
मंगलवार , पौष २, २०८१
विकासको काँचुली फेर्दै गरेको भैरहवा हेमन्त ऋतुको बड्दो चिसोमा समेत धेरै सक्रिय भएर तातेको छ । भैरहवालाई मंसिर, पुषको बड्दो चिसोमा पनि तताउने काम यहाँको उद्योग व्यवसायीहरूको सबैभन्दा पुरानो अभिभावक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय महोत्सवमा भयो । सिद्धार्थनगर नगरपालिका पूर्वाधार यूक्त संभावना बोकेको भूगोल र जनसंख्याको दृष्टिकोणबाट सानो र सुन्दर सहर हो । यति वेला भैरहवा भौतिक तथा आर्थिक दृष्टिकोणबाट व्यवस्थित सहरीकरण र आधुनिकीकरणको यात्रामा अगाडि लम्की रहेको छ ।
नेपाल विश्वको ड्रिम डेस्टिनेसन भूमि हो । सगरमाथा र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बोकेका मुख्य आधारहरू हुन् । यही विशिष्ट पहिचान बोकेको लुम्बिनीको स्वागतद्धारको रुपमा रहेको सिद्धार्थनगर अर्थात भैरहवा पछिल्लो समय भौतिक, आर्थिक, सामाजिक, व्यापारिक, शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटन हवको हिराखानीको रुपमा विकसित हुँदै गइरहेको छ । यहाँको समग्र विकासका लागि सरकारी तथा निजि क्षेत्रबाट निरन्तर विभिन्न प्रकारका कृयाकलापहरू भइरहेका छन् ।
सामाजिक सांस्कृतिक जागरण, आन्तरिक पर्यटनको प्रवद्र्धन र देश विकासको मुख्य मेरुदण्ड मानिने अर्थतन्त्रलाई थप चलाएमान बनाउनका लागि मेला महोत्सवहरूको आयोजना हुने गर्दछ । खासगरी मंसिर, पुष र माघ महिनामा नेपालका विभिन्न प्रमुख सहर तथा स्थानहरूमा व्यापारिक मेला तथा प्रर्दशनी सञ्चालन हुने गरेका छन् । यसै क्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मंसिर २० देखि पुष १ गतेसम्म अञ्चलपुरमा सम्पन्न भएको छ । अधिकांश व्यापार मेला कुनै क्षेत्र वा थिममा आधारित हुन्छन् । यस महोत्सवमा पर्यटन, कृषि, उद्योग र व्यापार राष्ट्रिय सम्वृद्धिको आधार भन्ने मुख्य थिम वर्तमान समयमा अर्थपूर्ण रहेको छ ।
मध्यकालको अन्त्यतिर युरोपबाट सुरुभएको व्यापारिक मेलाको प्रभाव वर्तमान समयमा विश्वव्यापी बन्दै गइरहेको छ । मेला, महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य पर्यटन, कृषि, उद्योग तथा व्यापारको विकास र विस्तार गरी अर्थतन्त्रलाई थप चलायमान बनाउनु रहेको छ । विश्वका विभिन्न सहरहरूमा महङ्गा धातुहरू, खेलौना, ठुलाठुला मेशिन तथा उपकरणहरू, नयाँ आविश्कार भएका सामाग्रीहरू घोडा, हात्ती, हतियार देखि जहाज हेलीकोप्टर सम्म प्रर्दशनी हुने गरेको पाइन्छ । जनसंख्याको विकास, चेतना र विज्ञानको नयाँ नयाँ आविश्कारका कारण आगामी समयमा फरक फरक प्रकृतिका मेला तथा महोत्सव बढ्दै जाने निश्चित छ । विभिन्न कम्पनीका उत्पादनहरू एकै स्थलमा उपलव्ध हुने र धेरै प्रकारका ज्ञान तथा मनोरञ्जन पाइने हुँदा महोत्सव अवलोकन गर्ने उपभोक्ताहरूलाई समेत तत्कालीन तथा दीर्घकालिन लाभ पुग्दछ ।
महोत्सव मार्केटिङको पुल रणनीति हो । जहा“ उपभोक्तालाई आºना वस्तु तथा सेवा वा उत्पादनको प्रयोग गर्न प्रोत्साहित गरिन्छ । महोत्सवमा सामान विक्रीसँगै उपभोक्तासँग विभिन्न अन्तरक्रिया गरी रणनीतिक लाभ लिन सकिन्छ । त्यसैले कम्पनी तथा विक्रेताले उपभोक्ताहरूलाई सधैं प्राथमिकता दिनु पर्छ । खासगरी गुणस्तरका सन्दर्भमा उद्योगी तथा व्यापारी इमान्दार हुनै पर्दछ । मेलामा जसरी पनि आºना उत्पादन तथा सामान विक्री गर्ने उद्देश्यले दीर्घकालीन फाईदा लिन सक्दैनन् । आºना उत्पादन तथा सामान बिक्री गर्नु क्षणिक नाफा कमाउनु हो तर अवलोकन कर्तासँग अन्तरक्रिया गरी भविश्यमा त्यसै अनुरुपको मार्केटिङ रणनीति बनाएर अगाडी बढ्नु महत्वपूर्ण विषय हो ।
विश्व अर्थतन्त्रमा प्रभाव जमाईरहेको आर्थिक उदारीकरण र निजीकरण तथा खुल्ला अर्थतन्त्रका कारण नेपालमा उद्यम, व्यापार र उद्यमशिलताका क्षेत्रमा धेरै कामहरू भएकाछन् । विश्व मानचित्रमा भौगोलीक आकार ९३ औं स्थानमा रहेको देश नेपाल भन्दा सानो आकार १०८औं स्थानमा रहेको देश दक्षिण कोरीयाले व्यापारीक तथा औद्योगिक क्रान्तिमा गरेको प्रगतीले सन्सारको ध्यान आकर्षित गरेको छ ।तर हामी बस्तु निर्यातको सट्टामा देशका सक्षम युवाहरू विदेश पठाएर चित्त बुझाउनु परिरहेको छ ।
देशको समग्र आयात निर्यातको अवस्थालाई हेर्ने हो भने आ.व.२०८०÷८१ सम्म झण्डै वार्षिक १४.४० खर्व भन्दा बढि वैदेशिक व्यापार घाटा रहेको छ । यस तथ्याङ्कले हाम्रो कमजोर अर्थतन्त्रलाई संकेत गर्दछ । यसका लागि हरेक क्षेत्रमा सुधार आवश्यक छ । खासगरी यस प्रकारका महोत्सवहरूको व्यवस्थित् संञ्चालनले ठुलो अर्थ राख्दछ । किनकी खुला सिमाना तथा कमजोर अर्थव्यवस्था भएका कारण सिमापारी दैनिक विभिन्न प्रकारका बस्तुहरू खरिदगर्न जाने उपभोक्ताहरूको संख्या अत्याधिक रहेको छ । यसलाई रोकथाम गर्न यस्ता मेला, महोत्सवहरू सहायक सिद्ध हुनु पर्दछ ।
हाम्रो वर्तमान अवस्थालाई हेर्दा धेरै तयारी, मिहिनेत र खर्च गरेर सञ्चालन गरिने यस्ता महोत्सवमा केही करोडको व्यापार, सांगीतिक कार्यक्रम, फेशन प्रदर्शन तथा रमाईलो प्रदान गर्ने बिषयमा मात्र सिमित हुनु हुँदैन । स्थानीय तथा राष्ट्रिय आवश्यकता पहिचान गरी उद्यमशीलताको विकास पवद्र्धन गर्न सहयोगी हुनुपर्छ । उद्यमशीलताको विकासबाट नै समाज तथा राष्ट्रको गुणात्मक विकास संभव हुन्छ । यसैबाट हाम्रो परनिर्भरता घटी कुल ग्राहस्थ उत्पादनमा ठुलो योगदान पु¥याउन सकिन्छ । तसर्थ अवको उद्यमशीलता भनेको नाफामुखी मात्र नभई सामाजीक उत्तरदायित्व पुरा गर्दै गुणस्तर युक्त वस्तुको उत्पादन गरी बजारको माग र ग्राहकको सन्तुष्टीमा विशेष जोड दिनु पर्दछ ।
उद्योग व्यापारको क्षेत्रमा यहाँको सबैभन्दा पुरानो अभिभावक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गरेको कार्य महत्वपूर्ण रहेको छ । यस संघले आयोजना गरेको महोत्सवले केही हदसम्म राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । संघका अध्यक्ष समेत रहेका महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठ लगायत उहाँको टिम मार्फत यस क्षेत्रका उद्योगी र व्यापारीहरूको समस्या समाधानका लागि गरेका प्रयास तथा अन्य केही विषयहरू महत्वपूर्ण रहेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सरकार र निजी क्षेत्रबाट सिद्धार्थ उद्योग वाणिज्य संघ समेतले पटक पटक गरेको विभिन्न प्रयास केही हदसम्म सफल भएको छ । जसले गर्दा यहाँको पर्यटन, होटल व्यवसाय तथा बजार गुल्जार बन्दै गएको छ । तर, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम केन्द्र, बीमा, श्रम स्वीकृत, भिसा जारी गर्ने कार्यालय र म्यानपावर कम्पनीहरू स्थापना लगायतका काम भैरहवाबाट सञ्चालनका लागि सरकारसँग निजी क्षेत्रले शिघ्र समन्वय गरी कार्यान्वयन गर्न जरुरी छ । रूपन्देहीमा दैनिक १० हजार बढी पर्यटकलाई एकैपटक राख्न सक्ने साना देखि पाँचतारे सम्मका स्तरीय सुविधा सम्पन्न होटल छन् । ट्याक्सी देखि स्तरीय यातायातको राम्रो प्रबन्ध निजी क्षेत्रले गरेको छ । यहाँका खुलेका दर्जनौ संख्यामा साना ठुला उद्योगहरू, व्यवस्थित वन्दै गरेको मेडिकल कलेज, विभिन्न शैक्षिक संस्थाहरू ठुलो संख्यामा रहेका बैंक वित्तीय संस्थाहरू आदि कारणले गर्दा भैरहवा भौतिक, आर्थिक, शैक्षिक, पर्यटन, सामाजिक र सांस्कृतिक रुपबाट समुन्नत नगरीको रुपमा अगाडी बढ्दै गइरहेको छ ।
खुला सिमाना, चोरी निकासी पैठारी र कमजोर अनुगमन तथा नियन्त्रण बोर्डरको मुख्य समस्या हो । यसले राष्ट्र र राजश्व आम्दानीलाई कमजोर बनाउँछ । यस विषयलाई मध्येनजर गरी संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र उहाँको टिमले सरकारी निकायसँग बारम्बार समन्वय गरी एक सय रूपैया भन्दा बढीको सामान सिमा पारीबाट खरिद गरी मुलुक भित्र्याउँदा संक्षिप्त प्राज्ञापन भर्ने कामलाई थप कडाई गर्न गरेको आग्रह बेलहिया भन्सार कार्यालयबाट लागु भएपछि स्थानिय व्यापारमा बढोत्तरी र राजश्व आम्दानीमा बृद्धि भएको छ । यद्धपी यो निर्णय पूर्ण कडाईका साथ लागु हुन सकिरहेको छैन । विशेष आर्थिक क्षेत्र (सेज) मा देखिएका समस्या समाधान गरी तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि संघले गरेका प्रयास सराहनिय रहेका छन् । यसरी स–सानो सुधारले अन्ततोगत्वा ठुलो परिवर्तन ल्याउँछ । इतिहासको पाङग्रा पनि पछाडि तिर होइन अगाडि तिर नै गुड्दछ ।
भैरहवाले विकास निर्माणको पूर्वाधारमा छल्याङ्ग मारेको छ । नगरको मुख्य भाग भएर बेलहिया–बुटवल जाने ६ लेन सडक बनेको छ । बेलहिया, डण्डाखोला र लुम्बिनी रोडमा ठुला स्वागतद्धवार रहेका छन् । यहाँ नेपालको दोस्रो गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल रहेको छ । देशको दोस्रो ठूलो भन्सार नाका रहेको भैरहवामा आर्थिक वर्ष २०६० सालदेखि निर्माण थालिएको विशेष आर्थिक क्षेत्र (सेज) २०७५ भदौबाट सञ्चालनमा आइसकेको छ । करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ वटा प्लट उद्योगका लागि छुट्याइएको छ । यसैगरी लुम्बिनी करिडोरमा दुई दर्जनभन्दा बढी ठूला उद्योगहरू सञ्चालनमा रहेका छन् । यसका साथै जिल्लाभरि अन्य सयौं उद्योग सञ्चालनमा छन् । भैरहवा–परासी सडकखण्ड पनि औद्योगिक करिडोरको रुपमा विकास हुँदैछ । यसरी भैरहवा विकासको रोलमोडलको रुपमा अगाडी बढ्दै गइरहेको छ ।
निष्कर्षः नेपालको आर्थिक, सांस्कृतिक, र सामाजिक विकासका लागि लुम्बिनी राष्ट्रिय महोत्सव एउटा महत्वपूर्ण मञ्च हो । यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र होइन, यो भैरहवा र आसपासका क्षेत्रहरूको बहुआयामिक विकासको प्लेटफर्म समेत हो ।महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन गर्ने उद्देश्य राख्नु पर्दछ । लुम्बिनी क्षेत्रको ऐतिहासिक र धार्मिक महत्व विश्वव्यापी रुपमा प्रख्यात छ । महोत्सवले बुद्ध जन्मस्थलको प्रचारप्रसार गर्न विशेष भूमिका खेल्दै पर्यटकहरूलाई लुम्बिनी क्षेत्रको गहिरो सांस्कृतिक र धार्मिक महत्व बारेमा जानकारी प्रदान गर्दै आएको छ । यसैगरी स्थानीय कृषकहरूलाई नयाँ कृषि प्रविधिबारे जानकारी प्रदान गरी आत्मनिर्भर बन्न अझै प्रोत्साहित गर्नु पर्ने देखिन्छ ।
भैरहवा नेपालका लागि एक महत्वपूर्ण औद्योगिक केन्द्र हो । महोत्सवले स्थानीय उद्योगीहरूका उत्पादनहरू प्रदर्शनीमा राखेर उनीहरूको व्यवसाय विस्तारमा सहयोग गरेको छ । विशेषतः हस्तकला, कपडा, र अन्य स्थानीय सामग्रीको प्रदर्शनले घरेलु उद्योगको प्रगतिमा टेवा पु–याएको छ । यसलाई एकीकृत रुपमा प्रोत्साहन गर्न जरुरी छ । साथै, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारिक साझेदारीका लागि महोत्सवले एउटा मञ्च प्रदान गरेको छ । यसरी भैरहवाको मुटुमा सञ्चालन भएको लुम्बिनी राष्ट्रिय महोत्सवको आर्थिक धडकन पर्यटन, कृषि, उद्योग, र व्यापारमा सकारात्मक रुपमा परेको देखिन्छ । महोत्सवले भैरहवाको समृद्ध भविष्य निर्माण गर्न थुप्रै आधारशिला खडा गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij