२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थतन्त्र सुधारका लागि सरकारले विशेष अभियान चलाएको छ : अर्थमन्त्री पौडेल

शनिवार , मंसिर १५, २०८१

रूपन्देही, १५ मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि सरकारले विशेष अभियान चलाएको बताएका छन् । उनले सरकार अर्थतन्त्र सुधारका लागि विशेष अभियानमा लागेको उल्लेख गर्दै उद्योगी–व्यवसायीलाई लगानी गर्न आग्रह गरे । 

रूपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नीति र नेतृत्वमा स्थिरताका लागि यो सरकार बनेको उल्लेख गर्दै लगानीमा जुट्न आग्रह गरे । अर्थमन्त्री पौडेलले विगतका अस्थिर सरकारकै कारण देशमा आर्थिक समस्या बढ्दै गएको प्रष्ट पार्दै अब भने विगतमा देखिएका समस्या समाधान गर्दै जाने बताए ।

वर्तमान सरकार निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने बताउँदै उद्योग क्षेत्रका समस्या समाधान गर्ने गरी सरकार अघि बढेको उनको भनाइ छ । उनले अहिलेको सरकार पूर्ण कार्यकाल चल्ने बताए । बजारमा सरकार परिवर्तनको हल्ला चले पनि त्यो पूर्ण रुपमा निराधार भएको अर्थमन्त्री पौडेलले बताए ।

वर्तमान सरकारलाई पूर्ण कार्यकाल चलाउनका लागि कांग्रेस–एमाले पूर्ण प्रतिवद्व छन्, यो सरकार पनि परिवर्तन हुन्छ र गर्न सकिन्छ भन्नेमा भ्रममा कोही नपरे हुन्छ यो चेतावनीका साथ भन्न चाहन्छु ’उहाँले भने, ‘यो समीकरण आउने चुनावसम्म जान्छ, पर्दाभित्रै र बाहिरबाट सरकार फेर्ने चलखेल नगरे हुन्छ, अस्थिरताबाट लाभ लिनेहरूलाई सबैले चिनिसकेका छन् ।’
मन्त्री पौडेलले यो सरकार फेर्ने असम्भव भ्रममा नलाग्न र भ्रमको खेतीमा नरमाउन आग्रह गरे । 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले औद्योगिक नीति र स्थिर सरकार नहुँदा समस्या परिरहेको बताउँदै सरकारले विशेष ध्यान दिन आग्रह गरे । 

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रको साथ चाहिने बताउँदै उत्पादनमुखी र निर्यातमुखी उत्पादनमा विशेष ध्यान दिन सुझाव राखे । 
रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अहिले सबै उद्योगले ४० प्रतिशत पनि उत्पादन गर्न नसकेकाले त्यसको अवस्था सुधार्न कार्यान्वयनमुखी उद्योग नीति ल्याउन सरकारलाई आग्रह गरे ।