२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘फेरिएको मानव बेचबिखनको तरिका अनुरुपकै नियन्त्रण रणनीति बनाउन आवश्यक’

बिहिवार , मंसिर २७, २०८१

भैरहवा, २७ मंसिर । मानव बेचबिखन तथा ओसारपसार समय परिवर्तनसँगै अपराधको रुप, शैली, तरिका, प्रविधि र गन्तव्य पनि फेरिदै गएकाले नियन्त्रण र न्यूनीकरणका लागि त्यहीअनुरुपकै रणनीति बनाउनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले मानव बेचबिखन रोकथामका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

माइती नेपालले रुपन्देहीको भैरहवामा आयोजना गरेको मानव बेचबिखन तथा यौन शोषण नियन्त्रण सम्बन्धि अन्तर सीमाना कार्यशाला गोष्ठीमा बोल्दै सरोकारवालाले मानव बेचबिखनलाई निरुत्साहित गर्न भारत र नेपालमा रहेका मानव बेचबिखनपिरुद्ध कार्यरत सरकारी र गैरसरकारी निकायबीच आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मानव बेचबिखनका घटना कम भएको ठान्नु भन्दा नियन्त्रणका लागि दुवै मुलुकका सरोकारवाला निकायबीच आपसी सहकार्य र साझेदारी हुन जरुरी रहेको बताए । पहिला खुल्ला सीमा नाकाबाट मात्रै हुने मानव बेचबिखनका शैली अब विमानस्थलकै प्रयोग गरेर हुन थालेको उनको भनाइ छ । ‘पहिला भारतमा मात्र सीमित रहेको मानव बेचबिखन अहिले विश्वका धेरै मुलुकमा भइरहेका छन् । पहिला दलालले अपनाउने तरिका पनि पछिल्लो समय प्रविधिको विकाससँगै प्रयोग हुन थालेका छन् । मानव बेचबिखन अब विदेश मात्र होइन देशभित्रै हुन थालेको छ, ’उनले भने । प्रजिअ घिमिरेले मानव बेचबिखन मानवविरुद्धको गम्भिर अपराध भएको र यो अपराधविरुद्ध निर्मम ढंगले अघि बढेको बताए ।

माइती नेपालका निर्देशक विश्वराम खड्काले मानव बेचबिखनको बदलिँदो स्वरुपलाई पहिचान गरी नियन्त्रण गर्न नेपाल र भारतका सरोकारवाला निकायबीच आपसी संयुक्त रणनीति बनाउन आवश्यक रहेकोमा जोड दिए । 

भारतको दिल्ली पुलिसका एसीपी डा.राकेश कुमारले दिल्लीबाट प्रत्येक दिन बेचबिखनमा र जोखिममा परेका २० देखि ३० जना बालबालिकाको उद्धार गर्ने गरिएको जानकारी दिए । 
दिल्लीस्थित मानव बेचबिखनविरुद्ध कार्यरत संस्था सिडब्लुसीका जेआर शरणले भारतमा हुने देह व्यापारको धन्धामा ९० प्रतिशत भारतीय नै र बाँकी अन्य मुलुकका नागरिक हुने गरेको बताए । पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा नेपाली युवती भारतको मणिपुर हुँदै हवाइमार्गबाट म्यानमार जाने गरेको र त्यहाँ बेचबिखन हुने गरेको उनले बताए । 

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हे.क्वा. रुपन्देहीका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले सशस्त्र प्रहरी बलले सीमा अपराध नियन्त्रणका क्रममा मानव बेचबिखन तथा ओसारपसारका कार्यलाई पनि निरुत्साहित गर्दै आएको बताए । सीमा क्षेत्रमा कुनै शंकास्पद गतिविधि देख्नासाथ तत्कालै रोकेर सम्बन्धित निकायसँग समन्वय गरिदै आएको उनले बताए । सीमामा हुने अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी चौबिसै घण्टा खटिएको उनको भनाइ छ । 

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध रुपन्देहीको १६ वटै स्थानीय तहमा बैठक बसेर नियन्त्रणका लागि पहल गर्ने गरिएको बताए ।

सैनामैना नगरपालिकाका प्रमुख (मेयर) फणेन्द्र प्रसाद शर्माले मानव बेचबिखन ठूलो समस्याको रुपमा देखा परेको बताए । उनले पालिकास्तरमा सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।

मानव बेचबिखनविरुद्ध भारतमा कार्यरत मानव सेवा संस्था गोरखपुरका निर्देशक राजेशमणिले मानव बेचबिखन गरिबी, अशिक्षा, बेरोजगारीको कारणले मात्र नभइ एकाएक धनी र चर्चित सेलिब्रेटी बन्ने महत्वाकांक्षाका कारणले पनि बढावा पाइरहेको बताए ।

माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।