२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी राष्ट्रिय महोत्सव : गाडी खरिदमा छुटैछुट

शनिवार , मंसिर २९, २०८१

भैरहवा, २९ मंसिर  । नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा आउने दैनिक हजारौं दर्शकको ध्यान खिच्छ अटो प्याभेलियनले । यहाँ १६ वटा स्टलमा विभिन्न कम्पनीका गाडी विक्रीका लागि राखिएको छ । नेपाली बजारमा भर्खरै मात्र भित्रिएका विभिन्न मोडल र आकर्षक लुक्स भएका गाडीले दर्शकदीर्घको ध्यान तान्ने गरेको हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवामा जारी महोत्सवले अटोमोबाइल्सलाई प्रवद्र्धन गरिरहेको छ । विगतका भन्दा भिन्न तरिकाले अटो प्याभेलियन बनाइएको र धेरै कम्पनीका गाडी विक्रीका लागि राखिएकाले पनि यहाँ पुग्नेले चासोकासाथ गाडीका फिचरबारे बुझ्ने गरेका छन् । अटो प्याभेलियनमा विद्युतीय गाडीहरु प्राथमिकताका साथ प्रवद्र्धन गरिएको छ । यहाँ गाडीहरु प्रवद्र्धन मात्र होइन्, विक्री समेत भएको अटो प्याभेलियन संयोजन समितिका संयोजक एवं संघका कार्यसमिति सदस्य दिनेश मान अमात्यले बताए ।

‘अटो प्याभेलियन महोत्सव स्थलको मुख्य सचिवालयको दायाँ र बायाँ राखिएका छन् । दायाँतर्फ ६ र बायाँतर्फ १० गरी १६ वटा विभिन्न कम्पनीहरुका कार, जीप, भ्यान, मोटरसाइकलका स्टलहरु छन्’, उनले भने, ‘एकै ठाउँमा एकैपटक यति धेरै कम्पनीका गाडीबारे बुझ्न पाइने भएकाले पनि सबैको ध्यान खिचेको हामीले पाएका छौं ।’

यहाँ विद्युतीय र इन्धनबाट चल्ने सवारीसाधन मात्र होइन्, यो क्षेत्रमा लोकप्रिय रहेको राइड शेयरिङ ई–ड्राइभ लुम्बिनीले पनि बिजिनेश प्रवद्र्धनका लागि महोत्सवको अटो प्याभेलियनमा स्टल राखेको छ । अटोतर्फ फोर्स, हुन्डाई, बिवाईडी, डिपल, ओमाडा, एमजी, बजाज, हिरो, टिभियस, यामाहा लगायतका कार तथा मोटरसाइकलका स्टल छन् । त्यसै गरी कृषि तथा ढुवानीमा प्रयोग हुने ट्याक्टर समेत प्रदर्शनीमा राखिएको छ ।

‘आरामदायी यात्राका लागि कार छन् भने कृषिमा प्रयोग गर्न ट्याक्टर समेत राखिएको छ, सबैको समिश्रण सवारी भएकाले अटो प्याभेलियनले थप आकर्षण थपेको हामीले पाएका छौं’, अमात्यले भने । महोत्सवस्थलमै  कार, मोटरसाइकल खरिदमा विशेष छुट समेत व्यवसायीले दिएका छन् । ‘१० हजारदेखि ५ लाखसम्म छुट दिइएको छ, यो बम्पर छुट हो’, उनले भने, ‘यसको फाइदा लिन हामीले उपभोक्तालाई आग्रह गरिरहेका छौं ।’ उनका अनुसार यो छुट महोत्सवपछि पूर्ण रुपमा हुनेछैन । छुट दिइए पनि केही कम हुने उनले बताए ।

फोर्स कम्पनीका मोटर विक्री गर्दै आएको फोर्स मोटर्सले नयाँ गाडी अर्वानियामा ५ लाख रुपैयाँसम्म छुट दिएको फोर्स मोटर्स भैरहवाका अध्यक्ष समेत रहेका अटो प्याभेलियन संयोजक अमात्यले बताए । फोर्सको स्टलबाट एउटा फोर्स ट्राभलर गाडी विक्री समेत भएको छ । ‘अर्को एउटा गाडी बुकिङ भएको छ’, फोर्स मोटर्स भैरहवाका प्रबन्ध निर्देशक प्रविण भारीले भने, ‘गाडीबारे बुझ्न आउने धेरै हुनुहुन्छ । कतिले केही समयपछि खरिद गर्ने बताउनुभएको छ । यसबाट हामी उत्साहित छौं ।’

महोत्सबमा अटो स्टलमा विक्री मात्र नभइ अटोको बारेमा जानकारी लिने, सोधीखोजी गर्नेहरु समेत बढी छन् । इन्धन भन्दा पनि विद्युतीय गाडीबारे सोधपुछ गर्दै चासो राख्नेहरु बढी पाइएको र महोत्सवको अटो प्याभेलियनमा अवलोकनकर्ताको आकर्षण दैनिक बढ्दो क्रममा रहेको संघका महासचिव कृष्ण प्रसाद घिमिरेले जनाए ।

बजाज कम्पनीको भैरहवा क्षेत्रमा दुइपांग्रे गाडी बिवक्री गर्दै आएको बज अटोले पनि महोत्सवमा रहेको स्टल मोटरसाइकलबारे बुझ्ने धेरैजना आइरहेको जनाएको छ । ‘भैरहवा बुद्धचोकको विक्री कक्षबाट विक्री तथा प्रवद्र्धन गर्दै आएकोमा अहिले महोत्सव स्थलमा पनि स्टल राखेर विक्री एवं हजारौं उपभोक्तामाझ प्रवद्र्धन गर्दै आएका छौं । यसबाट हामी खुशी छौं,’ बज अटोका भैरहवाका प्रबन्धक बलराम आचार्यले भने ।

आचार्य जस्तै अन्य अटो व्यवसायीहरु पनि महोत्सव मार्फत् अटोको प्रवद्र्धन गर्न पाएकोमा खुशी छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले मेलामा अटोको विक्री मात्र नभइ बजारीकरण एवं प्रबद्र्धन भएको जनाए । ‘बजारमा बिक्री कक्ष मार्फत विक्री र प्रबद्र्धन हुँदै आएका कार, मोटरसाइकलहरुको प्रबद्र्धन, बजारीकरण एकैसाथ हजारौं उपभोक्ता माझ हुन पुग्नु ठुलो कुरा हो’, उनले भने, ‘छोटो समय र कम खर्चमा अटोको प्रबद्र्धन एवं बजारीकरण महोत्सवमार्फत भएको छ । उनले एकैठाउँमा धेरै वस्तुको प्रबद्र्धन गर्नु नै महोत्सवको विशेष भएको जनाए । लुम्बिनी महोत्सवले सबै क्षेत्रमा उत्साह थपेको श्रेष्ठ बताउँछन् ।