२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निजी लगानी वृद्धिलाई प्रोत्साहन : अर्थमन्त्री पौडेल

बुधवार , पौष ३, २०८१

काठमाडौं, ३ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको विस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पूँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरे । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो । 

एसिया र प्रशान्त क्षेत्रमा वित्तीय पूँजी लगायत धेरै सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा नीति, नियमहरू र दिगो विकास लक्ष्य प्राप्तीका लागि गरिने प्रयासहरूलाई सामूहिक रुपमा अघि बढाउनुपर्ने बताए । 

दिगो विकासको लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यक्रमलाई सफल बनाउन वित्तीय स्रोतहरू सुनिश्चित गर्न आवश्यक रहेको बताए । 

आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवं परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ । 

अर्थमन्त्री पौडेलले परामर्श बैठकमा विभिन्न देशका मन्त्रीहरु, राजनीतिक नेताहरु, विज्ञ, विकास साझेदार लगायतबाट प्राप्त सुझावले सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेजलाई समृद्ध पार्न सहयोग गर्ने धारणा समेत व्यक्त गरेका छन् ।