
शनिवार , मंसिर १५, २०८१
भैरहवा, १५ मंसिर । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले १९ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । शुक्रबार र शनिबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ स्थित नरपानी सुपा–देउराली रिसोर्टमा भएको वार्षिक कार्ययोजना गोष्ठीले १९ बुँदे कार्ययोजना तय गरेको संगठनका अध्यक्ष राम प्रसाद पोखरेलले बताए ।
संगठनको ११ औं वार्षिक साधारणसभा पछि वार्षिक कार्ययोजना गोष्ठी भएको महासचिव बाल बहादुर घिमिरे (सुनिल)ले बताए । घिमिरेका अनुसार प्रत्येक वर्ष संगठनको साधारणसभा सकेपछि जिल्ला बाहिर पुगेर कार्ययोजना गोष्ठी (बैठक) हुँदै आएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यले पर्यटकीय स्थलहरुमा पुगेर वार्षिक कार्ययोजना बनाउँदै आएका छौं, ’उनले भने ।
कार्ययोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र दिगो रुपमा सञ्चालन गर्न यस क्षेत्रका ट्राभल एजेन्सी तथा अन्य सम्बन्धित निकाय एवं स्थानीय सरकारसँग छलफल एवं अन्तरक्रिया गर्ने, व्यवसायिक दर्ता तथा नविकरणमा विशेष पहल गरी नयाँ दर्ता एवं नविकरणलाई प्राथमिकतामा राख्ने, घर भाडा, घर बहाल कर एवं व्यवसायीहरुका विभिन्न समस्याहरु समाधानका लागि निरन्तर लाग्ने र सम्बन्धित निकायमा पहल गर्ने, सिद्धार्थ सडक खाना महोत्सव–२०८१ भव्यताका साथ सफल गर्ने र महोत्सवका लागि स्थानीय सरकार र विभिन्न संघ–संस्थासँग सहयोग लिइ अघि बढ्ने, होटल तथा रेष्टुरेण्टको गुणस्तर निर्धारण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समन्वयमा संगठनमा आबद्ध व्यवसायीहरुलाई खाद्य शुद्धता सम्बन्धी तालिम सञ्चालन गर्ने र जिरो प्वाइन्ट बसपार्कको व्यवस्था गर्न सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ बसपार्कलाई कार्यान्वयनमा ल्याउने कार्यका दागि स्थानीय तहसँग समन्वय गरी छलफल तथा अन्तरक्रिया गर्ने समावेश छ ।
त्यस्तै नववर्ष २०८२ को क्यालेण्डर प्रकाशन गर्ने, संगठनका सम्पूर्ण सदस्यहरुलाई व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वप्रति लगाव हुने गरी अभिमुखीकरण तालिम सञ्चालन गर्ने, पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले रात्रिकालिन बजारको व्यवस्थापन गर्न विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी संगठनको अगुवाइमा त्यस्तै कार्ययोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने, होटल व्यवसायीहरुको गुनासो तथा समस्याहरु उपर छलफल गर्न सम्बन्धित निकायहरुसँग पहल तथा पत्राचार एवं डेलिगेशन जाने, बेलहिया नाका र सिद्धार्थनगर बजारभित्र ट्राफिक जाम, अव्यवस्थित पार्किङ र ठेला व्यवस्थापन गरी नगरको सौन्दर्यकरण बढाउन स्थानीय सरकार, ट्राफिक प्रहरी कार्यालय र अन्य निकायहरुसँग संस्थाको अगुवाइमा पहल गर्ने र कुक, वेटर, हाउसकिपिङ तथा पर्यटकीय गाईड लगायतका दक्ष जनशक्ति उत्पादन गर्न तालिम व्यवस्थापनको लागि सम्बन्धित निकायबाट व्यवस्था गर्ने उल्लेख छ ।
त्यसै गरी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपालका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न निकायहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने, नयाँ वर्ष, दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने, वृक्षारोपण, सरसफाई, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम सञ्चालन गर्ने, कर शिक्षा सम्बन्धि कार्यक्रम आयोजना गर्ने, व्यवसायलाई मर्यादित गराउने र होटलमा हुने विभिन्न किसिमका घटनाहरुलाई मध्यनजर गर्दै आफ्नो व्यवसायिक प्रतिष्ठानमा सिसिटीभी क्यामेरा जडान गर्ने कार्ययोजनामा समावेश छ । सम्पूर्ण कार्यक्रमका लागि संगठनले जिम्मेवारी समेत तोकेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
बैठकमा बोल्दै संगठनका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले संस्थाले व्यवसायीको हकहितसँगै सामाजिक कार्य गर्दै आएको बताए । उनले बैठकले निर्णय गरेका योजना पूर्ण रुपमा कार्यान्वयन गर्न सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनले आफूहरुलाई उत्साहित बनाएको बताए । उनले होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही अत्यन्तै राम्रो तरिकाले अघि बढेको बताए ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले स्थानीय र राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गरे । उनले भने, ‘होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीबीच नङ र मासुको जस्तो सम्बन्ध छ ।’
त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका पूर्वअध्यक्ष गणेश प्रसाद बेल्बासेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन भए सबैलाई फाइदा पुग्ने बताए ।
संगठनका सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर) ले बेलहिया नाकालाई जति व्यवस्थित गरे त्यति नै धेरै पर्यटक आउने बताए ।
सल्लाहकार केशवराज ज्ञवालीले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । सल्लाहकार अर्जुन कुमार गिरीले एकजुट भएर अघि बढ्दा संस्था अझ बलियो हुने बताए ।
संगठनका उपाध्यक्ष नरेन्द्र खनालको स्वागत, उपाध्यक्ष दिनबन्धु खनालको धन्यवाद ज्ञापन तथा महासचिव बाल बहादुर घिमिरे (सुनिल) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij