२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रथम मगर साहित्य महोत्सवको समीक्षा, निरन्तरताका लागि छुट्टै कोष स्थापना

शनिवार , पौष २०, २०८१

बुटवल, २० पुस । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्नका लागि संकलित आम्दानी खर्च सार्वजनिक गरिएको छ । 

महोत्सव सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट क्रियाशील व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले आगामी वर्षमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिन् । महोत्सवले मगर समुदायका इतिहासबारे नयाँ पुस्तालाई जानकारी गराउनुका साथै वर्तमान अवस्था र भविष्यको यात्राका बारेमा समीक्षा गर्ने अवसर प्राप्त भएको उनले उल्लेख गरिन् । 

बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लामा आयोजना गरिएको महोत्सवले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यानलाई केन्द्रित गर्त सफल भएको निष्कर्षसहित उनले आगामी दिनमा थप क्रियाशील र रचनात्मक क्रियाकलापलाई निरन्तरता दिइने उल्लेख गरिन् । 

बैठकमा नेपाल मगर संघका सह-अध्यक्ष दलबहादुर विरकट्टा मगरले महोत्सव ऐतिहासिक र सफल भएको उल्लेख गरे । सामाजिक र राजनीतिक रुपमा मगर समुदायको मुद्दालाई उठान गर्ने मात्र नभइ आर्थिक रुपमा समेत पारदर्शी भएर महोत्सव सफल देखिएको बताउँदै उनले अभियानको रुपमा यसलाई अघि बढाउनुपर्नेमा जोड दिए । महोत्सव आयोजक समितिका प्रवक्ता तथा युवा नेता शंकर गाहाले लामो समयको अभ्यास, अनुभव र व्यक्तित्वहरुको सहयोगले कार्यक्रम सफल भएको उल्लेख गरे । मगर समुदायको संस्कार, संस्कृति र पहिचानलाई जोगाउँदै पुस्तान्तरणका लागि नयाँ दस्तावेज थप्ने काम महोत्सवले गरेको उनले बताए । 

त्यसै गरी प्रचार प्रसार समितिका संयोजक यम रानाले महोत्सव सफल बनाउने क्रममा देखिएका केही कमीकमजोरीहरुलाई सुधार गर्दै आगामी दिनमा थप परिस्कृत भएर जानुपर्नेमा जोड दिए । कुनै पनि अभियान वा कार्यक्रम सफल बनाउनका लागि सञ्चालन गरिने आर्थिक अभियान पारदर्शी हुनुपर्ने बताउँदै उनले आयोजक उक्त कुरामा सफल भएको दावी गरे । 

महोत्सव व्यवस्थापन समिति संयोजक राधिका श्रीस पुनले कार्यक्रम सफल भएसँगै यसको निरन्तरता र थप रचनात्मक कार्यका लागि उत्साह थपिएको उल्लेख गरिन् । देशका विभिन्न शहरसँगै विदेशका विभिन्न मुलुकहरुबाट समेत आर्थिक सहयोगका लागि सहजीकरण गर्ने संघ–संगठन तथा व्यक्तिहरुलाई आभार व्यक्त गर्दै उनले आगामी दिनमा समेत सहकार्यमा जोडिने प्रतिवद्धता व्यक्त गरिन् । 

महोत्सव आर्थिक समितिका संयोजक देवेन्द्र रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै मितव्ययी भएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उल्लेख गरे । महोत्सव सफल बनाउन संस्थाले २० लाख बढी खर्च अनुमान गरे पनि कूल १७ लाख ३५ हजार ७ सय  १० रुपैयाँ खर्च भएको प्रतिवेदन उनले उल्लेख गरे । सम्पूर्ण आर्थिक गतिविधिको अन्तिम लेखापरीक्षण गर्दा केही रकम घटबढ हुन सक्ने बताउँदै उनले पूर्वनिर्धारित खर्च अनुमानभन्दा कम रकममै कार्यक्रम गर्न सफल हुनु सकारात्मक पक्ष भएको बताए । संस्थाले कार्यक्रम सफल बनाउनका लागि क्यूआर कोडबाट १ रुपैयाँ दान अभियानदेखि विभिन्न सरकारी निकाय, स्थानीय सकार, सामाजिक संघ–संस्था, विदेशका विभिन्न मुलुकमा रहेका व्यक्तिहरुबाट कूल २२ लाख ९४ हजार ६ सय २२ रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख गरे । यसबाहेक प्रतिवद्धता प्राप्त भएको ४ लाख बढी रकम उठ्न बाँकी रहेको संयोजक रानाले जानकारी गराए । 

महोत्सवमा भएका सम्पूर्ण गतिविधिलाई समेटेर मगर महिला संघले पुस्तक प्रकाशनको तयारी समेत गरेको छ । त्यसै गरी महोत्सवबाट बचत भएको रकमलाई छुट्टै कोष स्थापना गरी आगामी वर्षमा समेत निरन्तरता दिइने बताइएको छ । महोत्सवमा मातृभाषामा कविता बाचन प्रतियोगिता, सामाजिक, आर्थिक, साँस्कृतिक तथा ऐतिहासिक विषयमा ७ वटा प्यानल डिस्कशन, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, साँस्कृतिक झाँकी तथा कला प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरिएका थिए । 

त्यसै गरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरी वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ स–हअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ ।