
सोमवार , पौष १, २०८१
भैरहवा, १ पुस । आजभन्दा ई.पु.६२३ वर्षअघि लुम्बिनीको पवित्र उद्यानमा वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्म भएपश्चात माता मायादेवीसहित नवजात सिद्धार्थलाई कपिलवस्तु घर फिर्ता लगेको मार्ग मायादेवी सुत्केरीमार्गको प्रचारका लागि दुईपांग्रे क्विन राईडरका १० युवतीले अभियान सुरु गरेका छन् । उनीहरु काठमाडौंबाट भैरहवा, लुम्बिनी हुँदै मायादेवी सुत्केरी मार्गबाट कपिलवस्तु दरबार पुगेर यात्रा टुंग्याएका छन् ।
तत्कालिन समयमा सुत्केरी हुन माईती जाने प्रचलन थियो । सो क्रममा माता मायादेवी कपिलवस्तुबाट आफनो माइती देवदह जाने क्रममा लुम्बिनीमा विश्राम गर्न बस्दा त्यही प्रशव पीडा थियो । तत्पश्चात नवजात बालक (सिद्धार्थ) लाई त्यहीको कुण्डमा स्नान गराई माइती देवदह नगई पुनः कपिलवस्तु घर फिर्ता गएको मार्ग नै मायादेवी सुत्केरी मार्ग हो । मायादेवी सुत्केरी भएपछि घर फिर्ता गएको मार्गको अध्ययन एवं सोधखोज गरी बनाइएको मार्ग नै मायादेवी सुत्केरी मार्ग हो र पहिलोपटक यो मार्गको सोधखोज गरी नामाकंन गर्ने संस्था बुद्धिष्ट सर्किट्स डटकम हो ।
बुद्धिस्ट सर्किट्स डटकमका संस्थापक एवं मायादेबी सुत्केरी मार्गको खोजकर्ता विक्रम पाँडे काजीले यो मार्गको प्रवद्र्धनका लागि अहिले काठमाडांै उपत्यकाका विभिन्न क्षेत्रमा रहेका युवतीहरुको संस्था दुईपांग्रे क्वीन राइडरको सहकार्यमा यो कार्यक्रम गरिएको बताए ।
कार्यक्रमको सुरुवात मायादेवी मन्दिरबाट आइतबार बिहान भएको थियो । बुद्धिस्ट सर्किट्स डटकमका संस्थापक एवं मायादेवी सुत्केरी मार्गका खोज एवं परिकल्पनाकार विक्रम पाँडेकाजी र लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले हरियो झण्डा देखाई क्वीन राइडरहरुलाई मायादेवी सुत्केरी मार्गतर्फ पठाएका थिए ।
माता मायादेवी सुत्केरी मार्गमा नै नेपाली किशोरीहरु, नेपाल आमाका छोरीहरुले मोटरबाइक टूर गर्ने, हेर्ने अनि आध्यामिकता अनुभव गर्ने र माता मायादेवीलाई श्रद्धाञ्जली दिने र भगवान बुद्धलाई स्वागत गर्ने, नवजात बुद्धलाई स्वागत गर्ने उद्देश्य लिएर नेपाल आमाका छोरीहरु दुईपांग्रे क्वीनहरु प्रचारात्मक अभियानमा आएको र यो मार्गलाई विश्वभर प्रचार ल्याउँदै यो क्षेत्रमा पर्यटन गतिविधि बढाएर, पर्यटकहरु ल्याएर पर्यटकमार्फत अर्थतन्त्रको विकास गरेर यो क्षेत्रका बासिन्दाहरुको आर्थिकस्तर उकास्ने लक्ष्य रहेको बताए ।
संसारमा ५० करोड बुद्धिष्ट छोरीहरु रहेको र उहाँहरुलाई आकर्षित गर्न सुरुवाती दिनमा यो रुटलाई माता मायादेवी सुत्केरी मार्ग भनी प्रचार गरेको पाँडे काजीले बताए ।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले मायादेवी सुत्केरी मार्गको सुरुवात नै बुद्धिस्ट सर्किट डटकमले गरेको र अहिले विभिन्न संस्थाले प्रचारात्मक अभियान गरेको बताए । उन्ले पछिल्लो समय लुम्बिनी विकास कोषसँगै युएनडीपी, युनिसेफ लगायतका विश्वस्तरका संस्थाको पनि ध्यान आकृष्ट भइ विभिन्न कार्यक्रमहरु भएको बताउँदै दुईपांग्रे क्वीन राईडरहरुले प्रचार अभियानमा थप ईटा थपेको जनाए ।
दुईपांग्रे क्वीन राईडरका टीम लिडर सोनम शाहीले आफूहरु देशका विभिन्न स्थानका पर्यटकीय गन्तव्यहरुको बाईक राईडमार्फत प्रचारात्मक अभियान गरेको जनाउँदै अहिले काठमाडौंबाट आएर माता मायादेवी सुत्केरी मार्गको प्रचार अभियानमा लागेको बताइन् । ‘हाम्रो यात्रापछि अन्य दिदीबहिनी दाजुभाइ पनि यो मार्ग हुँदै कपिलवस्तु पुग्नुहुनेछ भन्ने विश्वास छ, ’शाहीले भनिन् । हामी यो यात्राको दौरानका सबै गतिविधि युट्युब साथै सामाजिक सञ्जाल फेसबुक, इन्स्टा लगायतमार्फत विश्वब्यापी गराउने छौं, ‘उनले भनिन् ।
कार्यक्रममा कार्यक्रमका कन्सलट्यान्ट देवेन्द्र ठकुरी, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, जगर्श गु्रपका अध्यक्ष प्रियाबन्धु न्यौपाने, लुम्बिनी विकास कोषका सूचना अधिकृत डा. हरिध्वज राई लगायतले कार्यक्रमको महत्वबारे भनाइ राख्दै युवतीहरुको प्रचार अभियान सकारात्मक रहेको बताए ।
विश्वमा माता मायादेवी मार्गको प्रचार गर्ने उद्देश्यले एक दशकअघि यो मार्ग हुँदै लुम्बिनी पिस म्याराथन समेत आयोजना बुद्धिस्ट सर्किट डटकमले गरिसकेको छ । भविष्यमा रानी मायादेवी प्रसुती मार्ग म्याराथन गर्ने सोच समेत ल्याइएको आयोजकले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij