२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : अर्थमन्त्री पौडेल

बिहिवार , मंसिर २०, २०८१

भैरहवा, २० मंसिर । रुपन्देहीको भैरहवामा बिहीबारदेखि नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताए । उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ’, पौडेलले भने ।

उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मूलुक चलायमान बनाउने दावी गरे । ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ’, उनले भने, ‘उद्योगी व्यवसायीका समस्या छन्, मजदूरका समस्या छन्, किशोरकिशोरीको समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’ 

वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठीक नभएको तर, यो सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको उनले दावी गरे ।

पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे । ‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माण गर्न तयारी भइरहेको उनले बताए । ‘विमानस्थलमा अरु काम पनि बाँकी छ । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौं’, उनले भने, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं । विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशः कार्यान्वयन हुँदैछन् । निजी क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । कसरी चल्छ, हामी चलाएर देखाउँछौं ।’

अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बनाउने बताए । अर्थमन्त्री पौडेलले निर्माणधिन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसंग समन्वय गरिरहेको जनाए । 

नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउने सरकारले लगानी गर्दै जाने जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताए । उनले भने, ‘हामीसँग लुम्बिनी छ, तर पर्यटक आउने वातावरण छैन । यसका लागि काम गरौं । पर्यटकलाई दुःख दिएर हुँदैन ।’ उनले जथाभावी प्रहरी चेकिङले पर्यटकले दुःख पाइरहेको बताए । पाण्डेयले तेस्रो मुलुकका लागि मात्रै पर्यटक भन्ने तर, भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले यहाँको आर्थिक अवस्थालाई बलियो बनाउने बताए । ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उनले भने, ‘यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुन सक्छन् ।’ उनले नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायीमैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताए । ‘अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेका छन् । यसलाई उकास्न जरुरी छ’, उनले भने, ‘सरकारले सहुलियत दिएर वा अन्य उपाय खोज्न जरुरी देखिन्छ ।’

संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले अहिलेको विषम परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाए । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । उनले महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने जनाए । उनले व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुने र जो व्यापार गरेर स्थापित भएका छन्, उनीहरुका लागि यो अध्ययन हुने बताए ।

गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा चलाउनुपर्ने, भिषा, म्यानपावर, श्रम स्वीकति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्था लगायत तत्काल खोल्न आग्रह गरे । यस्तै, भारतीय पर्यटकले कम्तिमा ५ हजार डलर बोकेर नेपाल आउन पाउनुपर्ने, भैरहवामा नेपाल पर्यटक बोर्डको कार्यालय खोल्नुपर्ने, सेजमा देखिएका समस्या समाधान गर्नुपर्ने, ट्रंकलाइनको समस्या समाधान गरी पीडित उद्योगीलाई सहयोग गर्नुपर्ने, आईसीपीलाई रेल्वे कनेक्सनसम्म जोड्नुपर्ने, भैरहवाबाट सुर्खेत, नेपालगंज, विराटनगर, जनकपुर धनगढी लगायतमा आन्तरिक हवाई उडान सञ्चालन गर्नुपर्ने, बेलहिया नाकामा पर्यटकलाई सहज रुपमा आगमनको व्यवस्था गर्नुपर्ने, भैरहवाबाट बौद्धिष्ट मुलुकमा हवाई उडान गर्नुपर्ने लगायतका माग सरकारसँग राखे ।

३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । उनका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ । 

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्ण प्रसाद घिमिरेले बताए । महोत्सव उद्घाटन अघि करिब ३ सय संघ–संस्थाका प्रतिनिधिको सहभागीतामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको संस्कृतिका झाँकीसहित र्याली निकालिएको थियो ।

महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने संघका सचिव तथा प्रचार प्रसार समिति संयोजक मंगल भण्डारीले बताए ।

महोत्सवको संरक्षक सिद्धार्थनगर नगरपालिकाको कार्यालय, सह–आयोजक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, प्रवद्र्धक पर्यटन विकास परिषद्, बुटवल, मुख्य प्रायोजक रुद्राक्ष मार्ट, भैरहवा र सह–प्रायोजक रिया रक्षा फूड प्रोडक्टस, भैरहवा रहेका छन् । त्यस्तै टिकट प्रायोजक ग्लोबल आईएमई बैंक लि.,आधिकारिक बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.. र आधिकारिक इन्स्योेरेन्स नेको इन्स्योरेन्स रहेका छन् ।