२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एएसी ब्लक खरिदमा ‘पाँच प्रतिशत छुट योजना’

बुधवार , पौष १७, २०८१

भैरहवा, १७ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित नेपाल एएसी कम्पनी प्रा.लि.द्वारा उत्पादित अटोक्लेभ्ड एरेटेड कंक्रिट (ए ए सी) ब्लकको छुट योजना सार्वजनिक भएको छ । कम्पनीका अनुसार अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा तीन महिनाका लागि ग्राहकहरुले एएसी ब्लक खरिदमा पाँच प्रतिशत छुट पाउनेछन् । 

पर्खाल वा घरको गारो लगाउन प्रयोग हुने जर्मन प्रविधिबाट निर्मित यो ब्लक हलुका, वातावरणमैत्री, भूकम्प, उच्च तापधारण क्षमता, ध्वनी र अग्नी प्रतिरोधक हुनुका साथै टिकाउलगायतका विशेषताले पछिल्लो समय यसको प्रयोग बढ्दै गएको कम्पनीका निर्देशक धिरज कुमार मल्लिकले बताए ।

नेपालमा करिब आधा दर्जन कम्पनीले यसको उत्पादन गर्दै आएका छन् । नेपाल एएसी कम्पनीले आफ्नो उत्पादन निर्यातको तयारीमा रहेको अध्यक्ष प्रमोद कुमार यादवले बताए । ‘८० देखि १ सय वर्ष आयु रहेको ब्लक ३ पुस्तासम्म चल्छ, पूर्ण क्षमतामा उत्पादन गरी छिमेकी देश भारतीय बजारमा निर्यात गर्ने प्रक्रियामा छौं, ’उनले भने ।

कम्पनीले एएसी ब्लक २४ इन्च (दुई फिट) लम्बाइ र ८ इन्च उचाईमा विभिन्न ३ वटा साइज ४, ६ र ८ इन्चमा उपलब्ध गराएको छ । कम्पनीले छिट्टै आवश्यकताअनुसार साना र बढी चल्ने आकारमा पनि एएसी ब्लक उत्पादन गर्ने योजना बनाएको अध्यक्ष यादवले बताए । एएसी ब्लकहरु आवासीय, औद्योगिक, व्यापारिक र कार्यालय भवन, अस्पताल, पर्खाल, थियटर, विद्यालय, क्याम्पसलगायत निर्माण गर्न प्रयोग गर्न सकिन्छ ।

नेपाल एएसी कम्पनी प्रा.लि. आई.एस.ओ.–९००१ः२०१५ बाट प्रमाणित छ ।