
मंगलवार , पौष २, २०८१
भैरहवा, २ पुस । गृहमन्त्री रमेश लेखकले नागरिकलाई ‘म सुरक्षित छु’ भन्ने अनुभुति हुनुपर्ने बताएका छन् । उनले शान्ति सुरक्षा बिना विकास हुन नसक्ने बताए । गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सोमबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री लेखकले सीमामा हुने अपराध र तस्करी नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिए । उनले सीमामा भइरहेका अपराध, तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिए । उनले परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए ।
‘सीमामा अपराध भइहेको छ, तस्करी र राजस्व चुहावट भइहेको सुनिएको छ । गृहमन्त्री लेखकले भने, ‘यो गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् कुनै पनि हालतमा सीमामा हुने तस्करी र अपराध नियन्त्रण गर्नुस् ।’ उनले पछिल्लो समय साईबर क्राईम, लागूऔषध, वित्तीय अपराध, आत्महत्या र सवारी दुर्घटना बढेको बताए । लागूऔषध मुख्य चुनौतीको रुपमा देखा परेको उनको भनाइ छ ।
‘साईबर क्राइम बढ्दो छ । लोकतन्त्रमा विचारको प्रवाह गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ, तर मर्यादा र कानूनको सीमाभित्र रहेर गर्नुपर्छ । लोकतन्त्र भनेको अनुशासनको पद्दति हो, ’अराजकताको शासन होइन । उनले पछिल्लो समय ठगीका घटना बढेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले संविधानको उचित कार्यान्वयन राष्ट्रिय एजेण्डा भएको उल्लेख गरे । ‘२०७२ सालसम्म नेपालमा ७ वटा संविधान बने । धेरै संविधान बनाउने कुरा बेठिक हो । हाम्रो देश राजनीतिक अस्थिरताबाट गुज्रेको यो एउटा उदाहरण हो । यो संविधानलाई असफल हुन दिने छुट हामीलाई छैन ।’
संविधानको रक्षा र संविधानले नागरिकलाई प्रदान गरेको नागरिकका हकअधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए । ‘नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार संविधानले दिएको छ । प्रेस स्वतन्त्रतामाथि अवरोध भए त्यो अवरोध हटाउनुपर्छ । प्रेस स्वतन्त्रता नागरिकको सूचनाको अधिकारसँग सम्बन्धित छ,’ गृहमन्त्री लेखकले भने ।
मुलुकमा शान्ति, सुरक्षा, विधिको शासन र नागरिकको अधिकार सुनिश्चित हुन नसके लोकतन्त्रको अर्थ नरहने उनको भनाइ छ । ‘शान्ति सुरक्षा खलबलिनेबित्तिकै नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन्छ । उनले भने, ‘लोकतन्त्रको पूर्व शर्त शान्ति सुरक्षा हो । शान्ति सुरक्षाको प्रत्याभूति नसके विकास निर्माणका काम अघि बढ्न सक्दैन ।’
गृहमन्त्री लेखकले सुशासनको प्रत्याभूति गर्न र भ्रष्टाचार नियन्त्रण गर्न दुई पार्टी मिलेर नयाँ समीकरण र सरकार बनाएको दावी गरे । ‘कांग्रेस–एमाले मिलेर सरकार बनाएका छौं, २०८४ सालको निर्वाचनसम्म यो समीकरण रहन्छ । तलमाथि हुँदैन, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij