
शनिवार , पौष २०, २०८१
बुटवल, २० पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । ८ अर्ब अधिकृत पूँजी तथा जारी र चक्ता पूँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनश शेयर वितरण पश्चात चुक्ता पूँजी ४ अर्ब ८७ करोड पुग्नेछ ।
साधारणसभाले संस्थापक शेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र विरेन्द्र भुसाल तथा सर्वसाधारण शेयरधनीबाट विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।
सभापश्चात बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
सञ्चालक समितिमा डा. हिमाल भट्टराई र विरेन्द्र भुसाल नयाँ हुन् भने बांकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको बताए । उनले डिजिटल बैकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैक हो ।
बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन् । ७ लाख ५ हजार ५८ जना वचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ ।
बैंकमा ७३८ जना कर्मचारी कार्यररत छन् । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड, ९५ लाख, कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रतिशेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पूँजी कोष अनुपात १२.५६ प्रतिशत छ । बैंकले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा उपाधि र नेपालमा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij