
शनिवार , मंसिर १५, २०८१
ब्यङ्ग्य सिर्जनाहरूमा अलिकति हाँसो मिसाउनसक्ने हो भने त्यो हास्यव्यङ्ग्य साहित्य हुनजान्छ । यस्ता सिर्जनाहरूले पाठकलाई छिटो प्रभाव पार्न सक्दछन् । अझ कलात्मक प्रस्तुति पनि थप गर्नसक्ने हो भने रचना कालजयी बन्नसक्दछ । पढ्दैगर्दा हाँस्दाहाँस्दै पाठक गम्भीर बन्नसके भनेमात्र हास्यब्यङ्ग्य सफल भएको मान्न सकिन्छ । तर, अहिलेको मान्छे निकै सम्बेदनहीन बन्दै गएको छ । हत्या, हिंशा, बलात्कार तथा भ्रष्टाचारजस्ता घटनाहरू पनि मानिसका निम्ति सामान्यजस्तै भइसकेका छन् ।
यही कारणले पनि हास्यब्यङ्ग्य साहित्यले पाठक पाउन सकेको छैन । या यसो भन्दा पनि गलत हुदैन कि छिटफुटरुपमा बाहेक पछिल्लो समय नेपाली साहित्यमा हास्यब्यङ्ग्य सिर्जना लेखिएकै छैनन् । पठन–संस्कृति कम हुँदै गएकाले गर्दा पनि यस्तो भएको हुनसक्छ । साथै पछिल्लो समय ‘स्ट्यान्डअप कमेडी’, ‘क्यारिकेचर’ आदि माध्यमबाट व्यङ्ग्य प्रस्तुत हुनुले पनि यसलाई कमजोर बनाएको हुनसक्दछ ।
यति भन्दै गर्दा केही पत्रपत्रिका र अनलाईनहरूमा हाँस्यव्यङ्ग्य नलेखिएको पनि होइन । तर, ती पर्याप्त छैनन् । नेपाली हास्यव्यङ्ग्य साहित्यमा यस्तो खडेरीको मौषम चलिरहँदा साहित्यकार उमेशचन्द्र रिजाल भने हास्यव्यङ्ग्य कृति “नेपाल व्रतकथा” लिएर आउनु भएको छ । यस मानेमा उहाँको आँट र साहसलाई मान्नै पर्दछ ।
लेखक र पुस्तकको परिचय
वि.सं. २०६८ सालमा “उमेश रिजालका कविता” नामक कवितासङ्ग्रहमार्फत् नेपाली साहित्यमा कविको रुपमा दर्ज हुनुभएका उमेशचन्द्र रिजाल वि.सं. २००९ सालमा पाँचथरमा जन्मिनु भई भैरहवा, रूपन्देहीमा स्थायीरुपमा बस्दै आउनु भएको छ । पछिल्लो समय उहाँ हास्यव्यङ्ग्यलेखनका क्षेत्रमा सक्रिय हुनुहुन्छ । “नेपाल व्रतकथा” उहाँको पछिल्लो कृति हो । यस कृतिकमा नेपाली राजनीति र समाजभित्र देखापरेका विकृति र विसङ्गतिमाथि प्रहार गरिएको छ । प्रस्तुत पुस्तक हिन्दूहरूको लोकप्रिय ग्रन्थ “स्वस्थानी व्रतकथा”को शैलीमा लेखिएको हुँदा पाठकलाई पढ्न पनि आनन्द लाग्दछ ।
लुम्बिनी खबर सञ्चार गृह प्रा.लि.द्वारा प्रकाशनमा आएको यो कृतिमा भाग १ र भाग २ गरी दुई खण्ड समावेश गरिएको छ, जसमा भाग एक अन्तर्गत ७० अध्याय र भाग दुई अन्तर्गत् ३४ अध्याय छन् । कथा भगवान शिवजी र नारदमुनीको वार्तालापबाट सुरु गरिएको छ भने अधिकांश अध्यायमा नारद र पार्वतीवीचको संवाद प्रस्तुत गरिएको छ । हिमालयपुत्री पार्वतीले औधि मनपराएको नेपाल देशको भ्रमण गर्दछन् नारदमुनि । आफूले देखेका कुराहरू माता पार्वतीसमक्ष सुनाउँनुपर्दा नारद निकै दुःखी हुन्छन् किनकि उनले नेपालबारे सुनाउनमिल्ने सुखद् विषय केही पनि पाउँदैनन् । यसै कथावस्तुको सेरोफेरोमा कृतिको विषयवस्तु घुमेको देखिन्छ ।
कृतिभित्र प्रकाशकीयका साथै लेखकको भनाइ पनि समावेश गरिएको छ । तर, भूमिका भने छैन । आवरणमा शिव, पार्वति र नारदमुनिको फोटो देखाइएको छ । त्यसैको ठीक तल नेपालको नक्सा पनि समाविष्ट छ, जसलाई शाक्य डिजाइनरले तयार पार्नु भएको हो । २६६ पृष्ठको यस कृतिको मूल्य रु. ५०० राखिएको छ ।
कृतिभित्रको विषयवस्तुहरूको सारसंक्षेप
कृतिको पहिलो अध्ययमा नै नेपालका सस्याहरू देखाइएको छ । नारदमुनी र शिवजीको संवादमा नेपलमा बन फडानी, जीवजन्तुको तस्करी, लोडसेडिङ्, पेट्रोलियम पद्धार्थको हाहाकारजस्ता विविध समस्याहरु प्रस्तुत गरिएको छ । यही क्रममा संवाद नारदमुनी र पार्वतिसँग पनि हुँदै गर्दछ । क्रमशः काठमाठौँं प्राकृतिक सम्पदाहरू नष्ट गर्दै कङ्क्रिटको सहरमा रुपान्तरण भएको, बाग्मतीमा फोहोर जम्मा भएर निकै प्रदुषित बन्दै गएको कुरा पनि उजागर हुन्छ ।
कृतिमा रहेको कूल १०४ अध्यायमा लेखकले नेपालको राजनीति, प्राकृतिक सम्पदामाथिको अतिक्रमण, मौलाउँदो भ्रष्टाचार, सांस्कृतिक विचलन, निजी क्षेत्रको शोषण, यातायात क्षेत्रको दुरावस्था, शिक्षा क्षेत्रको हरिविजोग, स्थानीय निकायहरुको लाचारीपन, ब्यूटिपार्लर, बोर्डिङ र बैंकमा व्याप्त बेथितिजस्ता विषयवस्तुहरूलाई छर्लङ्ग पार्नु भएको छ । यसका अतिरिक्त लोडसेडिङ् समस्या, लुम्बिनीको कङ्क्रिटीकरण, रातको ठमेलव्यापार, गरिबीको बाध्यता, स्वास्थ्य संस्थाहरूमाथिको राजनीतिकरणजस्ता विविध पक्षहरूमाथि पनि कटाक्ष प्रस्तुत गरिएको छ । अतः कृति विषयवस्तुका दृष्टिले बहुआयामिक बनेको छ । कृतिले समेटेका केही खास विषयवस्तुहरुलाई निम्नानुसार चर्चा गरिएको छ ।
राजनैतिक विसङ्गति
कृतिका अधिकांश अध्यायहरुले २००७ सालदेखिको नेपाली राजनीतिमा देखापरेका उतारचढावहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नु भएको छ । नेताहरूले पटकपटक मुलुक बनाउने अवसर पाउँदापाउँदै पनि त्यसको सदुपयोग गर्न नसकेको आरोप छ लेखकको । २०४६ सालमा प्रजातन्त्रको पुर्नरागमनपछि भएको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याए पनि तयसलाई थेग्न नसकेको कुरा उल्लेख गर्नु भएको छ । साथै त्यहीँबाट नेपालमा प्रजातन्त्रको हविगत राम्रो नभएको कुरा पनि उल्लेख गर्नु भएको छ ।
जङ्गलबाट उदाएको भयङ्कर शक्तिको रुपमा माओवादी शक्तिलाई चत्रित गर्दै त्यस्तो शक्तिले पनि मुलुक निर्माणमा कुनै भूमिका खेल्न नसकेको आरोप लेखकको छ । यसैगरी नारद बस्ने होटलमा कोठा नंं. ६०१ को प्रसङ्ग उठाएर संविधान निर्माणका निम्ति खटिएका ६०१ सांसदहरूको लुटलाई उजागर गरिएको छ कृतिमा । ट्याक्सी नं. १२ ले १२ बुँदे सम्झौतालाई सङ्केत गरेको छ । अर्काे प्रसङ्गमा यसले १२ वर्षे माओवादी जनयुद्धलाई पनि सङ्केत गरेको छ । २०६२÷६३ को जन आन्दोलनपछि नेपाली जनताको इच्छा र आकाङ्क्षामा नेताहरूद्वारा कुठाराघात भएको आरोप लेखकको छ । सरकार निर्माण गर्ने र ढाल्ने खेलमा अल्झिँदा मुलुकको आर्थिक रुपान्तरणको मुख्य एजेन्डा ओझेलमा परेको निश्कर्ष छ । वास्तवमा यही कारणले गणतन्त्र ‘गाणतन्त्र’ बनेको ठम्याइ पनि गरिएको छ । कम्युनिष्ट पार्टीहरूले पनि सत्तामा पुगेपछि खासै केही गर्न नसकेको नेताहरूको र बालहट (जिद्दी) र स्वार्थीपनाले राजनैतिक दललाई चिराचिरा पारेकोमात्र होइन अवसर प्राप्त गर्दा पनि देश बनाउन नसकेको आरोप छ ।
बाहिर जनतालाई दोखाउँदा आपसमा विरोधीको रुपमा प्रस्तुत गरे पनि सत्ताको सन्दर्भमा दलहरू आपसमा मिलेर देशको ढिकुटीमा खेलवाड गरेको सन्दर्भलाई तार्किक रुपमा प्रस्तुत गरिएको छ । लामखुट्टेले बरु कानमा भुनभुनाउँदै सङ्केत गरेर टोक्न आउँछ तर, नेताहरूले त थाहै नदिई जनता लुटेको कुरालाई रोचक रुपमा प्रस्तुत गरिएको छ । उत्तर, दक्षिण, अमेरिका र पश्चिममा मुलुकहरूले देशको राजनीतिमा समेत प्रभाव पारेको कुरा कतै प्रतीकात्मक त कतै स्पष्टैसँग व्यङ्ग्यात्मक शैलीमा उदाङ्ग पारिएको छ । बारबार दिल्लीको विरोध गर्नेहरूले नै दिल्लीमै गएर किन सम्झौता गरे? लेखक गहिरो प्रश्न गर्नुहुन्छ । आम नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्रको देश भ्रमणले पनि त्रसित राजनैतिक दलको हैसियत प्रष्ट भएको भन्ने लेखकको तर्क छ । उमेर ढल्किँदै गए पनि राजनीतिबाट अवकास नलिने बृद्ध नेताहरूलाई झटारोसमेत हान्न भ्याउनुभएको छ लेखकले ।
सामाजिक कुरीति
आम मान्छेले ठमेलमा देह व्यापार गर्ने युवतिको सुन्दरता मात्र देख्दछन् । तर, लेखकले उसका बाध्यता पनि प्रस्तुत गर्नु भएको छ । कृतिमा महिला अधिकारको नाममा भएको बेथितिको मात्रै चर्चा छैन, पुरुषप्रतिमाथि गरिने दमनबारे पनि उजागर गरिएको छ । यसका साथै सहरमा खुलेका डान्सबारमा लुगा फुकाल्दै नग्न हुने विकृतिको पर्दाफास गरिएको छ ।
लुम्बिनी विकास कोषमा राजनीतिक नियुक्तिले लुम्बिनीको विकास गर्न नदिएको प्रसङ्ग कोट्याइएको छ कृतिमा । रातो प्लेटको गाडीले पनि ट्याक्सीको काम गर्ने गरेको बेथितिको उजागर गर्दै छारे रोग, भिटामिनको कमी तथा वर्डफ्लू जस्ता रोगहरूको उपचारका निम्ति गरिबहरूको पहुच पुग्न नसकेको कुरा व्यक्त गरिएको छ । यही प्रसङ्गमा संविधान फ्लूले देशै वर्वाद गर्न लागेको पनि व्यङ्ग्य गरिएको छ । “बाधा अड्काऊ फुमऊ” को नाममा नेताहरूले आफूले जे मन लाग्यो त्यही गरेकोमा लेखकको चिन्ता छ । स्वार्थको लागि झण्डा र डण्डा बोक्ने नेपाली प्रवृत्तिको उजागर गर्दै देशमा सांस्कृतिक विचलन आएको प्रसङ्गलाई उजागर गरिएको छ ।
नेताहरूलाई बिरालोको उपमा दिँदै उनीहरू देश लुट्न उद्दत रहेको भन्दै ‘मिसन बिल्ली’ मार्फत् व्यङ्ग्य गरिएको छ । गरिबलाई चुनाव आएपछि बल्ल भान्साको चिन्ता नहुने कुराले पैसा बाँडेर चुनाव जित्ने प्रवृत्तिको उजागर गरिएको छ । सरुवामा र नियुक्तिमा राजनीतिलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । नागरिकता बनाउनुपर्दा सास्ती खेप्नुपरेको मधेशी युवकको कथालाई रोचक ढङ्गले प्रस्तुत गर्दै भ्रष्टाचार संस्कृतिप्रति तीखो प्रहार गर्न लेखक सफल देखिनुहुन्छ । युवाहरू कि त अध्ययन कि त वैदेशिक रोजगारीका निम्ति विदेशिने क्रम बढ्दै गएकोमा लेखकको गहिरो चिन्ता छ ।
विश्वविद्यालयको दुराअवस्था
लेखक स्वयम् त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकको रुपमा लामोसमयसम्म काम गर्नु भएको हुँदा पनि विश्वविद्यालयको वेथितिबारे उहाँको नजर पुगेको छ । त्यसैले उहाँ त्रिभुवन विश्वविद्यालय राजनीतिक भागबण्डाको शिकार बनेको तर्क गर्नुहुन्छ । प्राध्यापकहरू राजनीतिक दलका झोले भएको, आपसमा लड्नसमेत अघि सर्नेगरेको र त्रिविमा तोडफोड, हड्ताल र कालोमोसो सामान्य भएको उहाँको उक्ति छ । परीक्षा नियन्त्रण कार्यालयले आफ्नो काम समयमै नगर्दा लाखौँ विद्यार्थीको भविष्यमा खेलवाड हुने गरेको जिकिर छ । विद्यार्थीहरू गाइड र गेसपेपरमा निर्भर रहेको र पढाइभन्दा राजनीतितिर ध्यान दिएको उहाँको दृष्टि छ ।
तीन “ब” (ब्यूटिपार्लर, बोर्डिङ र बैंक)
पैसा तिर्नसके घाटमा जान तयार महिला पनि सुन्दर देखाउनसक्ने ब्यूटिपार्लरको प्रसङ्गले महिलाहरूको श्रृङ्गारप्रतिको मोहलाई ब्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । लोग्नेले विदेशी भूमिमा रगत पसिना बगाउने तर, पत्नीहरूले ब्यूटिपार्लरमा गएर पैसा उडाउने प्रवृत्तिलाई कृतिमा प्रस्तुत गरिएको छ । त्यसैगरी निजी क्षेत्रको आगमनसँगै च्याउजस्तै उम्रिएका बैंक तथा वित्तीय संस्थाहरूले मध्यम आय भएका मानिसहरूलाई ऋण बोकाएर धोती न टोपी बनउने गरेको भन्दै ब्यङ्ग्य गरिएको छ । कृतिमा नेपालको विभेदपूर्ण शिक्षा नीतिप्रति व्यङ्ग्य गरिएको छ । सरकारी स्कूलमा सरकारको ठूलो लगानी छ । साथै शिक्षकहरूको प्रकार पनि धेरै किसिमको रहेको कुरा उल्लेख छ । जसमा राजनैतिक दलको प्रभावमा नियुक्त शिक्षकलाई “घुसघास” भनिएको छ । ती झनै शक्तिशाली भएको लेखकको जिकिर छ । उता बोर्डिङ स्कूल अर्थात् निजी विद्यालयमा विद्यार्थीलाई पुस्तकको भार बोकाएर घोकाउने र अनुशासनको नामा विद्यार्थी थर्काउने र कुट्ने अनि अभिभावक लुट्ने प्रवृत्ति रहेको कुराको उजागर गरिएको छ ।
अन्य विषयवस्तुहरू
ट्राफिक अस्तव्यस्त रहेको र ठूला ट्रक एवम् सवारी साधनहरूले बाटो विगारेको कुरा पनि कृतिमा समेटिएको छ । सार्वजनिक संस्थान निजीकरण गर्ने नेताहरूको अदुदर्शी कार्यले गर्दा आयातमा निर्भर रहनुपरेको तर्क छ । सबैले समान न्याय नपाएको हुँदा न्यायालयको नै बेइज्जति हुने गरेको सन्दर्भ कोट्याउँदै लेखकले बालश्रम व्याप्त रहेको हुँदा बाल अधिकारको हनन भएको कुरासमेत उल्लेख गर्नु भएको छ । मान्छेले मोबाइलको प्रयोग ढाट्नका निम्ति गर्ने गरेको व्यङ्ग्योक्ति प्रस्तुत गरिएको छ । मानिस आफ्नो स्वार्थको निम्ति प्रकृतिको विनास गर्न लागिपरेको आरोप छ कृतिकारको ।
लोडसेडिङ्का कारण नेपालीहरू अध्यारोमा हिड्न, अँध्यारोमा खान, अध्यारोमा जिउन अभ्यस्त भइसकेको (पृष्ठ ९१) कटाक्ष पनि प्रस्तुत गरिएको छ । सुपर हयास गाडीलाई बसपार्कबाट कलंकी पुग्न डेढ घण्टा लागेबाट काठमाडौँको यातायता व्यवस्थाको अस्तव्यस्तता देखाएको छ । युवतीहरू बलात्कृत हुनुपरेको समाजको कर्तुतको प्रस्तुत गरिएको छ । नगरपालिकामा फोहर व्यवस्थापन हुननसक्दा ‘नरकपालिका’ बनेको लेखकको तर्क छ ।
सङ्ग्रहमा प्रयोग भएको भाषाशैली, प्रस्तुति र निश्कर्ष
“नेपाल व्रत कथा” मा सरल भाषा शैलीको प्रयोग गरिएको छ । सुरुका केही अध्यायहरूमा हास्यव्यङ्ग्यले प्राथमिकता पाए पनि अन्य अध्यायमा विकृति र विसङ्गतिहरूको सोझो प्रस्तुति छ । कृतिको नाम ‘नेपाल व्रत कथा’ उल्ले खगरिएको हुँदा पाठकहरूले स्वस्थानी व्रतकथामा जस्तै कथा छ कि भन्ने अपेक्षा गर्दछन् । तर, कृतिमा कथाभन्दा पनि वर्णनात्मक प्रस्तुति बढी देखिन्छ ।
कृतिको रुपमा चार अध्यायमा नेपाली काङ्ग्रेसका निम्ति सुवर्ण समशेरले गरेको योगदानको वर्णन छ । पार्वतीले नेपाली काङ्ग्रेसको बारेमा मात्रै किन सोधिन् होला? अन्य दलहरूको बारेमा नेपाली काङ्ग्रेसको जस्तो व्याख्या कृतिमा किन नअटाएको होला? भन्ने जिज्ञासा पाठकको मनमा रहन्छ । माओवादीलाई जनयुद्धको नाममा नागरिक मारेको अनि जात र धर्मका नाममा आपसमा लडाउन खोजेको आरोप लगाइरहँदा सरकारका पक्षबाट मारिएका र वेपत्ता पारिएको सन्दर्भ कृतिमा किन आएन? माओवादीकै साथ र समर्थनका कारण लोकतन्त्र, संघीयता र समावेशीजस्ता महत्वपूर्ण उपलब्धीहरू प्राप्त भएको कुराहरू किन उल्लेख भएन ? एमालेको पहिलो नौ महिने सरकार रहँदा मनमोहनले गरेका सुन्दर परिवर्तनहरुबारे उल्लेख गर्न किन कन्जुस्याईं गरिएको होला? यस्ता प्रश्नहरू पुस्तक पढिसकेपछि विद्वान पाठकले पक्कै पनि गर्नेछन् ।
लेखकले नेपाल देशभित्रका विविध विषयहरू उठान गर्न खोज्दा पढ्दैगर्दा पाठकलाई विषयवस्तुको गहिराइ अझै धेरै भए हुन्थ्यो भन्ने भान हुन्छ । सन्दर्भहरूको क्रमिकतालाई ऐतिहाँसिकताको आधारमा अध्यायहरूमा क्रमशः प्रस्तुत गर्न पाए सामान्य पाठकलाई पनि पढ्दा सहज हुन्थ्यो कि? कृतिमा हिड्दा हिड्दै अपरिचित व्यक्तिसँग पनि नारदले लामो कुरा गरेका छन् । यो अल्लि अस्वाभाविक देखिन्छ । कृतिमा प्रत्येक अध्ययाहरुलाई शीर्षक दिनसकेको भए र ती शीर्षकहरुलाई सन्दर्भ सूची बनाएर उल्लेख गर्नसकेको भए मन परेको प्रसङ्ग पुनः पढ्न चाहने पाठकका निम्ति पाना पल्टाइरहने झण्जट हुँदैनथ्यो । प्रत्येक अध्याय सकिएलगत्तै “ईतिश्री नेपाल....” लेखिएको छ । स्वस्थानी व्रतकथामा जस्तै त्यसमा अध्यायमा प्रस्तुत भएको विषयवस्तुबारे लेखिएको भए अझै रोचक बन्थ्यो कि ?
यति हुँदाहुँदै पनि हास्यव्यङ्ग्य कृतिको खडेरी पर्दै गएको वर्तमान समयमा साहित्यकार उमेशचन्द्र रिजालले “नेपाल व्रत कथा” जस्तो भिन्दै स्वादको कृति पस्केर नेपाली साहित्यलाई महत्वपूर्ण गुन लगाउनुभएको छ । राजनैतिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा देखापरेका विकृतिहरूको चीरफार गर्न कृति सक्षम देखिन्छ । आगामि दिनहरूमा लेखकले अझै रोचक, घोचक र व्यङ्ग्यात्मक प्रस्तुतिसहितको लेखनीलाई निरन्तरता दिँदै नेपाली हास्यव्यङ्ग्य साहित्यलाई थप हराभरा बनाउनुहुनेछ भन्ने मङ्गलमय शुभकामना !
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij