२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक पाँचहजार सुविधा

सोमवार , मंसिर १७, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा, १७ मंसिर । रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा ७ जना खेलाडीलाई मासिक सुविधा दिने भएको छ । खेलाडी कल्याणकारी कोष अन्तर्गत आर्थिक वर्ष २०८१–२०८२ का लागि मासिक ५ हजार रुपैयाँ दिने गरी ७ जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए ।

    उनका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको मुख्य उद्देश्य हो । मासिक सुविधा पाउने खेलाडीहरुमा सिनियरतर्फ २, यु–१९ तर्फ २ र महिला क्रिकेट खेलाडीतर्फ ३ जना छन् ।

    ‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौं’, अध्यक्ष थापाले भने, ‘कोषमा उपलब्ध रकमबाट खेलाडी संरक्षण रकम प्रदान गर्दै आइरहेका छौं ।’ संघका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक ५ हजार रुपैयाँ सुविधा पाएका हुन् ।

    त्यस्तै यु– १९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एन्जिला पाठकले मासिक सुविधा पाएका छन् । क्रिकेट संघका सदस्य प्रथम पराजुलीका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अरुण शाही र २ का वडाअध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक वापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै आएका छन् ।

    ‘हामीले दुईजना वडाअध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीहरुलाई मासिक सुविधा दिइरहेका छौं’, उनले भने, ‘सहयोगी दाताहरु थपिँदै जानुभएको छ । यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौं ।’ अध्यक्ष थापाले कल्याणकारी कोषको रकम बृद्धि गर्न सकेमा कम्तिमा सिनियर, यु–१९ र महिला टीमका सबै सदस्यलाई मासिक सुविधा दिइने बताए ।