२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जेसीजको संक्षिप्त परिचय तथा महिला सहभागीता

आइतवार , मंसिर ३०, २०८१

जेसीज भन्नेबित्तिकै यसका संस्थापक हेनरी गिसन वियरको नाम आउँछ । १०९ वर्ष पहिले सन् १९१० मा अमेरिकाको मिसौरी राज्यमा पर्ने सेन्ट लुईस भन्ने शहरको परम्परागत साँस्कृतिक नृत्य लोप हुने अवस्थामा पुगेको थियो । यस कुराले हेनरी गिसन वियर भन्ने एक युवकलाई चिन्तित तुल्याएको थियो । तत्पश्चात उनले परम्परागत नृत्य शैलीलाई बचाउने उद्देश्यले एउटा डान्स क्लबको स्थापना गरेर दत्तचित्त भइ त्यसमा लागिपरे । पाँच वर्षपछि अर्थात सन् १९१५ अक्टोबर १३ का दिन गिसन बियर र अन्य २२ जना युवाहरु मिली Young Man’s Prograssive Civil Association (YMPCA) भन्ने सस्थाको स्थापना गरेर सन् १९१५ अक्टोबर १३ लाई विधिवत जेसीज स्थापनाको दिवसको रुपमा लिइएको छ ।

स्थापनाको करिब ५ महिनाको अवधिमा युवा र युवतीको यस संस्थामा आकर्षण बढेर सदस्य संख्या ७५० पुग्यो । सन् १९१६ मा उक्त संस्थाको नाम परिवर्तन भइ Junior Citizenes भन्ने नाम राखियो । जेसीज भन्ने शब्दको उत्पत्ति पनि यसै Junior Citizenes नामबाट भएको हो । छोटकरीमा यसलाई JCS भनियो । कालान्तरमा JCS को उच्चारण गर्दा जेसीज भएर रहन गयो । जेसीज अमेरिकाको एउटा शहरमा मात्र सीमित भएन यो विभिन्न शहरमा युवाहरुमा आकर्षणको माध्यम बन्यो । जेसीजले सन् १९४४ मा मेक्सिको शहरमा पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन गर्यो । सन् १९७२ मा यस संस्थाको नाम जुनियर चेम्बर अन्तर्राष्ट्रिय जेसीज राखियो । फेरि १९८८ मा यस संस्थाको नाम जुनियर चेम्बर अन्तर्राष्ट्रिय Junior Chamber International (JCI) हुन पुग्यो ।

हाल विश्वका एक सय भन्दा बढी राष्ट्र यो संस्थामा क्रियाशील छन् । अन्य राष्ट्रहरुमा पनि यसको प्रभाव र विस्तारै बढ्दै गएको छ । सन् १९९७ मा अमेरिकाको हवाइमा भएको विश्व सम्मेलनमा पहिलोपटक नेपाल जेसीजका पूर्वअध्यक्ष सिनेटर सन्तोष रिजाल JCI को कार्यकारिणी उपाध्यक्षको रुपमा निर्वाचित हुनुभएको थियो । नेपालमा सन् १९६४ सालमा डा.भेषबहादुर थापाको नेतृत्वमा जुनियर चेम्बर नामबाट यस संस्थाको स्थापना भएको हो । अहिलेसम्म आइपुग्दा देशव्यापी रुपमा जेसीआई अर्थात जेसीजको प्रभाव उल्लेख्य रुपमा देख्न सकिन्छ । देशभित्रका हरेक शहरहरुमा सुविधासम्पन्न भवनसहितका कार्यालयमार्फत सामाजिक क्रियाकलापमा जेसीज देखा परेको छ । १८ देखि ४० वर्ष उमेर समूहका पुरुष र महिलाहरुले छुट्टाछुट्टै JCI को नेतृत्व गरिहनुभएको छ ।

औपचारिक ज्ञान विश्वविद्यालयबाट प्राप्त गर्न नसकेता पनि जेसीजबाट नयॉ कुराहरु सिक्ने क्रम भने रोकिएको छैन । नेतृत्वमा प्रभावकारी क्षमताको साथै learning by doing को माध्यमबाट विश्वभरीका यूवा महिलामा पनि नयॉ जागरण पैदा भएको छ । अनुशासन र विधिको शासनलाई आफ्नो मन्त्र बनाएर अगाडि बढ्दै आइरहेको यस जेसीजले व्यक्तिलाई केन्द्रित गरेर असल व्यक्तित्वको निमार्णतर्फ अग्रसर गराउ‘दै समाजप्रतिको दायित्व बोधमार्फत विश्व विकासमा सहभागी हुन दिशानिर्देश गरेको छ । व्यक्ति रुपान्तरण भए समाज पनि सही रुपले रुपान्तरण हुन्छ भन्ने मूल आशय रहेको जेसीजको मान्यतामा अडिग रहेर लाखौंको संख्यामा युवा महिलाहरुले विश्वव्यापी रुपमा जेसीजलाई अगांली रहनुभएको छ ।

एक व्यक्ति एक पदको कार्यकालमा १ वर्षभरी जेसीजको नेतृत्व गरेर समाजको लागि केही गर्न सकिन्छ भन्ने मनोभावनाकासाथ सबै युवा महिलालाई नेतृत्वको हिस्सेदारी बनाउँदै जेसीज अगाडि बढिरहेको छ । यस अर्थमा हाम्रो समाजमा राजनैतिक दलहरु र अन्य सामाजिक संस्थाले पनि जेसीजबाट केही सकारात्मक कुराहरु सिक्नुपर्ने देखिन्छ । खासमा यो समाज पुरुषको मात्र हिस्सेदारी होइन आधा आकाश र आधा धर्ती ओगटेका महिलाहरु पनि समाज रुपान्तरणका असल बाहक हुन भन्ने कुरा जेसीजमा महिलाहरुले छुट्टै किसिमले गरेको नेतृत्वले देखाउँछ  । शुसासनको हकमा जहाँ महिलाको नेतृत्व छ त्यहाँ कोही पीडित हुन पुगेको कुरा कम मात्र सुन्न पाइन्छ । एक रथका दुई पांग्रा भनेझै पुरुष बिना महिला र महिला बिना पुरुषको अस्तित्व सम्भव नभए जस्तै समाजको लागि महिला अनिवार्य छ भन्ने सन्देश देशभरी हजाराैंको संख्यामा महिला जेसीजको नेतृत्व गर्दे आउनुभएका महिलाहरुले दिनुभएको छ । शारीरिक बनोटका आधारमा मात्र पुरुष शक्तिशाली र महिला कमजोर भन्ने हुँदैन भन्ने अवधारणालाई आत्मसाथ गर्न सकियो भने अब बन्ने समाजको स्वरुप निकै सुन्दर हुनेछ ।

जेसीजमा महिलाले गरेको नेतृत्वको प्रभावकारिता अब हाम्रो समाजले अनुशरण गर्दा पनि समाज विकासमा नयाँ आयाम थपिने छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा प्रत्येक सामाजिक क्षेत्र अझै बढी शक्तिशाली बन्नेछ । चुलोचौको भन्दामाथि उठेर सुन्दर समाज निर्माण सबैसँग हातेमालो गर्दे महिलाहरुले सिकेका असल कुरालाई सुन्दर समाज निर्माणको लागि प्रयोग गरौं । यसैमा सबैको हित सुनिश्चित छ ।
लेखक जेसीआई सिद्धार्थनगर लेडी, नेपालकी वर्ष २०२० की अध्यक्ष हुन् ।