पिता शोभाकर र माता नेत्रकुमारीका पुत्ररत्नका रूपमा २००६ साल चैत्र ७ गते पाल्पा जिल्लाको तानसेन १ ध्रुवघाटमा जन्मेका वनमाली निराकार नेपाली साहित्यमा सुपरिचित नाम हो । कथा, लघुकथा, कविता र साहित्यिक पत्रहरूको सङ्गालो जस्ता विधामा सशक्त रूपमा कलम चलाउँदै आएका निराकार लघुकथामा पनि सिद्धहस्त छन् । सर्वप्रथम २०२६ सालमा ‘बहिनीको पत्र दाजुको नाम’ शीर्षकको कथा प्रकाशन गरी साहित्यिक यात्रा सुरु गरेका निराकारका हालसम्म समयको पर्खाल कथासङ्ग्रह (२०४६), लोकतन्त्रको शङ्खनाद कवितासङ्ग्रह (२०६२), पत्रसञ्चयन साहित्यिक पत्रहरूको सङ्गालो (२०६३), विवरुका कथाहरू कथासङ्ग्रह (२०६६), एउटा वस्तीको कथा कथासङ्ग्रह (२०७१), नयाँ सालिकको जन्म लघुकथासङ्ग्रह (२०८०), मान्छेका रङहरू कवितासङ्ग्रह (२०८०) गरी सातवटा सङ्ग्रहहरू प्रकाशित छन् । लामो समय शिक्षण र साहित्य सिर्जनामा व्यतीत गरेका निराकारको नयाँ सालिकको जन्म पहिलो लघुकथासङ्ग्रह हो । यहाँ यस सङ्ग्रहभित्रको ‘मन्त्री भएपछि’ लघुकथाको संरचनात्मक अध्ययन गरिएको छ ।
आयाम
वनमाली निराकारद्वारा विरचित ‘मन्त्री भएपछि’ लघुकथा नयाँ सालिकको जन्म (२०८०) लघुकथासङ्ग्रहको बत्तीसौँ तथा अन्तिम कथाका रूपमा सङ्गृहीत छ । लामा र छोटा गरी नौ अनुच्छेद र करिब ५९६ शब्दमा संरचित यस लघुकथाले लघुकथाको संरचनालाई अङ्गीकार गरेको छ । छोटोछरितो आयामभित्र कथावस्तुको उठान र बैठान भई विषयले पूर्णता प्राप्त गरेको छ ।
कथानक
‘मन्त्री भएपछि’ लघुकथा सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित छ । म पात्र सरासर मन्त्रीको कोठाभित्र पस्न खोज्नुबाट कथानकको आरम्भ भएको छ । टाइसुटमा सजिएको युवकले म पात्रलाई रोक्नु, उसले गाउँबाट तिमिल्सिना आएको छ भनेर खबर गर्नु मन्त्री तुरुन्तै मलाई लिन बाहिर आउनेछन् र मलाई भित्र नपठाएकोमा तपाइँलाई गाली गर्नेछन् भत्रु, म पात्रले मन्त्री अर्थात् कर्णध्वज लामिछानेसँग बाल्यकालमा मकैभटमास खाँदै खेलेको सम्झनु, गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र विजुलीको दयनीय अवस्था भएको हुँदा विकास निर्माणका लागि गाउँलेहरूले मन्त्रीलाई भेटी आउन आफूलाई पठाएको कुरा स्मरण गर्नु, ब्रिफकेसधारी सुकिलामुकिला तीनजना बेन्चमा आएर बस्नु, भित्रबाट बाहिर आउँदै गरेको युवकलाई देखी म पात्र उठन खोज्दा मन्त्रीज्यू पूजापाठमा व्यस्त रहनुभएको र पूजापाठ सक्न एकडेढ घण्टा जति लाग्ने कुरा गर्नु, ब्रिफकेसधारी सुकिलामुकिलाप्रति युवक आकर्षित हुनु, नोटबुकमा उनीहरूको नाम लेख्नु, युवक पुनः भित्रबाट बाहिर आउनु र म पात्र उठ्न खोज्दा उसलाई बस्न इसारा गर्दै ब्रिफकेसधारी एक जना सज्जनलाई भित्र पठाउनु, यसैगरी पालैपालो अन्य ब्रिफकेसधारीलाई भित्र पठाउनु, हँसिलो मुहार लिई तीनैजना फर्कनु, म पात्र उठ्न खोज्दा पुनः बस्न इसारा गर्दै युवकले एक टकले उसलाई हेरिहनु, सोही समयमा प्रतीक्षा कक्षबाट मन्त्रीको सवार हुनु, सबैैजना उठ्नु, म पात्र पनि उठ्नु र मन्त्रीकोे पहिरन हेरेको हे¥यै गरिरहनु, सबै जनाको नमस्कार फर्काउँदै मन्त्री निस्कनु, म पात्रलाई एक पटक पनि नहेरेकोमा उसलाई आश्चर्य लाग्नु, मन्त्री पजेरो चढेर बाहिर निस्कनु, म पात्रको हात अनयास कोटको खल्तीमा रहेको पत्रमा पर्नु, उक्त पत्रलाई दरो गरी समाउनु, युवक म पात्रलाई हेरी मुसुक्क हाँस्नु, म पात्रलाई सार्वजनिक ठाउँमा नाङ्गिएको महसुस हुनु, म पात्र सोझै बस स्टपतिर हानिनु जस्ता क्रियाकलापबाट यस लघुकथाको कथानक निर्माण भएको छ । कथानक आदि, मध्य र अन्त्य युक्त अर्थात् रैखिक ढाँचामा अगाडि बढेको छ । कथानक कौतूहलपूर्ण छ ।
पात्र र चरित्र
प्रस्तुत कथामा म पात्र, मन्त्री/कर्णध्वज लामिछाने, युवक, ब्रिफकेसधारी सज्जनहरू, मन्त्रीको प्रतीक्षालयमा बसेका प्रतीक्षार्थीहरू पात्रका रूपमा रहेका छन् । म पात्र प्रस्तुत लघुकथाको प्रमुख र समख्याता पात्र हो । उसले मन्त्री÷कर्णध्वज लामिछानेको विगत र वर्तमानको जीवनशैलीलाई बडो कलात्मक ढङ्गले प्रस्तुत गर्नुका साथै आफ्ना गाउँका तमाम समस्यालाई चित्रण गरी देखाएको छ । उसैका माध्यमबाट मन्त्रीले आफ्ना इष्टमित्र र गाउँसमाज नचिन्नुका साथै पैसामा बिक्ने प्रवृत्तिप्रति व्यङ्ग्य पनि गरेको छ । ऊ प्रस्तुत लघुकथाको प्रमुख, बद्ध, मञ्चीय, सत् र अनुकूल पात्र हो । कथाका प्रयुक्त मन्त्री र युवक सहायक पात्र हुन् भने अन्य सबै गौण पत्रका रूपमा प्रयुक्त छन् । लघुकथामा थोरै पात्र उपयुक्त हुन्छ प्रस्तुत कथामा थोरै पात्रको प्रयोग गरिएको छ र उक्त पात्रका माध्यमबाट कथा लेखनको उद्देश्य प्रस्ट भएको छ ।
उद्देश्य
कुनै पनि साहित्यिक कृति निरुद्देश्य रचिँदैन । विवेच्य लघुकथा लेखनको उद्देश्य निर्वाचनका समयमा उम्मेदवारहरूले गाउँसमाजमा गएर निमुखा जनताहरूलाई झुटो आश्वासन दिने र निर्वाचित भइसकेपछि गाउँ नर्फकने, पुँजीपति तथा व्यापारीहरूबाट रकम असुल्ने तथा आफ्नै इष्टमित्र, नातेदार, मतदाता र गाउँसमाजका मानिसहरूलाई देखेर पनि उपेक्षा गर्ने जस्ता समसामयिक नेपाली राजनीतिका यथार्थ घटनाहरू प्रस्तुत गर्नु, उल्लिखित प्रवृत्तिप्रति व्यङ्ग्य गर्नु, जनतालाई आफ्नो मताधिकार प्रयोग गर्दा विवेकको प्रयोग गर्न आव्हान गर्नु रहेको छ ।
परिवेश
लघुकथाको आयाम छोटो हुने हुँदा यसमा व्यापक परिवेशको चित्रण हुँदैन । विवेच्य कथामा स्थानिक परिवेशको स्पष्ट नाम उल्लेख नगरिए तापनि यहाँ ग्रामीण परिवेशको चित्रण यसरी गरिएको छ – गाउँको एकमात्र प्राइमरी स्कुलको छाना चुहिएर पानी प¥यो भने छुट्टी दिनुपर्ने अवस्था छ । स्वास्थ्य चौकीको अभावमा मान्छे अकालमा मर्ने गर्छन् । गाउँ पुग्न मोटरको बाटो छोडेर डेढ दिन पुरै हिँड्नु पर्छ । खानी पानीको अभाव छ (पृ. ६८) । यसरी यहाँ कुनै एउटा ग्रामीण परिवेशमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, विजुलीबत्ती लगायतका समस्याको चित्रण गरिएको छ । प्रस्तुत परिवेश लघुकथाको कथ्य वा उद्देश्य सम्प्रेषणका निमित्त उपयुक्त देखिएको छ । साथै यसले कथानकलाई जीवन्त बनाएको छ ।
भाषाशैली
प्रस्तुत लघुकथामा छोटाछोटा वाक्यको प्रयोग गरिएको छ । कथामा सरल, सहज र बोधगम्य भाषाको प्रयोग गरिएको छ । प्रथम पुरुषीय पात्रको प्रयोग गरिएको, कथाकारको प्रत्यक्ष उपस्थिति रहेको यस कथामा आन्तरिक दृष्टिविन्दुको प्रयोग गरिएको छ । कथाकथनको शैली वर्णनात्मक र संवादात्मक रहेको छ भने मन्त्री भएपछि पहिले नगरिएका थुप्रै काम गर्नु पर्छ रे (पृ. ७०) भन्ने वाक्यबाट व्यङ्ग्यात्मक शैलीको प्रयोग गरिएको छ ।
निष्कर्ष
वनमाली निराकार समकालीन नेपाली समाजका विकृति विसङ्गतिका विषयलाई कथ्य विषय बनाएर चोटिला लघुकथा लेख्न सफल देखिन्छन् । यसको साक्ष्य प्रस्तुत ‘मन्त्री भएपछि’ लघुकथा हो । प्रस्तुत लघुकथामा कथावस्तु, पात्र, परिवेश, भाषाशैली, उद्देश्य र दृष्टिविन्दु आदि तŒवहरूको यथोचित र कलात्मक संयोजन पाइन्छ । नेताहरू गाउँ, समाज र राष्ट्रमा विकासनिर्माण गर्नेभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त हुने, कर्तव्य र जिम्मेवारप्रति विमुख हुने प्रवृत्तिप्रति अत्यन्त रोचक, कौतुहलपूर्ण र व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्न कथाकार सफल छन् ।