
शनिवार , पौष ६, २०८१
बुटवल, ६ पुस । होटल पौवाले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल कालिका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने भएको छ । शुक्रबार होटल पौवा र बुटवल कालिका क्याम्पसबीच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख महेश पाण्डे र होटल पौवाकोतर्फबाट होटलका चिफ अपरेटिङ्ग अफिसर बालकृष्ण गौतमले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।
पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेशिने लहर बढेपछि विद्यार्थीहरुलाई नेपालमा नै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको भण्डारीले बताए । उनले भने, ‘प्राथमिकताका साथ क्याम्पसका विद्यार्थीहरुलाई होटल पौवाले सिकाउने, रोजगारी दिने र नेपालमै काम गर्न पर्छ र नेपालमा नै रोजगारी सिर्जना गर्ने गरी हस्ताक्षर भएको छ ।’
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बि.बि.एस. चौथो वर्षमा अध्ययनरत करिब ३ सय जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन क्याम्पसका बित्त विभागका प्रमुख केशवराज न्यौपानेले गरेका थिए ।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटीसहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा विस्तारलाई समेत तीव्रता दिदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच विस्तार गरेको छ ।
हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी र भैरहवा, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा छन् ।
त्यसै गरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगंजमा शाखा विस्तार गरी शिघ्र सञ्चालनको तयारीमा छ ।
‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं,’ ब्राण्डिङ प्रमुख भण्डारीले भने, ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij