
शनिवार , पौष २०, २०८१
बुटवल, २० पुस । दुर्घटना न्यूनीकरणका लागि संघ–संस्थासँग सहकार्यको अभियान चलाइरहेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देही र भलाई कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो । संघमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरु भलाई कोषमा आबद्ध गराउने गरी दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने दुवै पक्षबीच सम्झौता भएको हो ।
सम्झौतामा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।
सम्झौतामा निजी तथा भाडामा चल्ने सवारीसाधनका अतिरिक्त तिलोत्तमा उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीका मोटरसाईकल तथा स्कुटरहरु समेत कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने उल्लेख छ ।
त्यसै गरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपैयाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले गर्नेछ ।
आफ्नो गाडीको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भइ चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्नेछ ।
त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा दुई जनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ । दुवै पक्षबीच सम्झौता आदानप्रदान कार्यक्रममा कोषकातर्फबाट अध्यक्ष फुल्लेलका सथै उपाध्यक्ष छविलाल थापा, सचिव विजेश न्यौपाने, कोषाध्यक्ष प्रकाशकुमार नेपाल, कार्यालय प्रमुख ठानेश्वर बस्याल, वरिष्ठ लेखा अधिकृत क्रृषिराम अर्याल र मणिग्राम शाखा प्रमुख पुरुषोत्तम भण्डारी सहभागी थिए भने संघक तर्फबाट अध्यक्ष कार्की, निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी, वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्यहरु नरेशबहादुर क्षेत्री र गंगाराम पाण्डे सहभागी थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij