२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

आइतवार , पौष २१, २०८१

बुटवल, २१ पुस । रुपन्देहीको बुटवलस्थित ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनालले सहकारीमा आबद्ध हुनेहरुले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए । सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने धारणा राख्दै उनले सहकारी सदस्यहरुले सहकारीका कार्यक्रमहरुमा चासो राख्नुपर्ने बताए । 

कार्यक्रममा यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल, उपाध्यक्ष ठानेश्वर बस्याल, औषधी ब्यवसायी संघका लुकराज न्यौपाने, सहकारीका सदस्य भरतमणि घिमिरे, सरस्वती बस्याललगायतले सहकारी क्षेत्रको चर्चा गरेका थिए । साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पदमलाल घिमिरेले सहकारीले गरेका काम र भावी योजना प्रस्तुत गरेका थिए । 

सहकारीका सचिव खगेश्वर भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखा समितिको प्रतिवेदन रिखिराम भट्टराई र आर्थिक प्रतिवेदन व्यवस्थापक लक्ष्मण रेग्मीले प्रस्तुत गरेका थिए । 

बन्दसत्रमा अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलपछि ती प्रतिवेदन पारित गरिएको थियो । सहकारीको उद्घाटन सत्रमा उत्कृष्ट बचतकर्ता तथा ऋणीका तर्फबाट नियमित ब्याज तथा किस्ता बुझाउनेमध्येबाट एक–एक जनालाई सम्मान गरिएको थियो ।

त्यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउने सहकारी सदस्यका छोराछोरीमध्येबाट सामूदायिक विद्यालयतर्फ निशान रेग्मी र संस्थागत विद्यालयतर्फ कृपा घिमिरेलाई सम्मान गरिएको थियो ।