
मंगलवार , पौष १६, २०८१
भैरहवा, १६ पुस । स्थानीय बजार प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायी तथा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले स्थानीय बजार प्रवद्र्धनमा ध्यान दिन आग्रह गरेका हुन् । सियारीमा भएको मोबाइल व्यवसायी संगठन, रुपन्देहीको दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय विदेश पलायन हुने नेपाली युवायुवतीको संख्या बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.) ले स्थानीय बजारलाई प्रवद्र्धन गर्नको निम्ति स्थानीय बजारमा खरिदविक्री गर्न जनचेतनामूलक अभियान चलाउने बताए । उनले युवायुवतीहरुलाई रोजगारीको बाटो सहज हुने गरी स्थानीय सरकारसँग समन्वय गरी मोबाइल मर्मत सम्बन्धी तालिमको व्यवस्था मिलाउने बताए । अध्यक्ष गुप्ताले भने, ‘संगठनले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।’
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनका महासचिव राजकुमार गुप्तले मोबाइल व्यवसायीसँग सम्बन्धित विभिन्न समस्या समाधान गर्न संगठनले ठोस कदम चालेको दावी गरे । उनले व्यवसाय प्रवद्र्धनका लागि स्थानीयस्तरमा विभिन्न गतिविधिहरु सञ्चालन गरिएको बताए । महासचिव गुप्तले स्थानीयस्तरमा मोबाइल व्यवसायको प्रवद्र्धनका लागि सचेतनामूलक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले मोबाइलको प्रयोग, खरिद विक्री बढेसँगै समस्या पनि आएको बताए । उनले शनिबार पसल बन्द गर्न नहुनेमा जोड दिए । ‘शनिबार पसल बन्द हुँदा उपभोक्ताहरु सामान किन्न सीमापारी भारतीय बजार जान्छन्, त्यसतर्फ पनि मोबाइल व्यवसायी संगठनले ध्यान दिन जरुरी छ, ’उनले भने । उनले स्थानीय उत्पादनको प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले मोबाइल व्यवसायी संगठन रुपन्देहीलाई अझ अब्बल र बलियो बनाउनुपर्नेमा जोड दिए । उनले व्यवसायीका धेरै समस्या समाधान गर्नुपर्ने बताए ।
नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय सदस्य विष्णु ज्ञवालीले मोबाइल व्यवसायी संगठन रुपन्देही आफ्ना सदस्यहरुको पसलमा पुगेको बताए । उनले भने, ‘यहाँहरुले चालेका कदमहरु सफल होस् ।’
मोबाइल व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ सल्लाहकार ग्रिसचन्द्र त्रिपाठीले खुल्ला सीमाका कारण सीमापारी बजार फस्टाएको बताए । उनले स्थानीय बजार प्रवर्द्धननमा स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका रहेकोले ध्यान दिन आग्रह गरे ।
संगठनका कानूनी सल्लाहकार प्रख्यात बन्जाडेले स्थानीय सरकारले मोबाइल व्यवसायीलाई एडभान्स तालिम प्रदान गर्नुपर्ने बताए । उनले चोरीको मोबाइल खरिद विक्री गर्नबाट बच्न आग्रह गरे ।
नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सचिवालय सदस्य मनिष कुमार जोशीले नतिजा आउने खालका कार्यक्रम गर्नुपर्ने बताए । उनले मोबाइलको मूल्यमा एकत.रुपता ल्याउन व्यवसायीलाई आग्रह गरे । उनले मोबाइल एक्सपो सञ्चालन गर्न आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले भने, ‘मोबाइलको प्रयोग गर्ने हो, दुरुपयोग गर्ने होइन । मोबाइलको माध्यमबाट राम्रो कुरा सिक्नुपर्छ ।’ उनले व्यवसायीलाई एक दिन तालिम दिएर मात्र नहुने भएकोले कम्तीमा तीन महिना तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । नगरप्रमुख खाँले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।
मोबाइल व्यवसायी संगठन, रुपन्देहीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर पाण्डेको स्वागत तथा महासचिव राजकुमार गुप्तको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष श्याम गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij