२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी राष्ट्रिय महोत्सव : हिमाल, पहाड र तराईका उत्पादनको संगम

बुधवार , मंसिर २६, २०८१

भैरहवा, २६ मंसिर । जुम्लाको मार्सी चालम, सिमीको दाल, मुस्ताङको स्याउका परिकार, पाल्पाको ढाका, दैलेखको अल्लोको कपडा, रुपन्देही र दाङमा उत्पादित मह, अचार लगायतका खाद्यवस्तु । यी सबै स्वदेशी खाद्यवस्तु तथा कपडालाई एकै ठाउँमा जमघट गराएको छ– रुपन्देहीको भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ ले । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि भैरहवास्थित अञ्चलपुरमा जारी महोत्सवले धेरै उपभोक्तालाई आकर्षित गराएको छ । एउटै ठाउँमा तराई, हिमाल र पहाडको उत्पादन खरिद गर्न पाउने भएपछि महोत्सव भर्न जाने दर्शक खुशी छन् ।

महोत्सवमा रहेका कृषि स्टलमा नेपालको कर्णालीदेखि मुस्ताङसम्मका नेपाली उत्पादन हेर्न, किन्न र यसका विशेषताबारे बुझ्न सकिन्छ । भैरहवाकी स्थानीय कविता आचार्यले महोत्सवमा गएर कोदोको पिठो, जुम्लाको चामल, गेडागुडी, मुस्ताङको छुर्पी र स्याउको भुजिया खरिद गर्न पाउँदा खुशी लागेको बताइन् । ‘पहाडको कोदोको पिठो, हिमालको छुर्पी महोत्सवमा किन्न पाइयो, यसले म जस्ता उपभोक्तालाई निकै सहज भयो’, उनले भनिन्, ‘हिमाल–पहाडका परिकार यसै स्वादिष्ट हुन्छन् । स्वास्थ्यवद्र्धक मानिन्छन् । महोत्सवमा किन्न पाउँदा खुशी लागेको छ ।’

उनीजस्ता धेरै उपभोक्ता अहिले भैरहवामा जारी महोत्सवमा पुगेर दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडासम्म खरिद गरिरहेका छन् । महोत्सवमा अटो प्याभेलियनमा विभिन्न ब्राण्डका गाडीबारे बुझ्ने र खरिद गर्नेहरु पनि धेरै छन् । ‘पर्यटन, उद्योग, कृषि र व्यापार राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूुल नाराका साथ जारी महोत्सवले हिमाल, पहाड र तराईका व्यवसायीलाई एकअर्कामा घुलमिल बनाएको छ नै उपभोक्ताहरुलाई समेत स्वदेशी उत्पादनप्रति आकर्षण थप गराएको छ । सबै उत्पादनको एउटै संगम हुँदा सबैभन्दा बढी सहज उपभोक्तालाई छ ।

कर्णाली प्रदेशको सुर्खेतदेखि कृषिका विभिन्न उत्पादन लिएर भैरहवा आएकी पवित्रा नेपालीले आफूले जुम्ला, हुम्ला, मुगु, डोल्पा, बाजुरादेखि दैलेखसम्मका कृषि उत्पादन विक्री गरिरहेको बताइन् । ‘मैले कागुनो, जुनो र मार्सी जातका चामलहरु विक्री गरिरहेकी छु’, उनले भनिन्, ‘धेरैजनाले यी चामलको बारे बुझ्ने गर्नुभएको छ भने खरिद गरेर लैजाने समेत गर्नुभएको छ ।’

मुस्ताङको मार्फा लिएर महोत्सवमा विक्री गरिरहेका हरिलाल विश्वकर्माले पनि विक्रीदर राम्रो रहेको जनाए । उनी भन्छन्, ‘हिमाली भेगमा पाइने एप्रिकोटका परिकारहरु, स्याउका परिकारहरु मुस्ताङमा प्रशोधन गरेर यता ल्याएका हौं । यी सबै अर्गानिक उत्पादनहरु हुन् । जसले गर्दा महोत्सवमा राम्रो बजार पाइरहेको छ ।’

स्थानीय व्यवसायी मधु भट्टराईले आफ्नो पसल किसान घरको नामबाट महोत्सवमा एउटा स्टल राखेकी छन् । भट्टराईको स्टलमा जौँको आटोपिठो, मकैको आटो, कोदोको पिठो, फापरको पिठो, जौँको सातु, मिक्स साथु लगायत उपलब्ध छ । ‘चिसो मौसम भएर पनि होला यहाँ यी खाद्यवस्तु खरिद गर्न धेरैजना आउनुभएको छ’, उनले भनिन्, ‘खरिद नगर्नेले पनि बडो चाख दिएर बुझ्नु हुन्छ । फेरि किन्छौं भन्ने प्रतिक्रिया दिनुहुन्छ ।’

महोत्सवमा कृषि स्टलहरुको बीचमा माछा पोखरी बनाइएको छ । माछा पोखरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपर जोनको प्राविधिक सहयोगमा निर्माण भएको हो । सुपर जोनले उक्त पोखरीमा माछा राखेको छ । महोत्सव अवलोकन गर्न आउनेले कृषि स्टल पुग्दा पोखरीबाट नै झिकेको ताजा माछाका विभिन्न परिकार बनाएर खान पाइरहेको छन् ।

माछापोखरीको वरीपरी ३० वटा कृषि स्टलहरु छन् । ती स्टलहरुमा थारु समुदायको ढिकरी, माछा, घोंगी, नेवार समुदायका परिकार, दुधको परिकार, केराको परिकार, च्याउको परिकार, कर्णाली प्रदेश र मुस्ताङ जिल्लाका कृषि उत्पादनहरु देख्न, किन्न र खाना सकिन्छ । महोत्सवको कृषि स्टलमा अल्लोबाट उत्पादन गरिएको कपडाहरु पनि राखिएको छ ।

महोत्सवको कृषि उपसमिती संयोजक यमकला न्यौपाने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर अघि बढेको बताउँछिन् । न्यौपानेले कृषि उत्पादनका साथै प्रविधिबारे पनि सचेतना हुने गरी स्टलहरु रहेको जानकारी दिइन् ।

महोत्सव प्रचारप्रसार समिति संयोजक एवं संघका सचिव मंगल भण्डारीले मेलामा आउनेहरुलाई कृषिबारे सचेतना अभिवृद्धि होस् भनेर नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय गहुँबाली कार्यक्रमले स्टलमा नेपाल सरकारका सूचीकृत भएका गहुँ र धानका प्रजातीहरुका नमूना तथा सचेतना अभिवृद्धि हुने खालका पर्चाहरु समेत राखिएको जनाए । त्यस्तै कृषि ज्ञान केन्द्रले राखेको स्टलमा कृषिबारे सचेतना अभिवृद्धि गर्ने खालका पर्चा र पम्पलेटहरु राखिएको छ ।
‘यसले महोत्सव भर्न आउने हरेक किसान, सर्वसाधारण र अन्य व्यवसायीलाई सिक्ने र सिकाउने अवसर प्रदान गरिरहेको छ’, भण्डारीले भने । 

महोत्सव मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सबै उत्पादन एकै थलोमा प्रदर्शन गर्नु नै मेलाको विशेषता भएको बताए । ‘उत्पादनको बजारीकरण होस् र स्वदेशी उत्पादनको प्रयोग गर्न उपभोक्ता सूसुचित होउन् भन्ने लक्ष्यले कृषिलाई प्राथमिकतामा राखिएको छ’, उनले भने, ‘महोत्सवमा खाद्यान्न, कपडा, बाल उद्यान, हस्तकला, प्रविधि, बिभिन्न होटल तथा रेष्टुरेण्टका स्टलहरु, अटोमोबाइल्स लगायत छन् । यसले सबै क्षेत्रको एकैपटक बजारीकरण गरिरहेको छ ।’ महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ ।