२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कालिका मानवज्ञान माविले बाड्यो १ करोड ३० लाखको छात्रवृत्ति

आइतवार , पौष ७, २०८१

बुटवल, ७ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण सथा सम्मान कार्यक्रम गरिएको छ । वार्षिकोत्सवको पाचौं दिन कालिका मानवज्ञान मावि सेक्टर २  रामनगरमा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम आयोजना गरी २ सय जना बढी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । विभिन्न दाताहरुले स्थापना गरेको १ करोड ३० लाख रुपैयाँ बराबरको रकमबाट गरेको ६२ प्रकारका छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुुख तुलाराम घर्तीमगरले मान्छेको क्षमता खासखास प्रयोग गर्नुपर्ने बताए । नेतृत्वले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेर उदाहरण पेश गरेको एउटा नमूना कालिका मानवज्ञान मावि भएको भन्दै उनले कालिकाबाट अन्यले धेरै कुरा सिक्न बाँकी रहेको बताए । कालिकाले देशलाई उदाहरणको रुपमा प्रस्तुत गरेको भन्दै यसको सिको सबैले गर्नुपर्ने  सभामुखले धारणा राखे । ७५३ स्थानीय तहले नै पूर्ण नेतृत्व कालिकाको जस्तै उदाहरण पेश गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘मान्छेले ईमान बिर्सनुहुँदैन, ईमानलाई दृढतापूर्वक बचाउने हो भने एक दिन सफल भइन्छ ।’  

मानिसलाई चाहिने उर्जा भनेको स्वाभिमान भएको भन्दै उनले मानिसमा ईमान र स्वाभिमान ओरालो लागिरहेको बेलामा कालिकाले संकटको घडीमा स्वाभिमान् जोगाउन सफल भएकोे बताए । राम्रो काम गर्न चाहेर पनि गर्न नसक्ने अवस्था अहिले रहेको भन्दै उनले इमानदारीपुर्वक काम गरेमा असम्भव केही नभएको बताए ।

अनुशासन मानिको सबैभन्दा ठुला कुरा भएको भन्दै उनले कर्तव्यबोधको साथ ईमानदारिता पालना गर्नुपर्ने बताए । निश्चित गन्तव्य चिन्न नसक्ने मानिस सफल नहुने भन्दै सभामुख घर्तीमगरले अनुशासन, गन्तव्य, कर्तव्यबोधका साथ जो कोही पनि सफल हुनुपर्ने बताए । समाज अहिले तीन तहमा विभाजित भएको भन्दै सभामुख घर्तीले जिम्मेवारीपूर्ण लाग्ने समाज ३० प्रतिशत मात्रै रहेको भन्दै उनले स्वार्थबिना समाजको राष्ट्रियको नेतृत्व गर्ने जनसंख्या रहेको बताए । ‘हाम्रो नेपाली समाजमा ४० प्रतिशत धारा ईमानदारिता गर्ने धारा रहेको र अर्का ३० प्रतिशत सत्ता सम्म पनि ‘अटेरी धारा’  को कारण समस्या रहेका उनले बताए । नेपालको संविधानको धारा ३१ मा आधारभूतसम्म अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था सुनिश्चित गरेको बताउँदै उनले संविधानको पूर्ण पालना गर्नुपर्ने बताए ।

विश्वको उत्कृष्ट संविधान नेपालको रहेको भन्दै पालना गर्ने, गराउनेको इमानदारिता आवश्यक रहेको उनको भनाइ छ । कालिकालाई राष्ट्रिय रुपमा अब्बल बनाउनका लागि नेतृत्व सही भएकै कारण अहिलेको अवस्था आएको उनले बताए । अहिलेको राजनीति प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै सभामुख घर्तीले प्रत्यक्ष निर्वाचनसहितको राजनीति प्रणाली आवश्यक रहेको धारणा राखे ।

tularam 1.JPG

कार्यक्रममा प्राध्यापक रामलाल श्रेष्ठले नेतृत्वको प्रशंसा गर्नैपर्ने बताए । उनले सबैको मिहिनेतबाट कालिकाबाट आधुनिक कालिका मानवज्ञान भएको भएको भन्दै प्रशंसा गरे । 
बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यालयका प्रमुख सल्लाहकार  घनश्याम पाठकले आफ्नो कार्यकालमा कालिकाको विकासको प्रस्ताव पेश गरिएको स्मरण गर्दै सोही बेलादेखि सुरुवात भएको अभियानले सार्थकता पाएको बताए । विद्यालयले उत्पादन  गरेको जनशक्तिले अहिले नेतृत्वमा रहेको स्मरण गर्दै पाठकले  सौभाग्यशाली  भएको तर्क गरे । असल काम गर्ने व्यक्तिको खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले कुरा धेरैले गर्छन् तर, काम गरेर देखाउन जरुरी रहेको बताए ।  कामले उपलब्धि हुने भन्दै उनले समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम बहादुर गलामीले राजनीतिप्रतिको वितृष्णाको कारण अहिले देशमा समस्या आएको बताए । उनले सबैको पहलबाट नमूना आधुनिक कालिका बन्न सफल भएको भन्दै बांगेकुसुम स्कूल हुँदै कालिका बन्नुमा धेरैको योगदान रहेको बताए ।  

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले पैसाको कारणले कुनै पनि विद्यार्थी फिर्ता पठाउन नपरोस् भन्ने धारणा साथै दाताहरुको सहयोगमा कालिकामा विपन्न विद्यार्थीहरुको लागि छात्रवृत्ति स्थापना गरिएको र जसको पूर्ण रुपमा सदुपयोग भइरहेको बताए । कालिका आफैमा एउटा ब्राण्डको रुपमा स्थापना हुनको लागि सबैको ठुलो सहयोग साथ र सद्भावबाट सम्भव भएको उनको भनाइ छ ।  कालिकाको कुनै पनि विद्यार्थीको अनुहार मलिन नबनाउने भन्दै उनले आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था नभएको बताएक । अबको कालिका अनुसन्धान र खोजमूलक बनाउनको लागि रिसर्च सेन्टर स्थापना गरेको प्रधानाध्यापक थापाको भनाइ छ ।

विद्यालयका सहायक प्रधानाध्यापक लोकराज घिमिरेको स्वागत तथा ईन्चार्ज कृष्ण गौतमको सञ्चालनमा भएको कार्यक्रममा अक्षयकोष दाताको तर्फबाट चन्द्रप्रकाश शर्मा मन्तव्यले मन्तव्य राखेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले कालिका अहिलेको अवस्थामा आउनको लागि पूर्वशिक्षक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको कडा मिहिनेत रहेको बताए ।  

कालिका मानवज्ञान माविमा स्थापना भएका ६२ प्रकारका छात्रवृत्तिबाट गरीब तथा जेहेन्दार, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा पत्रकार समेत सम्मान गरिएको थियो । अक्षयकोषबाट बुटवल टुडे दैनिक पत्रिकामा कार्यरत पत्रकार माया केसी तथा बुद्ध टेलिभिजन र हिमालयन टेलिभिजनमा कार्यरत पत्रकार ललित पाण्डेयलाई नगदसहित सम्मान गरिएको थियो । 

कालिका मानवज्ञान माविको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस-२०८१ मूल समारोह पुस ७ गते आइतबार (आज) बिहान ९ बजे सेक्टर १ कालिकानगरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुँदैछ ।