२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भवानी स्वावलम्बनको पूँजी ८ करोड बढी

मंगलवार , पौष २, २०८१

भैरहवा, २ पुस । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय प्रस्तुत गर्दै सम्मरीमाई गाउँपालिका–५ पाण्डेय डिहस्थित संस्थाको प्रांगणमा साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वावलम्बनका अध्यक्ष जयराम गडेरियाले आर्थिक वर्ष (आ.व.) २०८०/०८१ मा रु. ५ लाख ९५ हजार १ सय शेयर पूँजी वृद्धि भई ४९ लाख ७० हजार ७ सय पुगेको बताए । त्यसै गरी बचत रकम आ.व. २०८०/०८१ मा रु. ५५ लाख २७ हजार ४ सय २५ बाट वृद्धि भइ रु. ५ करोड ६० लाख २२ हजार १ सय ५५ पुगेको अध्यक्ष गडेरियाले जानकारी दिए । 

त्यसै गरी संस्थाले आ.व. २०८०/०८१ मा रु. ३ करोड ५३ लाख ७९ हजार ३ सयको ऋण लगानी गरी रु.२ करोड ९५ लाख ९० हजार ६ सय ऋण असुल गरी सेवा प्रदान गरेको उनले बताए ।

संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक आशोक कुमार तिवारीले संस्थाको कुल सम्पत्ति रु. ८ करोड ४१ लाख ३४ हजार १ सय ५६ रहेको बताए । आ.व. २०७९/८० मा संस्थाको कुल पूँजी रु. ७ करोड ६१ लाख ८९ हजार ७६ रहेको जानकारी दिदै उनले आ.व. २०८०/०८१ मा रु. ७९ लाख ४५ हजार ८० पूँजीमा वृद्धि भएको तिवारीले जानकारी दिए । संस्थाले आ.व. २०८०/०८१ मा संस्थाले रु. १ लाख ८३ हजार ९ सय १८ शुद्ध बचत गरेको उनले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले सहकारीलाई चौतर्फी घेरा गरी बदनाम गर्ने षडयन्त्र भइरहेको बताए । सहकारी आएदेखि साहु महाजन तथा अन्य केही ठूला बैंकको चर्को ब्याजले असुली धन्दा कम भएको बताउँदै सहकारीमा ऋण लिइ समयमा फिर्ता नगरी सहकारीलाई बदनाम गर्न खोजिएको उनले बताए । उनले भने, ‘नेपालमा लाखौं सहकारी रहेका छन् । कहीकतै कुनै सहकारीका पदाधिकारी वा कर्मचारीले बदमासी गर्दैमा सो घटनालाई जोडेर सबै सहकारीलाई बदनाम गर्ने मनसायल गलत प्रचार गरिन्छ ।’ 

सहकारीबाट प्रदान हुने हरेक सेवा सहज र सजिलो रहेको जानकारी गराउँदै सहकारीबाट लिएको ऋण सबैले समयमै बुझाउन उनले आग्रह गरे । ‘सहकारी समाजले समाजकै लागि जोगाउने हो र वृद्धि गर्ने हो’ भन्दै वार्षिक साधारण सभामा हरेक शेयर सदस्यले आफ्नो विचार वा सुझाव राख्न सक्ने उनले बताए । 

Bhawani.jpeg

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, विधवा पेन्सन, ज्येष्ठ नागरिक बचतकर्ता, ऐच्छिक बचतकर्ता, बाल बचतकर्ता लगायत विभिन्न बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मरीमाई–५ का वडाध्यक्ष श्रवण कुमार यादव, वडा नम्बर २ का वडाअध्यक्ष अजय कुमार गुप्ता, श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक कुमार त्रिपाठी, नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक जितेन्द्र यादव, संस्थाका शेयर सदस्य राजु यादव लगायतले भनाइ राखेका थिए ।

संस्थाको सचिव गनेश पाठकको स्वागत तथा राम अनुज प्रताप नारायण त्रिपाठीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।