
बिहिवार , पौष १८, २०८१
फोहरमैला व्यवस्थापन एक संवेदनशील र जटिल मुद्दा बनेको छ, जुन राजनीतिक स्वार्थको चपेटामा परेको छ । जब यसलाई राजनीतिक लाभको लागि उपयोग गरिन्छ, तब यसले समाज र वातावरणमा नकारात्मक प्रभाव पार्छ । यस्तो कार्यले दीर्घकालीन सुधारका प्रयासलाई कमजोर बनाउँछ र समाजमा असन्तुष्टि र अस्थिरता सिर्जना गर्छ । फोहरमैला व्यवस्थापनमा भएको यो कमजोर व्यवस्थापन र असंगठित दृष्टिकोणले हाम्रो भविष्यलाई खतरा पुर्याउँछ, विशेष गरी जब यसको प्रभाव विमान सुरक्षा जस्ता संवेदनशील क्षेत्रमा परेको छ ।
दक्षिण कोरियामा भएका केही विमान दुर्घटनाहरूमा खराब मौसम र बर्ड स्ट्राइकको कारण विमानको सुरक्षा जोखिम बढेको थियो । यस्ता घटनाहरूले एकपटक फेरि प्रमाणित गर्यो कि विमानस्थलको नजिकको फोहरमैला डम्पिङ साइटहरूले बर्ड स्ट्राइकको जोखिम बढाउन सक्छ, जुन विमानको सुरक्षित उडानमा गम्भीर खतरा निम्त्याउँछ ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग पनि यस्तै समस्या देखा परेको छ । यो विमानस्थलको २ किलोमीटर वरिपरि फोहरमैला डम्पिङ साइटहरू रहेको स्थिति विमान सुरक्षा र यात्रुहरूको जीवनका लागि खतरा उत्पन्न हुन सक्छ । बर्ड स्ट्राइक विमान उडानको सुरक्षा सबैभन्दा ठूलो चुनौती हो । फोहरमैला डम्पिङ साइटहरूले पंक्षीहरूको आकर्षण गर्न सक्छ, जसले विमानको पंखा र अन्य महत्वपूर्ण भागमा क्षति पुर्याउन सक्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)का अनुसार विमानस्थलको ५ किलोमीटर भित्र कुनै पनि ठूलो फोहरमैला डम्पिङ साइट हुनुहुँदैन । किनकी यसले पंक्षीहरूको आकर्षण गर्न सक्छ र विमान सुरक्षा जोखिमलाई बढाउँछ । यद्यपि, अन्तर्राष्ट्रिय अभ्यासमा, फोहरमैला डम्पिङ साइटहरूलाई विमानस्थलदेखि कम्तीमा ७ देखि १० किलोमीटर टाढा राख्न सिफारिस गरिन्छ, जसले बर्ड स्ट्राइकको जोखिमलाई अझ बढी घटाउँछ र विमान सुरक्षा सुनिश्चित गर्दछ ।
आईसीएओ र अन्य अन्तर्राष्ट्रिय विमानसँग सम्बन्धित निकायहरूले विमानस्थलहरूको नजिकका फोहर डम्पिङ साइटहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि विशेष दिशानिर्देशहरू जारी गरेका छन् ।
नेपाल सरकारले यदी अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरूको पालना गर्दैन भने, यसले केवल वातावरणीय र समाजिक समस्याहरू मात्र होइन, विमान सुरक्षा जोखिम पनि उत्पन्न गर्न सक्छ । यसलाई सम्बोधन गर्नका लागि नेपाल सरकार र विमानस्थल प्राधिकरणले फोहरमैला डम्पिङ साइटहरूलाई विमानस्थलदेखि कम्तीमा ७ देखि १० किलोमीटर टाढा राख्नुपर्ने आवश्यकता छ । साथै, प्रभावकारी पंक्षी नियन्त्रण उपायहरू लागू गर्न र सुरक्षित विमान उडानको लागि वातावरणीय व्यवस्थापनमा सुधार ल्याउन अति आवश्यक छ ।
समग्रमा, फोहरमैला व्यवस्थापनमा सुधार र विमान सुरक्षा सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरूको पालना गर्न जरुरी छ । यदी यसमा सुधार ल्याइन्छ भने, यो केवल वातावरणीय संरक्षण र सार्वजनिक स्वास्थ्यको लागि मात्र नभइ विमान सुरक्षा पनि सुनिश्चित गर्नेछ । यसका लागि तत्काल कदम चाल्न आवश्यक छ, ताकि भविष्यमा यस्ता गम्भिर घटनाहरूबाट जोगिन सकियोस् । यसतर्फ संघ, प्रदेश र स्थानीय सरकारले ध्यान दिन आवश्यक छ । भनिन्छ नी रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बेस हुन्छ । त्यसैले घटना हुनुभन्दा पहिल्यै सचेतना अपाउनुपर्छ ।
पुस १४ गते आइतबार बिहान दक्षिण कोरियामा १७९ मानिसको ज्यान जाने गरी भएको विमान दुर्घटनालाई उक्त देशको इतिहासकै सबैभन्दा घातक मानिएको छ । घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । तर, अग्नि नियन्त्रकहरूले चरासँग ठोकिएर विमान दुर्घटनामा परेको हुन सक्ने संकेत गरेका छन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित एक समाचारअनुसार एक यात्रुले विमानभित्रैबाट आफ्ना आफन्तलाई सन्देश पठाउँदै विमानको पखेटामा चरा ठोकिएको हुनाले विमानले अवतरण गर्न नसकेको जानकारी दिएका थिए । यो घटनाले पनि सचेत हुनुपर्ने सन्देश दिएको छ ।
नेपालको संविधानले ‘स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको अधिकारलाई’ मौलिक हकको रूपमा व्यवस्था समेत गरेको छ ।
(लेखक हाउजिङ्ग एण्ड टेनेन्ट्स अर्गनाइजेसन नेपालको अध्यक्ष हुन् ।)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij