घट्ने गरेका छन् ।
‘हातहातमा मोबाइल तथा इन्टरनेटबाट गलत क्रियाकलापमा युवायुवतीको लत बस्ने गरेको छ, मोबाइलमा हेरिने फिल्म तथा भिडियो अनुसार व्यवहारमा लागू गर्न खोज्दा थुप्रै घटना घटेको पाएका छौं । प्रहरी उपरीक्षक पोखरेल भन्छन, ‘पछिल्लो समय त कम उमेरमै बालबालिका यौनजन्य क्रियाकलापमा लाग्ने र कुरा नमिलेपछि अपराधिक क्रियाकलापमा समेत संलग्न भएको पाइएको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij