
आइतवार , पौष १४, २०८१
बुटवल, १४ पुस । एनआईसी एसिया बैंक लिमिटेडको सहयोगमा निर्माण गरिएको श्री पब्लिक सेकेण्डरी स्कूलको पुस्तकालय भवनमा पुस्तकालयको उद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरुमध्ये रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित छपियामा श्री पब्लिक सेकेन्डरी स्कूलमा पुस्तकालय उदघाटन गरेको हो ।
विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागीतामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन शनिबार उदघाटन गरिएको हो ।
पुस्तकालय उद्घाटन समारोहमा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, एनआईसी एसिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झण्डै २ हजार ७ सय विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
यसअघि बैंकले सिराहाको भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, तनहुँको बन्दीपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय,े बुद्ध शान्तिी गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरेका पुस्तकालयको उद्घाटन भइ सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण भइसकेका छन् ।
त्यसै गरी पर्साको वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय र चितवनको राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकिएको बैंकले जनाएको छ ।
सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो ।
पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको भनाइ छ । विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भइ उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij